१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ८ शनिबार o८:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

श्री एयरलाइन्सले थप्यो ८० सिटको जहाज, अब श्रीसँग ११ जहाज र ८ हेलिकोप्टर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार o८:३o:oo

निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ। श्रीले क्यानडाको तत्कालीन बम्बार्डियर (हाल डी हाभिलैन्ड अफ क्यानडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्राएको हो।

अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन्। यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकोप्टर) रहेका छन्। कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ।

शुक्रबार राति १ बजेतिर काठमाडौंंमा अवतरण गरेको क्यु ४०० ड्यास ८ जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो। सो जहाजमा अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनि अनुभूति दिने र भरपर्दो क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्पपावरका पिडब्लुआइएसओए इन्जिन जडित भएको कम्पनीले जनाएको छ ।

श्री एयसलाइन्सका पाइलटहरूले अमेरिकाको अरेगन राज्यको पोर्टलैन्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानडाको गुजवे, आइसलैन्डको केफलामिक, चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै करिब १० हजार चार सय माइलको दूरी ३३ घण्टाको उडान तथा तीन रात्रि विसानपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन् ।

श्रीले सन् २०१७ मा ५० सिट क्षमताका दुईवटा सिआरजे २०० तथा ७० सिट क्षमताको दुईवटा सिआरजे ७०० जेट विमानबाट नियमित उडान सञ्चालन सुरु गरेको थियो। श्रीले सेवा सुरु गरेपछि यात्रुहरूले पनि सहुलियत भाडादरमा यात्रा गर्न पाएको कम्पनीको दाबी छ। 

श्रीले सिआरजे २००/७०० तथा क्यु ४०० ड्यास विमानहरूबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र पर्वतीय उडानहरू नियमित रूपमा सञ्चालन गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू यथाशीघ्र पूरा गरी नयाँ विमानबाट आफ्‌ना आन्तरिक गन्तव्यहरूमा थप उडान गरी भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ।

उद्योगपति स्व. बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा ०५५ सालमा हेलिकोप्टहरूबाट नेपालको अति दुर्गम तथा विकट, हिमाली क्षेत्रहरूमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरू ढुवानी, निर्माण सामग्री, जल विद्युतका र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेसिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए। पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स राखिएको थियो।

श्री एयरलाइन्स नेपाल तथा दक्षिण एसिया क्षेत्रबाटै संयुक्त राष्ट्रसंघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा डब्लुएफपीको हेलिकाेप्टरबाट अन्तर्राष्ट्रिय चार्टर उडानसमेतमा सञ्चालन गर्ने पहिलो हवाई कम्पनी हो।

पर्यटन व्यवसायीहरू र यात्रुहरूको मागलाई सम्बोधन गर्न श्री एयरलाइन्सले निकट भविष्यमा थप गन्तव्यसहित हालका गन्तव्यहरूमा थप उडान सञ्चालन गरी यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्दै जाने उद्देश्य लिएको छ।