१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
२o८१ जेठ ३ बिहीबार १५:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा व्यवसायीको शव फेला, कोदालो प्रहार गरी हत्या भएको आशंका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:३९:oo

सिराहाको अर्नमा गाउँपालिका– १ ब्रह्मपुरी घर भएका व्यवसायीको कोदालो प्रहार गरी हत्या भएको अवस्थामा शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ब्रह्मपुरी गाउँका करिब ५५ वर्षीय बुधराम महतोको शव घरदेखि सात सय मिटर उत्तरमा पर्ने खेतमा बिहीबार बिहान करिब सवा ८ बजेतिर हत्या भएको अवस्थामा भेटिएको हो।

घरबाट बिहान सबेरै खेततिर गएका महतो नफर्किएपछि खोजी गर्दा शव भेटिएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रकृति मुचुल्का उठाई पोस्टमार्टमका लागि शव सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पताल पठाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरिसकेकाले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए। महतोले पछिल्लो केही वर्षदेखि छिमेकी विष्णुपुर चोकमा ग्यास सिलिन्डर र कीटनाशक औषधि तथा बिउबिजनको खुद्रा पसल सञ्चालन गर्दै आएका थिए।

स्थानीय बासिन्दाका अनुसार स्थानीय बचाई महतोसँग मृतक महतोको लामो समयदेखि मोही जग्गाको विवाद चल्दै आएको थियो। अर्नमा गाउँपालिकाका पूर्वअध्यक्ष रही दिवंगत भइसकेका ठकु महतोसँग जग्गा खरिद गरेका बचाईको दुई कठ्ठा जग्गामा मृतक महतोको मोही जग्गा भेटिएपछि त्यही विषयमा चलेको विवाद जिल्ला हुँदै उच्च अदालतसम्म पुगेको स्थानीयले बताए।

महतोको हत्या मोही जग्गा वा अन्य के कारणले भएको हो भन्ने प्रहरीले भने खुलाएको छैन। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेकाले प्रहरी परिचालन गरी २४ घण्टाभित्र पक्राउ गरिने दाबी गर्दै सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

आफ्नो बजारमा व्यवसाय गरिरहेका महतोको हत्या भएपछि तत्काल घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै विष्णुपुर बजार क्षेत्रका व्यापारी व्यवसायीले बिहीबार बिहान करिब १० बजेदेखि तीन घण्टा चोहर्वा–सिराहा खडकखण्डको विष्णुपुर चोकमा नहरनजिक सडकमा टायर बालेर चक्काजाम गरेका थिए।

प्रहरीले घटनामा संलग्न दोषीलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खोलिएको विष्णुपुर बजार व्यापार समितिले जनाएको छ।