चेन होटेल हिल्टनले काठमाडौंबाट सेवा दिन सुरु गरेको छ । नवनिर्मित होटेलको शुक्रबार औपचारिक शुभारम्भ भएको हो । प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटेल भारतीय उपमहाद्वीपमा दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा भएको बताइएको छ ।
होटेलमा एक सय ७२ वटा कोठा रहेका छन् । यहाँबाट पाहुनाले मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत रूपमा समेत विशिष्ट अनुभव हासिल गर्न सक्ने होटेलको दाबी छ ।
काठमाडौंको निर्माण शैलीमा डिजाइन गरिएको होटेलमा प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू रहेका छन् । साथै, कर्मचारीको पोसाक, प्रतीक्षालय र अन्य अतिथि कक्ष परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन् ।
एसिया प्यासिफिक ब्रान्ड म्यानेजमेन्ट एवं हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेन्डर ज्यारिचले भने, ‘अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व सयौँ वर्षदेखि रहँदै आएको छ । यही क्रममा नेपालमा खुलेकोे पहिलो होटेलले विशिष्ट पाहुनाका लागि एक महत्वपूर्ण स्थानका रूपमा लिइएको छ ।