१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार ११:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार मन्त्रालयको संख्या १४ पुर्‍याउने सहमतिपछि बागमतीमा बाँकी मन्त्रीहरूको शपथ आजै हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार ११:२२:oo

बागमती प्रदेश सरकारले आज भने पूर्णता पाउने भएको छ। प्रदेश सरकारमा कांग्रेसका तर्फबाट चारजनालाई शपथ खुवाउँदै आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो। यसअघि बिहीबार सहमतिभन्दा एकजना बढी मन्त्री थप्न खोजेपछि सत्तासाझेदार दल कांग्रेस र एमालेबीच विवाद भएको थियो। केन्द्रीय तहमा सहमति भएपछि आज मन्त्रिपरिषद् १३ बाट १४ पुर्‍याउने गरी कांग्रेसका तर्फबाट चारजनालाई मन्त्रीको शपथ गराउने तयारी भइरहेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार नियुक्त गरेका थप चारजना मन्त्रीहरूमध्ये एकजना परिवर्तन गरी आज शपथ गराउन लागिएको हो। मुख्यमन्त्री कार्यलय स्रोतका अनुसार बिहीबार आर्थिक मामिलामन्त्रीका रूपमा नियुक्त गरिएकाे, तर शपथ लिन नपाएका प्रभात तामाङको स्थानमा हरिप्रभा खड्गीलाई शपथ गराउने तयारी भएको छ। 

तामाङ मन्त्रीको नियुक्ति पाएर पनि बाहिरिएका छन् भने खड्गीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ। यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी यसअघिदेखि नै दाबी गर्दै आएका कुन्दन काफ्लेलाई दिने सहमति भएको पनि स्रोतले जनाएको छ।

आज शपथ लिने अन्य मन्त्रीहरूमा, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी रहेका छन्। स्रोतका अनुसार लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइनेछ। 

यस्तै, यसअघि नै गत बुधबार शपथ लिएका श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने जनाइएको छ। गत बिहीबार कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई शपथ गराउने तयारीअनुसार शपथ कार्यक्रमका लागि प्रदेश प्रमुख कार्यालयमा पुगेका दलका नेताहरूबीच निकैबेर छलफल भए पनि सहमतिमा पुग्न नसकेपछि शपथ कार्यक्रम स्थगित गर्दै दलका नेताहरू बाहिरिएका थिए।

यस्तै, जिम्मेवारीसहित मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरू गाडीसहित प्रदेश प्रमुख कार्यालय पुगेका पनि उनीहरू पनि मन्त्रीविनै फर्किएका थिए। झन्डा हालेर मन्त्री लिन पुगेका गाडीहरू झन्डामा कभर हालेर फर्किएका थिए।