एक स्थानमा केही दिनदेखि गौतम बुद्धको प्रवचन चलिरहेको थियो । एक दिन बिहानैदेखि मानिसहरू बुद्धको प्रवचन सुन्न धैर्यपूर्वक प्रतीक्षा गरिरहेका थिए । निर्धारित समयमै बुद्ध मञ्चमा पुगे । उनले आज पहिलोपटक आफ्नो हातमा केही लिएर आएका थिए । उनको हातमा एउटा ठिकै आकारको डोरी थियो । उनी केही नबोली सो डोरीमा गाँठा बनाउन लागे ।
केहीबेरमा बुद्धले सोधे– मैले यस डोरीमा तीन गाँठा बनाएँ । के यो त्यही डोरी हो, जुन गाँठा बाँध्नुपूर्व मेरो हातमा थियो ? उनका एक शिष्यले जवाफ दिए– यसको उत्तर दिन अलि कठिन छ । हामीले कसरी यसलाई हेर्छौं, त्यसमा निर्भर हुन्छ । एकातिरबाट हेर्दा डोरी उही हो । यसमा कुनै परिवर्तन आएको छैन । अर्कातिरबाट हेर्दा यसमा पहिले नभएका तीन गाँठा बनेका छन् । त्यसैले, यसलाई बदलिएको पनि भन्न सकिन्छ । यथार्थमा बाहिरबाट हेर्दा बदलिएको देखिए पनि यो भित्रबाट भने पहिले जे थियो, त्यही नै हो ।
ठीक भन्नुभयो । अब म यी गाँठा खोल्छु । यति भनेर बुद्धले डोरीको दुवै छेउबाट तान्न थाले । अनि, उनले सोधे– यसरी तान्दा डोरीका गाँठा खुल्लान् त ? एक शिष्यले उत्तर दिए– होइन प्रभु, यसो गर्दा त यी गाँठा थप कसिन्छन् र खोल्न झनै मुस्किल हुन्छ ।
बुद्धले पुनः प्रश्न गरे– त्यसो भए गाँठा खोल्न के गर्नुपर्छ त ? अर्का एक शिष्यले भने– ती गाँठा कसरी बाँधिएका छन्, तिनलाई ध्यानपूर्वक हेर्नुपर्छ र खोल्ने प्रयास गर्नुपर्छ । हो, जसरी डोरीमा गाँठो बन्दैमा त्यसको वास्तविक स्वरूपमा बदलाव आउँदैन, ठीक त्यसैगरी मानिसमा केही खराबी देखिँदैमा उसको भित्री असलपनको बीज समाप्त हुँदैन । जसरी ध्यानपूर्वक हेरेर हामी डोरीका गाँठा खोल्न सक्छौँ, त्यसैगरी मानिसका कमी–कमजोरी पनि सुधार्न सक्छौँ । जहाँ जीवन छ, त्यहाँ समस्या पनि हुन्छ । त्यसको मुख्य कारण खोज्न जानियो भने समाधान कठिन छैन ।