१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Monday, 21 April, 2025
कञ्चनपुरको बेदकोट नगरपालिका– १० चतहरी गाउँ जोड्ने क्षतिग्रस्त झोलुंगे पुल
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २९ शनिबार १५:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेदकोटका दुई गाउँ एक सातादेखि अन्धकारमा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १५:३९:oo

चुरे भएर बग्ने चौधरलगायतका नदी र खोलानालामा आएको बाढीले बेदकोट नगरपालिकाको चतहरी र नयाँगाउँ क्षतविक्षत बनाएको छ। चौधर र राधा नदी तथा पत्थरिया, कनकट्टी, कालिखोला, पेलिताललगायतका नदी तथा खोलानालामा आएको बाढीले यी दुई गाउँका अधिकांश  संरचनामा क्षति गरेको छ।

चौधर नदीमा आएको बाढीले दुई गाउँ जोड्ने झोलुंगेपुलसहित विद्युतका पोल, स्थानीयका खेतबारी, घरलगायतका संरचनामा क्षति पुर्‍याएको छ। बेदकोट नगरपालिका– १० नयाँगाउँका राजु कडारोले चौधर नदीले आफ्नोसहित दर्जनौँ स्थानीयका घरडुबान र खेतबारी कटान गरेको बताए।

‘मध्यरातमा बाढी आयो, मैले मेरा छिमेकीसहितलाई उद्धार गरेर उँचो ठाउँमा लगेँ,’ उनले भने, ‘बाढीले विद्युतका संरचनामा समेत ठूलो क्षति गरेपछि सात दिनदेखि गाउँ विद्युतविहीन भएको छ।’ २२ असारमा गएको विद्युत् सेवा आजसम्म पुनः सञ्चालन नभएको उनले बताए। सात  दिनदेखि विद्युत सेवा सुचारु नहुँदा झन्डै १२ सय घरधुरी अन्धकारमा बस्नुपरेको उनको दुखेसो छ। भिराल टोलमा अझै पनि दलदल हुँदा विद्युतका संरचना बनाउन समस्या भएको उनले बताए।

चतहरीका स्थानीय डम्बर सार्कीले चौधर नदीको कटानले दुई गाउँ (चतहरी–नयाँगाउँ) जोड्ने झोलुंगे पुलसमेत भत्किएको बताए। ‘पुलको पूर्वतर्फ चतहरी गाउँको सिँढी भत्काइदिएको छ,’ उनले भने, ‘सिँढीसँगै वरपरको जमिन कटान गरिदिएको छ।’ पुल भत्किएपछि विद्यार्थीसहित सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। 

अर्का स्थानीय गोपाल सुनारले वर्षभरि छाक टार्ने अन्नबाली बगाएरपछि समस्या भएको गुनासो गरे। ‘घरमा भएको अन्नबाली भिजेर नष्ट भयो, खेतको धान पटानीमा परिणत भयो,’ उनले भने, ‘अब हामीले वर्षभरि खाने के?’ आफूहरूमाथि महाविपत्ति निम्तिँदासमेत वडा सरकारले मात्रै पीडा बुझेको उनले बताए। 

बेदकोट नगरपालिका– १० का वडाध्यक्ष रतनसिंह विष्टले चौधर, राधासहितका नदी तथा खोलामा आएको बाढीले १५ घर पूर्ण क्षति भएको र दुई सय घर डुबानमा परेको बताए। ‘बेदकोट नगरपालिका– १० मा झन्डै २५ बिघा जमिन कटानी तथा पटानी भएको छ।’ दुई गाउँ जोड्ने झोलुंगे पुलसहित, कालीखोलाको कल्भर्ट, बैजनाथ मन्दिरनजिक कल्भर्ट भत्किएर सडक अवरुद्ध भएको उनको भनाइ छ। नयाँगाउँ र चतहरी गाउँमा १३ विद्युतका पोल ढलेको बताए। ‘हाम्रो वडामा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलनमा जुटेका छौँ,’ उनले भने, ‘पीडितलाई राहत क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पहल गछौँ।’

वडाध्यक्ष विष्टले प्रदेशका मन्त्रीद्वय ओम विक्रम भाट(सरल), अक्कल बहादुर कुँवरसहितले स्थलगत अनुगमन गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणदेखि राहतका लागि प्रदेश सरकारबाट पहल गर्ने आश्वासन दिएको बताए। क्षतिग्रस्त सडक, पुलपुलेसा पुनर्निर्माणका लागि स्रोतसाधन दिनुपर्ने उनको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुनकुमार श्रीवास्तवले अवरुद्ध विद्युत् सेवा सुचारु गर्न पुनर्निर्माण कार्य भइरहेको बताए। ‘विद्युतका पोल ढुवानीमा समस्या भयो,’ उनले भने।