मार्मा गाउँपालिका– ४ मर्मतीका बिरे विष्टको परिवार डेढ महिनादेखि आफन्तको घरमा शरण लिएर बसेको छ । गन्याड खोलाको असार अन्तिम साताको बाढीपहिरोले उनको घरको तल्लो तला पूरै पुरिदियो । बाढीका वेला चमेलियामा दाउरा निकाल्ने क्रममा छोरा भोजराजको खुट्टा काटियो । उनी छोराको उपचारमा धनगढीस्थित मायामेट्रो अस्पतालमा छन् । गाउँमा आमा, श्रीमती, छोराबुहारी आफन्तको घरमा बसिरहेका छन् । ‘धानखेत बगर बनेको छ । घरको माथिल्लो तलामा रहेको अन्न जोगिएको छ, त्यही खाइरहेका छन्,’ उनले भने, ‘राहतका नाममा गाउँपालिकाबाट एक बोरा चामल पाइएको छ ।’
मर्मतीका दामोदर विष्ट पहिरो क्षेत्रको कुखुरा राख्ने पोल्टी फार्ममा बस्दै आएका छन् । गत असारको बाढीले घर पूरै डुबाएपछि उनी कुखुरा खोरमा पुगेका हुन् । खेत पनि बाढीले लगेको छ । ‘तपोवन–मुरै सडक बनाउँदा गन्याड खोल्सामा माटो थुपारेका थिए, अहिले खोलामा बाढी आउँदा बस्तीको माटो त्यहीँ फालियो । अहिले बस्ती पूरै बगरमा परिणत छ,’ विष्टले भने, ‘मुरैका स्थानीयले माटो फाल्न नदिएपछि गन्याडको खोल्सामा थुपारियो । सडकको पानी त्यहीँ आयो । त्यही पानी खोल्सा बन्दै बाढीमा परिणत भयो ।’
बाढीपहिरोले पशुधनको क्षतिसमेत भयो । अहिलेकै अवस्थामा हिउँदमा समेत यहाँ बस्न सकिने स्थिति नरहेको मर्मतीका चन्द्रा विष्टले बताइन् । घरको तलबाट चमेलिया नदीले बर्सेनि कटान गरिरहेको छ । गाउँमाथिबाट पहिरोले च्यापेपछि बिचल्ली छ । मर्मतीकै हेमन्ती विष्ट अहिले आफन्तको घरमा छिन् । श्रीमान् वैदेशिक रोजगारीमा भएका वेला बाढीपहिरो आयो । अहिले बालबच्चाको पालनपोषणमा समेत समस्या भएको उनले बताइन् ।
भूगोल कमजोर रहेको क्षेत्रमा जबर्जस्ती डोजर लगाएर सडक निर्माण गरिँदा ठूलो पहिरो निम्त्याएको स्थानी दीपेन्द्र विष्ट बताउँछन् । ‘माथिल्लो भेगका नागरिकलाई जसरी पनि सडक चाहिने, तर सडक निर्माण गर्दा निस्केको माटो व्यवस्थापन गर्न नसक्दा खोल्सा भरिएर बाढि बन्यो,’ उनले भने । बिरे विष्टका अनुसार यसअघि यस क्षेत्रमा पहिरो थिएन । ‘मै यो ठाउँमा बसेको ५० वर्ष भयो, बुबाबाजे यहीँ बसेका हुन्, कहिल्यै पहिरो आएन,’ उनले भने, ‘सडक काटिएपछि पूरै खेतीयोग्य जमिन बगर क्षेत्र बन्यो । गन्याडको शिरैमा माटोको थुप्रो लागेपछि खोलामा परिणत भयो । सोहीका कारण अहिले यहाँका स्थानीय के गरौँ, कसो गरौँ भएको छ ।’
१३ जेठमा मार्मा गाउँपालिका– ५ का २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विकको गन्याड खोलाले ज्यान लिएको थियो । त्यतिखेर पनि सडकबाट फालिएका ढुंगामाटो खोलाले बगाउँदा वेगमा पानी आएको थियो । बगेर उनीहरूको ज्यान गयो । अहिलेसम्म बाढीपहिरो प्रभावितलाई स्थानीय सरकारले एक बोरा चामल, त्रिपाल, रेडक्रस र सिआरडिएस नेपाल नामक संस्थाले त्रिपाल, कम्मल सहयोग मात्र गरेका छन् ।
मार्माको पहिरोको अवस्थाबारे अध्ययन गर्न गठित सरकारी समितिले तयार पारेको प्रतिवेदनअनुसार १७ घरधुरीको पूर्णतया क्षति पुर्याएको छ । ३५ परिवार विस्थापित भएको समितिका संयोजक एवं पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर हर्कराज जोशीले जानकारी दिए । स्थानीय तपोवन–मुरै–सिप्टी सडकखण्डका कारण गाउँ उजाड भएको भन्दै यसको जिम्मा निर्माण कम्पनीले लिनुपर्ने उनी बताउँछन् । यो सडकखण्डको डिपिआर निर्माण नै गलत भएको स्थानीयले आंशका गरेका छन् ।
सुदूरपश्चिम प्रदेश र संघ सरकारको समपूरक बजेटमार्फत सडक निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताए । ‘सडकको डिपिआर बनाउनेदेखि बजेट विनियोजन गर्नेसम्मको काम प्रदेश सरकारले नै गरेको हो । बाढीपहिरो पीडितका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने काम भइरहेको छ । कसको कमजोरीले भएको हो भन्ने विषयमा रिपोर्टले के निष्कर्ष निकाल्छ,’ उनले भने ।
बाढीपहिरो रोकथाम र तटबन्धनमा ११ करोड चाहिने
मार्मा गाउँपालिकाका– ४ र ५ मा बाढीपहिरो रोकथाम तथा तटबन्धन निर्माणमा ११ करोड खर्च लाग्ने भएको छ । क्षतिको अवस्थाबारे अध्ययन गर्न पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर हर्कराज जोशीको संयोजकत्वमा गठित प्राविधिक मूल्यांकन समितिले यस्तो निष्कर्ष निकालेको हो । ‘पहिरो तपोवन–मूरै सडकखण्डको अलि तलबाट आएको देखिन्छ,’ उनले भने, ‘सडकको माटो बगेरै गन्याड खोलामा बाढीमा परिणत भयो,’ उनले भने ।
प्रतिवेदनले खोलालाई खुला छोड्नुपर्ने सुझाव दिएको छ । गन्याड खोला र चमेलिया नदीले गरिरहेको कटान पनि रोक्नुपर्ने देखिएको उनले बताए । पूरै बस्ती जोखिम हुने गरी आएको पहिरोका कारण घरहरू आधा पूरिएका छन् भने खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । समितिले तयार पारेको प्रतिवेदनलाई लिएर मार्मा गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका नेताहरूले संघीय मन्त्री, प्रदेश सरकारलगायतलाई बुझाइसकेका छन् । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी समितिले दिएको प्रतिवेदनकै आधारमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीलगायतलाई पहिरो नियन्त्रणमा बजेट विनियोजनका लागि माग गरिएको बताउँछन् ।