
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनी यसअघिको सरकारमा पनि २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए।
विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँपटक मन्त्री भएका हुन्। पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए।
‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसंगति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरूलाई निरन्तरता दिनेछु,’ उनले भने।
मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे।
‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरू छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन,’ उनले भने, ‘हामीले इमानदारीपूर्वक र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ।’
भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन्।
उनले २०३२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए।
२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो। विसं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए।
भण्डारी २०५१ सालपछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय थिए। मधेश आन्दोलनपछि मधेसी जनाधिकार फोरममा आबद्ध हुँदै उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको सदस्यसमेत भए।
२०५१ सालमा स्वतन्त्र र २०५६ सालमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए। उनी २०३८ सालमा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए। त्यसयता उनी पटक-पटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन्।
नेविसंघको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए। २०५१ सालमा स्वतन्त्र सांसदका रूपमा निर्वाचित भण्डारीले २०५२ सालमा विनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए।
२०७० सालमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेका भण्डारी सोही वर्ष संविधानसभा निर्वाचनमा पराजित भए। पछि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए। मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन्। रासस