१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १९ बुधबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार १४:३१:oo

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । 

बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबिच सम्झौता भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

यसअघि यस्तो सेवाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ । यससँगै तीन प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो। 

गण्डकी र मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी भइरहेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो । 

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए। यसलगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो