१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
उपेन्द्र खनाल तनहुँ
रोहितराज पराजुली पोखरा
विवेक पोख्रेल भरतपुर
कमल खत्री म्याग्दी
२o८१ भदौ ८ शनिबार o६:५९:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२७ भारतीय पर्यटकले मर्स्याङ्दी दुर्घटनामा ज्यान गुमाए, चार नेपाली मजदुर भारतमा पहिरोले पुरिए

Read Time : > 4 मिनेट
उपेन्द्र खनाल तनहुँ
रोहितराज पराजुली पोखरा
विवेक पोख्रेल भरतपुर
कमल खत्री म्याग्दी
नयाँ पत्रिका तनहुँ, पोखरा, भरतपुर, म्याग्दी
२o८१ भदौ ८ शनिबार o६:५९:oo

लुम्बिनी र पोखरा घुमेर पशुपतिको दर्शन गर्न आउँदै गरेको भारतीय सवार बस आँबुखैरेनीनिर मर्स्याङ्दीमा खस्यो, २७ को मृत्यु, घाइते १६ को शिक्षण अस्पतालमा उपचार हुँदै

भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ । घाइते १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याएर उपचार थालिएको छ । 

पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय कम्पनी केसरवानी परिवहन ट्राभल्सको युपी एफटी ७६२३ नम्बरको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐनापहरास्थित सडकबाट डेढ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । 

तनहुँ ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार १५ महिला र ११ पुरुष गरी २६ जनाको घटनास्थल र आँबुखैरेनी अस्पताल तथा एकजनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । २६ मध्ये एउटा शव नदीले बगाएर तीन किलोमिटर पर ठुलादीमा पुर्‍याएका वेला फेला परेको पौडेलले बताए । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरिएको हो । सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार मेडिकल टिमसहितको टोलीले उद्धार गरेको हो । गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । 

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । अन्य घाइतेको पनि छाती, हातखुट्टा र टाउकोमा चोट छ । केहीको आँखामा समेत समस्या देखिएको छ । ‘अवस्था हेरेर इमर्जेन्सीबाहेकका घाइतेको शल्यक्रिया शनिबारदेखि गरिने जानकारी उपचारमा संलग्न चिकित्सकले दिनुभएको छ । अहिले सबैको स्वास्थ्य अवस्था स्थिर छ ।’ 

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मृतकको पहिचानको काम भइरहेको बताए । ‘अर्काे बस पनि सँगै आएको रहेछ, त्यस बसमा आफन्त, साथीहरू रहेछन्,’ प्रजिअ गौतमले भने, ‘पोस्टमार्टमपछि शवको सनाखतको काम हुनेछ ।’ शव पोस्टमार्टमका लागि चिवतन लगिने भएको छ ।

दुर्घटनामा परेको बससँगै आएको बस र भ्यान अगाडि पुगिसकेको थियो । पछाडिको गाडी दुर्घटनाको खबरपछि ती गाडीमा सवार दुर्घटनास्थल आएका थिए । 

होटेल स्पोर्टस्का सञ्चालक ऋषि पाण्डेका अनुसार एक बालक, २०–२२ जना २० देखि ३० वर्ष उमेरका र अन्य ४५ वर्षभन्दा माथिका थिए । उनीहरू अधिकांश श्रीमान्–श्रीमती, छोराछोरी र आफन्त रहेको जनाइएको छ । 

दुई दिनअघि नेपाल आएका पर्यटक पशुपतिनाथ दर्शनका लागि हिँडेका थिए 
भारतीय पर्यटक पोखरा, लुम्बिनी र काठमाडौं भ्रमणका लागि दुई दिनअघि ५ भदौमा नेपाल प्रवेश गरेका थिए । दुर्घटनामा परेको बस र अर्काे बसमा सवार पर्यटकले ५ भदौ बिहान गोरखपुर नाका हुँदै लुम्बिनी भम्रण गरेका थिए । उनीहरू सोही दिन पाल्पा, स्याङ्जाको बाटो हुँदै राति पोखरा पुगेका थिए ।

६ भदौमा पोखरा महानगरपालिका– १७ ड्यामसाइडस्थित होटेल स्पोर्टस्मा ५६ जना र होटल पोखरा इनमा ३९ जना बास बसेका थिए । होटेल स्पोर्टस्का सञ्चालक ऋषि पाण्डेका अनुसार ९५ जना पर्यटकसहित बसका र कुकिङ स्टाफ गरी टोलीमा एक सय सातजना आएका थिए । उनीहरू दुई ठुला बस र एउटा माइक्रो आकारको फोर्सको भ्यानमा आएका थिए । होटेल सञ्चालकका अनुसार उनीहरू भारत महाराष्ट्रका हुन् ।

६ भदौमा पोखरास्थित स्थानीय पर्यटकीय र धार्मिकस्थलको भ्रमण गरेका थिए । पोखराको भ्रमण सकेर दुई रात काठमाडौं बसाइको योजना बनाएर उनीहरू शुक्रबार बिहान करिब ६ बजेतिर पोखराबाट हिँडेका थिए । पाण्डेका अनुसार पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भनी पोखराबाट हिँडेका थिए । 

अनियन्त्रित भएर दुर्घटना भएको अनुमान 
तनहुँ ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बस दुर्घटना भएको स्थानमा दुईवटा ठुला बस वारपार गर्न सक्ने सडक छ । सडकमा सानो घुम्तीसमेत छ । पौडेलका अनुसार घुम्ती पार गर्ने क्रममा बस अनियन्त्रित भएर सडकछेउमा लगाइएको ढुंगा र सिमेन्टको बार भत्काउँदै दुई–तीन बल्ड्याङ धपल्टेर मर्स्याङ्दी नदीमा खसेजस्तो देखिएको छ । ‘दुर्घटनास्थल हेर्दा बसले ब्रेक हानेको पनि देखिएन, बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्छ,’ उनले भने, ‘बसको प्राविधिक जाँच र घटनाको अनुसन्धानपछि मात्र दुर्घटनाको यकिन कारण पत्ता लाग्ला ।’

भारतको रुद्रप्रयागमा रहेका चार नेपाली मजदुरको एउटै घरमा पहिरोले पुरिएर गयो ज्यान

भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ । बद्रीनाथदेखि केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति पहिरो खस्दा चिवतनको माडी र दैलेखका चारजना कामदारको ज्यान गएको हो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । 

नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमा चतुर्वेदीका अनुसार माडी नगरपालिका– २ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाईं, वडा– १ भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा– ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो । माडीका तीनैजनाको शव चितवन ल्याइने भएको छ । परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने भएको छ । माडीका मेयर ताराकुमारी काजी महतोका अनुसार शव ल्याएर चितवनमा दाहसंस्कार गर्ने तयारी छ । पेट्रोल पम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवन हंस हेलिप्याडनजिकैको शिविरमा बस्थे । 

मुस्ताङमा हिमपहिरो, दर्जन परिवारलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङको थासाङ गाउँपालिका– २ कोबाङको शिरमा पर्ने धौलागिरि र मानापाथी हिमशृंखलाको बिचबाट हिमपहिरो खसेको छ । शुक्रबार दिउँसो हिमपहिरो खस्दा कालीगण्डकीको सहायक बोक्सी खोला थुनिएकामा साँझबाट बग्न सुरु भएको छ । 

हिउँपहिरोले बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका एक दर्जन परिवारलाई सुरक्षित स्थानमा सारिएको थासाङ गाउँपालिका– २ का वडाध्यक्ष गौतम शेरचनले बताए । ‘साँझदेखि पानीले हिउँका डल्ला बगाएर ल्याएको छ, हिउँपहिरोबाट खसेको हिउँले पुरिएर थुनिएको पानी बिस्तारै हिउँलाई पगालेर बग्न थालेको छ,’ उनले भने, ‘यसले बोक्सी खोलामा पानीको सतह बढेको छ ।’ बोक्सी खोलामा धौलागिरि र मानापाथी हिमशृंखलाका मुुहानबाट आउने पानी मिसिने गरेको छ । त्यसमध्ये एउटा मुहानबाट बग्ने पानी हिमपहिरोले पुरिएर करिब तीन घण्टासम्म पूर्ण रूपमा थुनिएको थियो । यसअघि २८ कात्तिक ०७८ मा मानापाथी हिमचुचुरोबाट खसेको हिमपहिरोले कोबाङ क्षेत्रमा त्रास सिर्जना गरेको थियो । 

नारायणगढ–मुग्लिन सडकमा दिनहुँ ढुंगा खस्दा त्रास : गुडिरहेको बसमा ढुंगा खस्दा २५ घाइते

नारायणगढ–मुग्लिन सडकमा दिनहुँ ढुंगा खस्दा यात्रु र सवारीचालकमा त्रास बढेको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा शुक्रबार गुडिरहेको बसमाथि ढुंगा खसेको छ । 

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग.२ख ४७ नम्बरको बसमाथि ढुंगा खसेपछि बस अनियन्त्रित भएर सडकमै पल्टियो । घाइते २५ मध्ये सातजनाको भरतपुर अस्पताल, आठजनाको पुरानो मेडिकल कलेज र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन प्रहरीका डिएसपी भेषराज रिजालका अनुसार अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । 

५ भदौमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा.प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा भरतपुर महानगरपालिका– २, सत्रकिलोमा ढुंगा खसेर दुईजना घाइते भएका थिए । त्यसअघि ४ भदौमा सोही सडकको ३ नम्बर पुलमा गुडिरहेको बागमती प्रदेशको बिएडी ८३२२ नम्बरको कारमाथि ढुंगा खसेको थियो । 

सत्रकिलोमै असार अन्तिम साता रुपन्देहीबाट काठमाडौं जाँदै गरेकोे बसमा ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । ठुलो ढुंगाले लु.२ख ६५६६ नम्बरको गाडीका चालक नवलपरासी सुनवल नगरपालिका– ५ का ३६ वर्षीय मेघनाथ विकलाई लागेको थियो । ढुंगाले गाडीको स्टेरिङसहित अगाडिको सिसामा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । यद्यपि, गाडीमा सवार यात्रुहरू भने सकुशल रहेका थिए ।

सिमलताल दुर्घटनाको ४३औँ दिन : भेटिएनन् बस र ३९ शव
पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रु त्रिशूलीमा बगेको ४३ दिन बित्दा पनि नदीमा हराइरहेका दुईवटै बस र शव फेला परेको छैन । यात्रुको खोजी जारी नै रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाउँदै आएको छ । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस गत २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६२ मध्ये तीनजना पौडिएर बाँचे पनि ५९ जना बेपत्ता भएका थिए । अहिलेसम्म २० जनाको शव फेला परेको छ । ३९ जनाको अवस्था अझै अज्ञात छ । ४ साउनदेखि कुनै पनि शव भेटिएको छैन ।