वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम (संग्रहालय) बन्ने भएको छ । पुरानो भवन भत्काएर मौलिक शैलीको भवन बनाउने र उक्त भवनमा नेपाल प्रहरीसँग सम्बन्धित कलाकृति र इतिहास झल्किने सामग्री प्रदर्शनीमा राख्नेबारे स्थानीयवासी, प्रहरी र पुरातत्व विभागबीच सहमति भएको हो ।
यसअघि स्थानीयवासीले जीर्ण अवस्थामा रहेको प्रहरी भवन भत्काएर उक्त स्थान खाली गर्नुपर्ने माग राख्दै आएका थिए । विश्व सम्पदा क्षेत्रभित्र रहेको उक्त भवन पुरानो र जीर्ण अवस्थामा छ । भवन भत्कने डरमा टेको लगाइएको छ भने पर्यटकलाई नजिक जानसमेत रोक लगाइएको छ । तर, भवन रहेको जग्गा नेपाल प्रहरीकै नाममा रहेकाले आफूलाई आवश्यकता पर्ने मौलिक संरचना बनाउने जनाउँदै आएको थियो । उक्त जग्गा ऐतिहासिक ठाउँमा रहेको भन्दै काठमाडौं महानगरले साट्नसमेत खोजेको थियो । प्रहरीलाई पुतलीसडकमा रहेको जग्गा दिने र उक्त जग्गा महानगरलाई दिन मेयर बालेन्द्र साहले प्रहरी र स्थानीयसँग छलफल गरेका थिए । तर, प्रहरी र स्थानीयवासी उक्त सर्तमा सहमत भएका थिएनन् । भवन साढे दुई रोपनी क्षेत्रफलमा छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले पुरानो संरचना हटाएर नेपाल प्रहरीकै लागि आवश्यक संरचना बनाइने बताए । ‘अहिले भइरहेकै संरचनामा म्युजियम सञ्चालन गर्न मिल्दैन । भवन बस्नलायक छैन । तर, त्यो नेपाल प्रहरीको सम्पत्ति भएकाले त्यसलाई प्रहरीले नै उपभोग र संरक्षण गर्नेछ,’ उनले भने, ‘वसन्तपुर क्षेत्र पर्यटकीय गन्तव्य भएकाले पर्यटक प्रहरी भनेर पनि राख्ने कि भन्नेमा पनि छलफल चलिरहेको छ, विभागले यसमा सहमति जनाएको छ ।’ उनका अनुसार प्रहरीसँग सम्बन्धित कलाकृति तथा ऐतिहासिक सामग्री राख्नलाई पनि यो ठाउँ उपयुक्त हुन्छ । हाल प्रहरी हेडक्वार्टरमा रहेको प्रहरी म्युजियम सबैका लागि सहज छैन ।
नयाँ भवन सम्पदामैत्री बनाउन जोड
जिल्ला प्रहरी परिसर काठमाडौं हनुमानढोकास्थित यस भवनमा ०१२ देखि ०७२ सम्म बसेको थियो । ०७२ सालको भूकम्पले क्षति पुगेपछि कार्यालय टेकुमा सरेको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका पालामा उक्त भवन भत्काएर खुला गर्न टिप्पणी उठाइएको थियो । त्यसमा काठमाडौं महानगर, स्थानीयवासी, पुरातत्व विभागले हस्ताक्षर गरेका थिए । सम्पदाप्रेमी यादवलाल कायस्थले सम्पदा क्षेत्रमा धराप भवन राख्न नहुने भन्दै भवन भत्काउन र मौलिकता कायम गर्न दबाब दिँदै आइरहेका छन् । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले उक्त जीर्ण संरचना हटाएर प्रहरीकै मौलिक संरचना बनाउनेबारेमा सहमति भएको बताइन् । ‘उक्त ठाउँ सम्पदा क्षेत्र हो, यस ठाउँमा मौलिकता र ऐतिहासिक झल्कने संरचना बनाउनुपर्छ,’ उनले भनिन्, ‘नेपाल प्रहरीले पनि त्यस ठाउँमा मौलिकता झल्कने गरी संरचना बनाउनु राम्रो हो, तर जथाभावी गर्नु हुँदैन ।’
दानबहादुर कार्की प्रवक्ता, नेपाल प्रहरी
अहिले भइरहेको संरचनामा म्युजियम बन्दैन । त्यो संरचना बस्नलायक छैन, तर त्यो नेपाल प्रहरीकै सम्पत्ति भएकाले त्यसलाई प्रहरीले नै उपभोग र संरक्षण गर्नेबारे छलफल भइरहेको छ । वसन्तपुर क्षेत्र पर्यटकीय गन्तव्य भएकाले प्रहरी म्युजियम पर्यटक प्रहरी भनेर पनि राख्ने कि भन्नेमा छलफल चलिरहेको छ । विभागले पनि यसमा सहमति जनाएको अवस्था छ ।