
प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डलाई पछि पार्दै स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ ।
जर्मनीको बर्लिनमा भएको फाइनल भिडन्तमा इंग्ल्यान्डमाथि स्पेन २–१ को गोलअन्तरले अघि रह्यो। यससँगै स्पेनले युरोकपको उपाधि चौथोपटक जितेको हो।
खेलको दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा अग्रता लिएको थियो। स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे।
७३औँ मिनेटमा इंग्ल्यान्डले बराबरी गोल गर्याे । गोल गर्ने खेलाडी कोल पालमर रहेका थिए। तीन मिनेटअघि मैदान प्रवेश गरेका उनले बक्सबाहिरबाट उत्कृष्ट गोल गरे।
तर, ८६औँ मिनेटमा स्पेनले विजयी गोल गर्याे । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले बललाई जाली चुमाउँदै स्पेनको सपना साकार पारे।
यससँगै इंग्ल्यान्ड पुनः एकपटक अभागी साबित भयो। अघिल्लो युरोकपको फाइनलमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यसपटक पनि रित्तै घर फर्कियो। इंग्ल्यान्डले सन् १९६६ यता युरोकप जित्न सकेको छैन।