पेरिस ओलम्पिक २०२४ को समापन आज हुँदै छ । प्रतियोगिताको अन्तिम दिन आइपुग्दा दुई ठूला राष्ट्र चीन र अमेरिकाबीच तालिकाको शीर्ष स्थानका लागि ठूलै लडाइँ चलिरहेको छ । शनिबार मध्यरातसम्म ३७ स्वर्ण, २७ रजत, २४ कांस्यसहित कुल ८८ पदक जितेको चीन शीर्ष स्थानमा छ । ३४ स्वर्ण, ४१ रजत, ३९ कांस्यसहित कुल ११४ पदक जितेको अमेरिका दोस्रो स्थानमा रहेको छ । व्यक्तिगततर्फ भने चिनियाँ स्विमर जाङ युफेले सर्वाधिक ६ पदक जितेकी छिन् । तर, २६ वर्षीया उनले स्वर्ण पदक जित्न सकिनन् । फ्रान्सका स्विमर लिओन मार्चान्ड चार स्वर्ण जित्न सफल भएका छन् । उनी पेरिस ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने एक्ला खेलाडी हुन् । ग्रीष्मकालीन ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी यस्ता छन् :
लिओन मार्चान्ड, फ्रान्स
खेल : पौडी, स्वर्ण– ४
पाँचपटकका विश्व विजेता लियोन मर्चान्ड यसपल्टको ओलम्पिक मुख्य आकर्षक भए । २२ वर्षीय मार्चान्डले चार स्वर्ण पदक जिते । समग्रमा पाँच पदक जितेका छन् । एक कांस्य पदक पनि उनको नाममा रह्यो । अमेरिकी विश्वविद्यालयमा कम्प्युटर साइन्स पढिरहेका मार्चान्डले ओलम्पिकको दुई सय र चार सय मिटर मिड्लेसँगै २०० मिटर बटरफ्लाई र ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका थिए । उनले मिड्ले रिलेमा भने कांस्य पदक जितेका हुन् ।
सिमोन बाइल्स, अमेरिका
खेल : जिम्न्यास्टिक, स्वर्ण– ३
अमेरिकी जिम्न्यास्टिक महिला खेलाडी सिमोन बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण पदक जितेकी छिन् । उनको नाममा एक रजत पदक पनि छ । टोकियो ओलम्पिकमा घाइते भएपछि उनले धेरै इभेन्ट गुमाइन् । त्यसपछि एकैपटक गत जुन, २०२३ बाट पुनरागमन गरेकी हुन् । फर्कने कि नफर्कने द्विविधाबीच उनले पेरिस ओलमिम्कबाट सानदार कमब्याक गरेकी छिन् । उनले जिम्न्यास्टिकको विश्व प्रतिस्पर्धामा पाँच पदक हात पारिसकेकी छिन् । त्यसमा चार स्वर्ण सम्मिलित छ ।
समर म्याकिन्टस, क्यानडा
खेल : जिम्न्यास्टिक, स्वर्ण– ३
समर म्याकइन्टोस क्यानेडियन पूर्वओलम्पिक टिमका खेलाडी जिल होस्र्टेडकी छोरी हुन् । अमेरिकाको फ्लोरिडामा पढाइसँगै पौडी खेलिरहेकी समर म्याकइन्टोसले पेरिस ओलम्पिकमा क्यानडाका लागि तीन स्वर्ण पदक जितिसकेकी छिन् । म्याकइन्टोसले दुई सय र चार सय मिटर मिड्लेसँगै दुई सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जितिन् । त्यस्तै, चार सय मिटर फ्रिस्टाइलमा रजत पदक जितेकी छिन् । सन् २०२० को समर ओलम्पिकमा १४ वर्षको उमेरमै सहभागी भएकी थिइन् । जहाँ चार सय मिटर फ्रिस्टाइलमा चौथो भएकी थिइन् ।
टोरी हस्क, अमेरिका
खेल : स्विमिङ, स्वर्ण– ३
अमेरिकाका टोरी कुस्केले पेरिस ओलम्पिकमा तीन स्वर्ण पदकसहित २ रजत पदक जितेकी छिन् । भर्जिनियाकी स्विमरले महिला सय मिटर मिड्ले रिले र मिक्स रिलेसँगै एक सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेकी हुन् । त्यस्तै, २१ वर्षीय खेलाडीले एक सय मिटर फ्रिस्टाइल र रिलेमा रजत पदक जितेकी छिन् । एक सय मिटर बटरफ्लाईमा उनले विश्व कीर्तिमानसमेत बनाएकी छिन् । उनले १८ वर्षको उमेरमै टोकियो समर ओलम्पिक खेलेकी थिइन् । जहाँ रजत पदक जितेकी हुन् ।
मोली ओकालाघान, अस्ट्रेलिया
खेल : स्विमिङ, स्वर्ण– ३
अस्ट्रेलिया २० वर्षीया मोली आोकालाघानले पेरिस ओलम्पिकमा तीन स्वर्णसहित एक रजत र एक कांस्य पदक जितेकी छिन् । उनी अस्ट्रेलियाका लागि गृष्मकालीन ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् । उनले एक सय र दुई सय मिडर प्रिस्टाइल रिले तथा दुई सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । त्यस्तै, एक सय मिटर मिड्ले रिलेमा रजत र मिक्समा कांस्य पदक जितेकी छिन् । ओकालाघान एक सय र दुई सय मिटरको फ्रिस्टाइलको विश्व च्याम्पियन पनि हुन् । सन् २०२० को समर ओलम्पिकमा पनि उनले दुई स्वर्ण र दुई कांस्य जितेकी थिइन् ।
लिम सि हिअन, दक्षिण कोरिया
खेल : आर्चरी, स्वर्ण– ३
पुरुष खेलाडी किम वुजिनपछि दक्षिण कोरियाका लागि सर्वाधिक तीन स्वर्ण पदक जित्ने लिम सी हेओन तेस्रो खेलाडी हुन् । आर्चरीको महिला व्यक्तिगत, मिक्स र टिम इभेन्ट्समा उनले स्वर्ण पदक जितेकी छिन् । २१ वर्षीय यी खेलाडीलाई दक्षिण कोरियाको भविष्यको रूपमा हेरिएको छ । उनले पहिलोपटक ओलम्पिक खेलेकी हुन् । त्यसअघि उनले चीनमा भएको एसियन गेम्समा पनि तीन स्वर्ण पदक जितेकी थिइन् ।
सिन्नोसुके ओका– जापान
खेल : जिम्न्यास्टिक, स्वर्ण– ३
२० वर्षीय जापानिज जिम्न्यास्टिक सिन्नोसुके ओकाले पेरिस ओलम्पिकमा तीन स्वर्णसहित एक कांस्य जित्दै सनसनी मच्चाएका छन् । जापानको ओकायामामा जन्मिएका ओकाले जिम्न्यास्टिकमा जापानको प्रभुत्वलाई पेरिस ओलम्पिकमा कम हुन दिएनन् । उनको ओलम्पिकमा यसपटक डेब्यु थियो । तर, कुनै पनि समय उनी हडबडाएनन् । ओकाले टिम इभेन्ट्स, अल राउन्डर र होरिजोन्टल बारमा स्वर्ण जितेका हुन् । यसअघि उनले एसियन च्याम्पियनसिपमा पनि स्वर्ण जितिसकेका छन् । जुनियर प्रतियोगितामा पनि आफ्नो दबदबा कायम राख्न सफल भएका थिए ।
किम वुजिन, दक्षिण कोरिया
खेल : आर्चरी, स्वर्ण– ३
दक्षिण कोरियाका किम वुजिनले पेरिस ओलम्पिकको आर्चरीमा तीन स्वर्ण पदक जितेका छन् । उनले व्यक्तिगततर्फ दुई तथा मिक्स टिममा एक गरी तीन पदक जितेका हुन् ।
३२ वर्षीय अनुभवी खेलाडी पेरिस ओलम्पिकमा स्विमिङ र जिम्न्यास्टिकपछि आर्चरीबाट तीन स्वर्ण पदक जित्ने खेलाडी हुन् । विश्व विजेता दायाँहाते किमले सन् २०२० को टोकियो र सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए ।