मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २६ शनिबार
  • Wednesday, 15 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण २६ शनिबार o६:२४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

घट्दै बालबालिकाको जनसंख्या : ११२ बालक जन्मिँदा १०० मात्रै जन्मिछन् बालिका 

५.३ प्रतिशत बालबालिकाले पढाइ छाडे, ५.४ प्रतिशतले विद्यालय नै टेकेनन्

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २६ शनिबार o६:२४:oo

एक प्रतिवेदनअनुसार देशमा ११२ बालक जन्मिँदा सयजना मात्रै बालिका जन्मने गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालय थापाथलीले तयार पारेको तथ्यांकीय प्रतिवेदनअनुसार जन्मने बालकभन्दा बालिकाको संख्या हरेक एक सयमा १२ जनाले कम छ । 

बालिकाको तथ्यांक झन् कम हुँदै गइरहेकाले यो चिन्ता गर्नुपर्ने अवस्था देखिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए । ‘बालकभन्दा बालिका कम जन्मिएका छन्, यसले नेपालको कुल गार्हस्थ्य उत्पादनदेखि भविष्यको जनशक्तिमा समेत असर पर्न सक्छ । हामीले दिएका तथ्यांकका आधारमा सम्बन्धित निकायहरूले समाधान खोज्नुपर्छ,’ उनले भने । 

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना ०७८ मा आधारित बालबालिकाको सबैखाले तथ्यांक सार्वजनिक गरेको थियो । कार्यालयले ०–१७ वर्षसम्मका बालबालिकालाई मध्यनजर गरेर तथ्यांक संकलन गरेको थियो । जसमा बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाह, बसाइँसराइ, अपांगता, पारिवारिक जिम्मेवारी, आर्थिक क्रियाशीलता, निर्भरतालगायत विषयसँग सम्बन्धित तथ्यांकहरू संकलन भएका छन् । 

अध्ययनअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ देखिएको छ । जनसंख्याको कुल अनुपातमा यो संख्या ३३.८ प्रतिशत मात्रै हो । जसमध्ये ५१.८ प्रतिशत बालक र ४८.२ प्रतिशत बालिका छन् । जनगणनामा कुल पुरुषमध्ये ३६ प्रतिशत बालक र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेको देखिएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै बालबालिका १० देखि १४ वर्षका (२९.५ प्रतिशत) छन् । जनगणनाअनुसार ०५८ बाट ६८ मा आइपुग्दा बालिबालिकाको वार्षिक वृद्धिदर ०.४६ प्रतिशत थियो । ०६८ बाट ०७८ मा आइपुग्दा सो वृद्धिदर ऋणात्मक अर्थात् १.१ प्रतिशत रहेको छ। 

पछिल्लो दश वर्षको समग्र जनसंख्यामा १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसंख्यामा १०.९ प्रतिशतले घटेको छ । यस अवधिमा बालकको भन्दा बालिकाको संख्या ४ प्रतिशतले घटेको देखिएको छ । 

समग्र जनसंख्यामा पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख पचास हजारले बढी छ । तर, समग्र बालबालिकाको जनसंख्यामा बालकको जनसंख्या बालिकाको भन्दा तीन लाख तीन हजारले बढी देखिएको छ । 

नेपालमा बालबालिकाको अपांगता दर समग्र जनसंख्याको १.२ प्रतिशत छ । ७४ प्रतिशत बालबालिकाको जन्मदर्ता बनेको देखिएको छ । १० वर्षको बीचमा १५ हजार ८६८ जना बालबालिकाको मृत्यु भएको तथ्यांकले देखाएको छ । 

गाउँ छाड्ने बालबालिकाको संख्या बढ्दो
तथ्यांकअनुसार बालबालिकाको बसाइँसराइ दर पनि बढ्दो छ । पछिल्लो जनगणनाअनुसार ९.६ प्रतिशत बालबालिका जन्मस्थानबाट अन्यन्त्र बसाइँ सरेका छन् । यो आन्तरिक बसाइँसराइको तथ्यांक हो । बालबालिका बसाइँ सर्नुको मुख्य कारण आश्रित, अध्ययन, तालिम देखिएको छ । मधेश क्षेत्रमा २०.७ प्रतिशत बालबालिका विवाहका कारण बसाइँसराइमा समेत परेका छन् । 

अभिभावकसँग छैनन् ३१ हजार बालबालिका 
तथ्यांकअनुसार नेपालमा ३१ हजार ५१२ जना बालबालिका परिवारको अभिभावकका रूपमा छन् । परिवारको मुली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका छन् । उनीहरूले आफ्ना अभिभावक नहुँदा अभिभावकत्वसमेत सम्हालेका छन् । 

पहाडका परिवारमा कम छन् बालबालिका
तथ्यांकअनुसार समग्रमध्ये ७१.३ प्रतिशत परिवारमा बालबालिका छन् । बालबालिकाको संख्या सबैभन्दा बढी रहेको तराईका जिल्लामा ७६.१ प्रतिशत परिवारमा बसोवास गर्छन् । पहाडका परिवारमा निकै कम बालबालिका बसोवास गर्छन् । अर्धसहरी क्षेत्रका ७६.४ प्रतिशत, ग्रामीण क्षेत्रका ७०.५ प्रतिशत परिवारमा बालबालिका बसोवास गर्छन् । बागमती र गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा बालबालिकाको संख्या कम देखिएको छ ।