१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Saturday, 28 September, 2024
गर्मीका कारण बुधबार कक्षाकोठामै बेहोस भएका तुलसीपुर– ११ उरहरीस्थित अमर माविका विद्यार्थी।
२o८१ जेठ ३१ बिहीबार o६:४o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित, दाङमा कक्षाकोठामै बेहोस भए विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार o६:४o:oo

अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त बनेको छ । अधिकांश जिल्लामा विद्यालय बिदा दिइएको छ । पढाइ जारी रहेको दाङ तुलसीपुर उपहानगरपालिका– ११ उरहरीस्थित अमर माविका विद्यार्थी गर्मीका कारण कक्षाकोठामै बेहोस भएका छन् । कक्षा ८ का पाँचजना र कक्षा ९ का एकजना विद्यार्थी बुधबार दिउँसो साढे १ बजेतिर बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाइएको थियो ।

उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीका अनुसार विद्यार्थीमा गर्मीका कारण समस्या देखिएको हो । विद्यार्थीमा बान्ता आउने, पिसाब पोल्ने, टाउको दुख्ने समस्या देखिएको छ । गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै खेल्न नहुने वलीले बताए । 

गर्मीका कारण विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि दाङका विद्यालय बन्द गरिएको छ । घोराही  र तुलसीपुर उपमहानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । त्यस्तै, बबई गाउँपालिका, शान्तिनगर, गढवा गाउँपालिकाले पनि गर्मी बिदा दिएका छन् ।

दाङमा बुधबार अधिकतम तापक्रम ३९.८ डिसे मापन भएको छ, मंगलबार ४०.२ डिसे थियो । १७ जेठमा पनि ४०.२ डिसे पुगेको थियो ।  

गर्मीका कारण तराईमा विद्यालय बन्द
गर्मीका कारण तराईका कयौँ जिल्लामा विद्यालय बन्द गरिएको छ । कतिपय क्षेत्रमा बिहानी कक्षा चलाइएको छ । 

पर्साको वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थामा फेरि तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेकाले २ असारसम्म सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले बताए । यसअघि वीरगन्जमा १६, १७ र १८ जेठमा  विद्यालयमा गर्मी बिदा दिएको थियो ।

महोत्तरीका अधिकांश स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । यद्यपि, सामुदायिक विद्यालय बन्द रहे पनि निजी विद्यालयले समय छोट्याएर बिहानी कक्षा चलाइरहेका छन् । 

चितवनको भरतपुर महानगरपालिका तथा कालिका, रत्ननगर र खैरेनी नगरपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिइसकेका छन् । भरतपुरले विद्यालयमा मंगलबारबाट शुक्रबारसम्म बिदा दिइसकेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी, पोखरीमा पौडी खेल्ने माछा मार्नेजस्ता कार्यमा संलग्न हुन अभिभावकलाई आग्रह गरिएको छ । माडी नगरपालिकाले बिहानी कक्षा चलाइरहेको छ ।  

कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिकाले पनि गर्मी बिदा दिएका छन् । त्यहाँका अन्य पालिकामा बिहान १० बजेसम्म विद्यालय सञ्चालन भइरहेका छन् । बर्दियामा विद्यालय बन्द छैनन् । तर, गुलरिया र ठाकुरबाबा नगरपालिकाका विद्यालयले बिहानी कक्षा चलाएका छन् ।