पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माण नहुँदा सास्ती भोग्नुपरेपछि दबाबका लागि इन्जिनियरहरूले आन्दोलन थालेका छन् । स्थानीय सरोकारवालासँग छलफलसँगै आन्दोलन घोषणा गरेको हुलाकी सडक कमला पुल निर्माण संघर्ष समितिको आयोजनामा बिहीबार दिउँसो जिल्ला सदरमुकामको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस प्रदर्शन गरिएको छ ।
दबाबमूलक आन्दोलनअन्तर्गत २७ साउनमा सिराहा नगरपालिका– ६ बसबिट्टा चोकदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालयसम्म मोटरसाइकल ¥याली गरिने संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीणकुमार यादवले बताए । ‘त्यति गर्दा पनि पुल पुनर्निर्माणको काम अघि नबढाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्नेछौँ,’ उनले भने । २२ साउनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै हुलाकी राजमार्गअन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य शीघ्र पूरा हुनुपर्ने माग गरेका थिए ।
निर्माणको अन्तिम काम चलिरहेका वेला १७ असार ०७८ मा आएको बाढीले पुलको सिराहातर्फको दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पायासमेत भासिएको थियो । पुलको पाया भासिएको करिब डेढ वर्षपछि पछिल्लो माघदेखि पूर्वतर्फ थालिएको पुनर्निर्माणको काम गत १ असारदेखि स्थगित छ । कमला पुलमा पटक–पटक उच्चस्तरीय राजनीतिक नेतृत्व, विभागीय मन्त्रीहरूले पुनर्निर्माणको काम छिटो सक्न निर्देशन दिँदै आए पनि धनुषातर्फ भासिएको तेस्रो पायाबारे सडक विभागको पुल महाशाखाले गर्नुपर्ने निर्णय नआउँदा पनि ढिलाइ भएको निर्माण व्यवसायीको गुनासो छ ।
गत १८ चैतमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कमला पुलको पुनर्निर्माणको स्थलगत निरीक्षण गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । सरकारले आवश्यक स्रोत–साधनको सबै व्यवस्था गरेको जिकिर गर्दै उनले समयमै निर्माण सम्पन्न नभए निर्माण कम्पनी कारबाहीको भागीदार हुने चेतावनी दिए, तर १ असारदेखि पुनर्निर्माणको काम रोकिएको छ । वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल पुनर्निर्माणको काम रोकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।
हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणका बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने समय सीमा पटक–पटक थप गरिएको थियो । कुल २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँ ठेक्का लिएको पप्पु–लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो । पुल निर्माणको ठेक्का रकममध्ये भ्याटसहित २३ करोड १९ लाख १३ हजार ७१४ रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ ।
अदालतमा बिमा रकमको विवाद
१५ फागुन ०७९ मा तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमला पुलको स्थलगत निरीक्षण गरेको करिब दुई महिनापछि २४ वैशाखमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र निर्माण कम्पनीबीच ०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुलको अन्तिम निर्माण चलिरहेका वेला बाढीले क्षति पु¥याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने १२ करोड रकम नपाएपछि पनि कामलाई तीव्रता दिन नसकिएको बिल्डर्सका प्रबन्ध निर्देशक विष्णु शर्माले बताए । ‘बिमा कम्पनीलाई एक करोड रुपैयाँ उच्च दरको प्रिमियिम ति¥यौँ,’ उनले भने, ‘बाढीले क्षति पु¥याएको खण्डको मात्र बिमा दाबीमा समेत बिमा कम्पनीले बेइमानी गर्न खोजेपछि अदालत गएका छौँ ।’ बिमाबापतको रकम प्राप्त भए वर्षापछि पुनर्निर्माणको काम पुनः सुचारु गरिने अन्यथा नसकिने बाध्यता रहेको उनले सुनाए ।
कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाको डिजाइन परिवर्तनपछि वर्षाअगाडि पाइल क्यापसम्मको निर्माण सक्ने गरी पुनर्निर्माणको काम थलिए पनि वर्षाले रोकिएको छ । परिवर्तित डिजाइनअनुसार पूर्वतर्फ भासिएको दोस्रो पायाको ठाउँमा एउटा थप गरी दुईवटा बनाइएपछि त्यसमा तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर दुईवटा स्ल्याव १२ वटा फलामको बिममा राखिने बिल्डर्सले जनाएको छ । पुल भासिएपछि वर्षाको समयमा निजी रूपले सञ्चालन गरिएका डुंगा र हिउँदमा स्थानीयले बनाएको बाँसको पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाको गुनासो छ । हिउँदमा पुलको दक्षिणपट्टि बाँसको खम्बामा मोटो प्लाई हालेर बनाइएको दुईवटा अस्थायी पुलमा बाढीले क्षति पु¥याएपछि स्थानीय पुल वारपार गर्न डुंगाको भर पर्न बाध्य छन् ।