माई नदीको कटानले माई नगरपालिका– १ पालटारका काजी बराइलीकोे धान खेती बगाएको छ । मझेनीमा रहेको पाँच रोपनी खेत नदी कटानसँगै बगेर गयो, खेतमा नदी बगिरहेको छ । ‘बेँसीको धानले पाँचजनाको परिवार चलेको थियो । हरियो भइसकेको धान माई नदीले बगायो,’ बराइलीले भने, ‘अब के खाने चिन्ता छ ।’ नदी कटानले करिब दुई सय घरपरिवारलाई पुग्ने मझेनीको खानेपानीको मुहान पनि जोखिममा रहेको छ ।
माई नगरपालिका– २ दिपुडाँडाका सूर्यप्रसाद धितालको धान फल्ने खेतमा पनि माई नदी बगिरहेको छ । माई नदीले तीन वर्षदेखि पूर्वतर्फ कटान गर्दा उनको सात रोपनी नम्बरी र खेती गर्दै आएको १० रोपनी ऐलानी जग्गा बगाएको छ । ‘हाम्रो बुबादेखिको मुख्य पेसा कृषि नै हो । तर, अहिले जग्गाविहीन भइयो । नदी कटानको चपेटामा पर्यौँ,’ उनले भने, ‘माईको यो क्षेत्रमा सबैभन्दा बढी धान फल्छ । तर, यसरी नै नदी कटान हुने हो भने केही वर्षमा विस्थापित नै हुन्छौँ ।’
माई नगरपालिका १, २, ७ र ८ मा दुई सय बिघा खेत नदीले कटान गरेको माई नगरपालिकामा मेयर खम्बसिंह लिम्बूले बताए । ‘यति धेरै नदी कटानको समस्या हुँदा पनि हामी सरकारको बेवास्तामा पर्यौँ । सबैभन्दा धेरै धान फल्ने ठाउँका किसान नै कटानको चपेटामा परेका छन् । मेरै पनि ३० रोपनीहाराहारी जग्गा नदीले कटान गर्यो,’ स्थानीय विष्णु घिमिरे भन्छन्, ‘यहाँ तत्काल तटबन्ध गर्ने हो भने स्थानीयको खेतीयोग्य जमिन कटानबाट बच्ने थियो ।’
नदी तटबन्ध गरेर खेत जोगाइदिन गुहार
माईका किसानले सरकारसँग नदी तटबन्धन गरेर खेती बचाइदिन हारगुहार गरेका छन् । ‘मेरो ३९ रोपनी जग्गामा माई नदी बगिरहेकोे छ । ३५ देखि खेती गर्दै आएको जमिनमा खोला कुदेपछि हामी बिचल्लीमा छौँ । यस वर्षको बाढीले सबै खेत लग्यो,’ माई– १ का किसान चन्द्रबहादुर राईले भने, ‘सबै खेती बगेपछि अब के गर्ने भन्ने अन्योलमा छौँ । अन्त कतै केही छैन । अब त बसाइँ सर्ने वेला भयो । नदीलाई तटबन्ध गरे पहिलाकै ठाउँबाट बग्ने बनाएर हाम्रो जग्गामा फेरि खेती गर्न सक्ने सरकारले बनाइदिन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
यो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य शमशेर राईले नदी कटानका कारण स्थानीय किसान बिचल्ली भएको बताए । किसानको खेतीयोग्य जमिन बचाउन तटबन्धन आवश्यक रहेको उनको भनाइ छ । यसमा आफूले पहल गरिरहेको उनले बताए । ‘इलाममा नदी कटान हुँदैन भन्ने आमबुझाइ छ । तर, चुलाचुली र माई नगरपालिका नदी कटानको चपेटामा पर्छ । माई नदीको कटानले माईका किसान उठीवास लाग्ने अवस्था छ,’ उनले भने, ‘गत वर्ष प्रदेशको बजेटले केही तटबन्धन भयो । तर, त्यो पर्याप्त हुन सकेन । जसले गर्दा अहिले पनि धेरै जमिन जोखिममा छन् । यसमा प्रदेश सरकार मात्र नभई केन्द्र सरकारले पनि ध्यान दिनुपर्छ । तटबन्धनका लागि प्रदेश र केन्द्रमा पहल गर्नेछु ।’
माई नगरपालिकाका मेयर खम्बसिंह लिम्बूले माई नदीको नजिकै बेँसीमा रहेका खेतीयोग्य जमिन बचाउन विभिन्न ठाउँमा करिब दुई किलोमिटर तटबन्धन गर्न आवश्यक रहेको बताए । संघीय सरकारमा करिब पाँच करोड बजेट माग गरेर लागत स्टिमेट पनि पठाएको उनको भनाइ छ । यद्यपि, हालसम्म बजेट नपरेको लिम्बूले बताए ।
खम्बसिंह लिम्बू, मेयर, माई नगरपालिका
माई नदीनजिकै बेँसीमा रहेका खेतीयोग्य जमिन बचाउन विभिन्न ठाउँमा करिब दुई किलोमिटर तटबन्ध गर्न आवश्यक छ । संघीय सरकारमा करिब पाँच करोड बजेट माग गरेर लागत स्टिमेट पनि पठाएका छौँ । यद्यपि, हालसम्म बजेट परेको छैन ।