मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ४ मंगलबार o८:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नदी धमिलिन थालेपछि मात्रै मेलम्ची बन्द गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o८:१६:oo

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदीमा धमिलो पानी बग्न थालेपछि मात्रै मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको छ । यसअघि समितिले नेपालमा मनसुन भित्रिएको र वर्षाका कारण आयोजनामा जोखिम पुग्नसक्ने भन्दै ३२ जेठदेखि नै मेलम्चीका पानी बन्द गर्ने निर्णय गरेको थियो ।

मनसुन भित्रिए पनि त्यसको प्रभाव काठमाडौं उपत्यका आसपासमा नदेखिएका कारण समितिले यस्तो तयारी गरेको हो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।

मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदि ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएमा सोको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।

‘३२ जेठमै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरेका थियौँ, तर वर्षा सुरु नभएकाले बन्द गरेनौँ, उनले भने, ‘यदी अचनाक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा पनि हामी बन्द गर्ने छौँ ।’ 

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानी अभाव भइरहेको बेलामा अहिलेनै बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।

‘हामीलाई परामर्शदाता र एसियाली विकास बैंकले मेलम्ची बन्द गर्नुपर्छ, नभए आयोजनालाई मनसुनी विपत्तीले क्षति गर्छ भन्दै आउनुभएको छ,’ कार्यकारी निर्देशक लामिछानेले भने, ‘अब ठूलो वर्षा सुरु भएर मेलम्ची खोला धमिलो हुन थालेपछि आयोजना जोगाउन पनि बन्द गर्नुपर्छ, आयोजना जुनसुकै बेला पनि बन्द गर्नका लागि हामी तयारीमा छौँ ।’ ठूलो वर्षा नहुञ्जेल आयोजनाको पानी उपभोक्तालाई वितरण गरिराख्ने उनले जानकारी दिए ।