बुद्धको प्रवचन सुन्न सबै प्रकारका मानिस आउँथे । तिनमा सीधासाधा गाउँले, महिला, नगरका महाजन, विद्यार्थी सबै हुन्थे । बुद्ध उनीहरू सबैको अवस्थाअनुरूप प्रवचन दिने गर्थे । आफ्ना प्रभावशाली तर्कको बलमा उनी आफ्नो विचार श्रोताको दिमागमा घुसाउन सफल हुन्थे ।
एकपटक सहरका खानदानी महाजन बुद्धको सभामा पुगे । उनले ध्यानपूर्वक प्रवचन सुने । प्रवचनपश्चात् उनले बुद्धलाई भोजनका लागि आफ्नो निवासमा आमन्त्रण गरे । बुद्धले खुसीसाथ आग्रह स्वीकार गरे । खुसी भई फर्किंदै गरेका महाजनलाई बुद्धका शिष्यले भने— तथागत ताजा भोजन मात्र ग्रहण गर्नुहुन्छ । महाजनले सहर्ष प्रस्ताव स्विकारे ।
अर्को दिन तोकिएको समयमै बुद्ध महाजनको महलमा पुगे । महाजनले खुसीसाथ बुद्ध र उनका शिष्यको पाउ धोएर उचित आसनमा बसाले । कुराकानीको सिलसिलामा महाजनले भने– प्रभु ! हाम्रो महल र जमिनदारी पुस्तौँपुस्तादेखि कायम छ । हाम्रा पुर्खाले यति धेरै धन, सम्पत्तिको व्यवस्था गरिदिएका छन् कि हामीले आफ्ना लागि कुनै काम गर्नुपर्दैन । पुर्खाले दिएको सम्पत्ति नै यति छ कि हामीले आगामी सात पुस्तासम्म पनि कुनै चिन्ता गरिरहनुपर्दैन । कुराकानीकै क्रममा भोजन तयार भयो । भोजन पस्किसकेपछि बुद्धले गम्भीर हुँदै भने– हे मेरा प्यारा भक्त, हिजै तिमीलाई भनिएको थियो कि हामी ताजा भोजन मात्र ग्रहण गर्छौं । यो वासी भोजन हामी स्विकार्न सक्दैनौँ । महाजनले हडबडाउँदै भने– प्रभु, यो भोजन त कैयौँ घन्टाको परिश्रमबाट आजै तयार गरिएको हो । कसरी यो वासी हुन सक्छ ?
बुद्धले थप गम्भीरतासाथ जवाफ दिए– यस भोजनमा तिम्रो परिश्रमबाट आर्जित केही छैन । यसमा सबै तिम्रा पुर्खाले कमाएको धन प्रयोग भएको छ । जुन दिन तिम्रो आफ्नै कमाइबाट भोजन तयार हुनेछ, त्यो मात्र ताजा मानिनेछ । त्यस दिन म खुसीसाथ तिम्रो महलमा आएर भोजन ग्रहण गर्नेछु । यति भनेर बुद्ध र उनका शिष्य विनाभोजन बिदा भए ।