१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Saturday, 12 October, 2024
रेशमबहादुर खड्का जाजरकाेट
२o८१ भदौ २४ सोमबार o८:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पहिरोले घर पुरिँदा वडासदस्यसहित दुईको मृत्यु, पाँच घण्टापछि छोरीको सकुशल उद्धार 

Read Time : < 1 मिनेट
रेशमबहादुर खड्का जाजरकाेट
नयाँ पत्रिका जाजरकाेट
२o८१ भदौ २४ सोमबार o८:२१:oo

जाजरकोटको बारेकोट गाउँपालिका– ६ धुमामा पहिरोले घर पुर्दा दम्पतीको मृत्यु भएको छ। वर्षासँगै शनिबार राति १ बजेतिर गएको पहिरोले वडासदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान् ४७ वर्षीय मानबहादुर चलाउनेको ज्यान गएको हो । प्रेमकुमारी ०७९ को निर्वाचनमा माओवादीबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् ।

शव पोस्टमार्टमका लागि आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको छ । ११ वर्षीया छोरी सम्झनाको पाँच घण्टापछि सकुशल उद्धार गरिएको जाजरकोट प्रहरीका डिएसपी पुरुषोत्तम पाण्डेले बताए । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ । 

काकाको घरमा सुत्न गएकी १६ वर्षीया विमला चलाउने भने लेदोसहितको पहिरो देख्नबित्तिकै हामफालेर जोगिएकी थिइन् । ‘अँध्यारो रातमा पहिरो आयो, कराउँदा काकाकाकी र बहिनी पुरिइसकेका थिए, म हामफालेर जोगिएँ,’ उनले भनिन् । विमलाले घटनाबारे स्थानीयलाई जानकारी गराएपछि सम्झनाको उद्धार गरिएको थियो । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार गाउँका सात घर पहिरोको जोखिममा छन् ।