१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १८ शुक्रबार
  • Thursday, 31 October, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ श्रावण १८ शुक्रबार o९:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात महिनामा भित्रिए साढे ६ लाख पर्यटक

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १८ शुक्रबार o९:५२:oo

चालू वर्ष २०२४ को पहिलो सात महिना (जनवरी–जुलाई)सम्म ६ लाख ४७ हजार ६ सय १५ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । अघिल्लो वर्ष २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात र सन् २०२२ को सात महिनामा दुई लाख ८५ हजार तीन सय ६३ पर्यटक भित्रिएका थिए । अर्थात्, कोभिड महामारी कम हुँदै गएपछि विदेशी पर्यटक आगमन संख्या पनि बढ्दै गइरहेको छ । 

यस वर्ष पहिलो महिना जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

नेपालमा मनसुनलाई पर्यटनको अफ सिजन मानिन्छ । वर्षा हुने समय भएकाले जुनदेखि नै पर्यटक आगमन क्रमशः घट्दै गइरहेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । जुनमा ७६ हजार सात सय ३६ पर्यटक नेपाल घुम्न आएका थिए । यस वर्ष सबैभन्दा धेरै मार्चमा एक लाख २८ हजार पर्यटक आएका थिए । नेपालमा मार्च, अप्रिल र मे पर्यटनको ‘पिक सिजन’ मानिने म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवालले बताए । तर, यही समयमा भारतमा गर्मी बढ्ने भएकाले त्यहाँका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ । ‘हामीले अफ सिजन मान्ने समयमा इन्डियामा हपहपी गर्मी हुन्छ, हामीले धेरै भारतीय पर्यटक मनसुनमा भित्र्याउन सक्थ्यौँ,’ उनले भने, ‘गर्मीले बेहाल बनेका भारतीयहरूको ताँती लाग्नुपर्ने वेलामा हामी अफ सिजन भनेर बसिरहेका छौँ ।’ 

सरकारले बाह्रै महिना पर्यटक भित्र्याउने लक्ष्य राखे पनि सोहीअनुरूप प्रचारप्रसारको काम नगर्दा मनसुनमा पर्यटक आउन कम भएको उनले बताए । मनसुनमा नेपालीसमेत घुम्न ननिस्किने हुँदा पर्यटकीय क्षेत्रहरू सुनसान देखिन्छन् । मनसुनमा पनि पर्यटक भित्र्याउने गरी प्रचारप्रसार गर्न नसकिएको कोरा टुर्सका सिइओ विजय अमात्यले बताए । ‘मनसुनमा पनि पर्यटनको सम्भावना छ, तर हामीले त्यसरी प्रचार नै गर्न सकेनौँ,’ उनले भने, ‘पर्यटकलाई मनसुनमा रोपाइँ गरेको, पानी परेको, हरियालीलगायत देखाउन सकिन्छ ।’

मनसुनसँगै जुलाईमा पर्यटक घटे पनि अघिल्लो वर्षको जुलाईको तुलनामा भने ११.९१ प्रतिशतले वृद्धि हो । जुलाई २०२३ मा ५७ हजार सात सय २६ पर्यटक, २०२२ मा ४४ हजार चार सय ६२ पर्यटन नेपाल घुम्न आएका थिए ।

जुलाईमा कहाँका पर्यटक आए ?
- भारत : २१ हजार चार सय ९१ 
- अमेरिका : सात हजार आठ सय ६४
- चीन : ६ हजार आठ सय १९
- बेलायत/आयरल्यान्ड : तीन हजार आठ सय ६
- बंगलादेश : तीन हजार चार सय ७०
- अस्ट्रेलिया : एक हजार नौ सय
- दक्षिण कोरिया : एक हजार पाँच सय ३७
- भुटान : एक हजार दुई सय सात
- मलेसिया : एक हजार एक सय २५
- जापान : एक हजार एक सय १४