१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
उलिसेस अली मेजियास
२o८१ जेठ ७ सोमबार o९:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

उपनिवेशवादलाई चुनौती दिँदै विद्यार्थी आन्दोलन

Read Time : > 2 मिनेट
उलिसेस अली मेजियास
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:५५:oo

अमेरिकाभरिका विश्वविद्यालय गाजामा इजरायल युद्धको विरोध गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनको केन्द्र बनेका छन् । स्थानीय अधिकारी र विश्वविद्यालय प्रशासनले क्याम्पसको सुरक्षा गर्ने र यहुदीद्वेषको सामना गर्ने बहानामा विद्यार्थी आन्दोलनमा तीव्र दमन गरिरहेका छन् । तर, हिंसा र धम्कीको सामना गरिरहेका विद्यार्थी आफ्नो अडानमा कटिबद्ध छन् र प्रदर्शन मत्थर हुने संकेत देखिँदैन ।

विद्यार्थी आन्दोलनमा हामी जे देखिरहेका छौँ, त्यो नयाँ भने होइन । वास्तवमा विद्यार्थी ऐतिहासिक रूपमा उपनिवेशवाद र साम्राज्यवादको प्रतिरोध एवं निन्दा गर्ने मामिलामा अग्रपंक्तिमा छन् । समग्र अमेरिकी महादेशको हिंस्रक उपनिवेशको समय सन् १५३० मा बोलोग्ना विश्वविद्यालयमा स्पेनी विद्यार्थीको समूहले सार्वजनिक रूपमा युद्धलाई अस्वीकार गरेको थियो । यसलाई विद्यार्थी इसाई धर्मको मर्मविपरीत गएको ठानिएको थियो ।

युद्धविरोधी प्रदर्शनले क्याथोलिक चर्चलाई निकै चिन्तित बनाएको थियो । नतिजा तत्कालीन पोपले आदिवासी अमेरिकीको दासत्व र खेदाइ जायज थियो भन्ने दृढ विश्वास राख्ने प्रख्यात स्पेनी पादरी एवं विद्वान् जुआन जिन्स डे सेपुल्भेडालाई शान्तिको माग गर्ने विद्यार्थीलाई युद्धका लागि सहमत गराउन पठाएका थिए । अमेरिकामा परिवर्तनका लागि विद्यार्थी सक्रियता एक शक्तिशाली शक्ति भएको इतिहास साक्षी छ ।

सन् १९२० र १९३० को दशकमा अमेरिकामा जातीय पृथकीकरण एवं नश्लवादविरुद्धको प्रदर्शनदेखि लिएर १९६० को दशकमा युद्धविरोधी प्रदर्शन र १९८० को दशकमा दक्षिण अफ्रिकामा ‘अपर्थाइड’ प्रणालीविरुद्धको धर्नासम्म विद्यार्थी निरन्तर औपनिवेशिकता, सैन्यवाद र अन्यायविरुद्ध उभिएका छन् । आज विद्यार्थी आन्दोलनले गाजामा नरसंहार अन्त्य गर्नुपर्ने पैरवी गर्न जारी राखेका छन् ।

उपनिवेशकका दृष्टिकोणबाट यसरी विद्यार्थी परिचालन हुनु खतरनाक सावित हुन्छ । यही दृष्टिकोणले अमेरिका र केही युरोपेली देशमा विद्यार्थी प्रदर्शनविरुद्ध चलिरहेको हिंसात्मक दमनको व्याख्या गर्छ । यसबाहेक यही दृष्टिकोणले गाजापट्टीका सबै १२ विश्वविद्यालय किन बमले ध्वस्त पारिएका हुन् भनेर पनि व्याख्या गर्न सक्छ ।

विद्यार्थी आन्दोलनले जोड दिएझैँ उच्च शिक्षण संस्थाले सक्रिय रूपमा औपनिवेशिक परियोजनालाई सहजीकरण र समर्थन गरेका छन्
 

तर, विश्वविद्यालय केवल भिन्न मत व्यक्त गर्ने ठाउँ मात्रै हो भनेर सोच्नु मूर्खतापूर्ण हुनेछ । विद्यार्थी आन्दोलनले जोड दिएझैँ उच्च शिक्षण संस्थाले सक्रिय रूपमा औपनिवेशिक परियोजनालाई सहजीकरण र समर्थन गरेका छन् । हार्वर्ड, कोलम्बिया र अन्य धेरै विश्वविद्यालयले गैरकानुनी रूपमा कब्जा गरिएका प्यालेस्टाइनी इलाकामा व्यवसाय सञ्चालन गर्ने एयरबिएनबी, अल्फाबेट (गुगलको मातृ कम्पनी) र इजरायली सेनासँग सम्बन्ध राख्ने अन्य कम्पनीमा लगानी गरेर आफ्नो अनुदान बढाइरहेकै छन् । गाजामा इजरायली युद्धको प्रतिक्रियामा युवा परिचालनको गति गुगल कार्यालयमा पनि पुगेको छ । गुगलमा प्रदर्शन हुनु अप्रत्यासितचाहिँ होइन ।

लगानी निर्णयबाहेक विश्वविद्यालयले विद्यार्थीलाई औपनिवेशिक रणनीति कसरी विकास गर्ने, तिनको रक्षा र कार्यान्वयन कसरी गर्ने भन्ने सिकाएर औपनिवेशिकतालाई अगाडि बढाउन भूमिका खेलिरहेका छन् । युद्ध भूमिकाका लागि विश्वविद्यालयले जनशक्ति तयार गरिरहेका छन्, किनभने विश्वविद्यालय र रक्षा उद्योगबीचको सम्बन्ध पहिल्यैदेखि चर्चामा छ । अहिले आधुनिक युद्धलाई तथ्यांक प्रविधिले साथ दिइरहेका वेला विश्वविद्यालयमा यस सम्बन्धमा नयाँ मार्ग स्थापना भइरहेका छन् । 

स्नातक उत्तीर्ण गरेका जल्दाबल्दा विद्यार्थीलाई नै हेरौँ, ती एन्ड्युरिलजस्ता कम्पनीमा काम गरिरहेका छन् । यो कम्पनीले हालै अमेरिकी सेनासँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सञ्चालित मानवरहित लडाकु हवाई साधन विकास गर्न सम्झौता गरेको छ । यी हतियारले कहाँ र कसरी प्रहार गर्ने भनेर निर्धारण गर्न तथ्यांक प्रयोग गर्नेछन् । यस्ता हतियार र उपकरणले ठूलो हताहती निम्त्याउने गाजामा भइरहेको युद्धले अहिले नै देखाइसकेको छ । इजरायली सेनाले लडाकु विमान र ड्रोनलाई बम प्रहार गर्नका लागि तारो तय गर्न डिजाइन गरिएको एआई प्रणाली लेभेन्डर प्रयोग गर्दै आएको छ । शोधकर्ताका अनुसार यो प्रणालीले विभिन्न तथ्यांक सेट प्रयोग गरिरहेको हुन्छ, जसमा मानिसको मेसेजिङ एप पनि पर्छन् । यी तथ्यांकको प्रयोगले धेरै निर्दोषको ज्यान लिइरहेको छ ।

हामीले कस्तो प्रकारको विश्वविद्यालय शिक्षा (वा कुशिक्षा) प्रदान गरिरहेका छौँ, जहाँ लेभेन्डरजस्तो एआई प्रणाली निर्माण एवं प्रयोग गर्न सक्षम र इच्छुक जनशक्ति निर्माण भइरहेका छन् ? हामी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) क्षेत्रका विद्यार्थीले ‘सेपुल्भेडा’जस्तै विश्वदृष्टिकोण निर्माण गरिरहेका छौँ, जहाँ उपनिवेशलाई बर्बर र दासबाहेक केही होइनन् र तिनको जीवन महत्व छैन भन्ने सिकाइरहेका छौँ । मलाई लाग्छ, मेरा धेरैजसो स्टेम सहकर्मीले नियतवश विद्यार्थीलाई औपनिवेशिक एजेन्डालाई समर्थन गर्न प्रशिक्षण दिइरहेका छैनन्, बरु यी सहकर्मीमध्ये धेरैले यी मुद्दालाई पाठ्यक्रमका लागि सान्दर्भिक विषयका रूपमा हेर्दैनन् ।

साम्राज्यवादी युद्ध र औपनिवेशिकतामा उच्च शिक्षाको जटिलतामाथि प्रश्न उठाउने मामिलामा विद्यार्थीले नेतृत्व लिइरहेका वेला हामीजस्ता प्राध्यापकले यस प्रणालीमा हाम्रो आफ्नै भूमिका निर्माण गर्न आवश्यक छ । हामीले हाम्रो शिक्षामा औपनिवेशिक नियन्त्रण एवं सैन्यवादका साथ विज्ञान तथा प्रविधिलाई जोड्दा नैतिक मुद्दालाई सम्बोधन गर्नुपर्छ ।

विश्वविद्यालयले लामो समयदेखि विद्यार्थीले आलोचनात्मक रूपमा सोच्न र यथास्थितिलाई चुनौती दिन सिक्ने ठाउँका रूपमा आफूलाई निर्माण गरेको भए पनि विश्वविद्यालयले नै औपनिवेशिक प्रभुत्वको संरचनालाई समर्थन गर्दै बलियो बनाएका छन् । हाल क्याम्पसमा भइरहेका आन्दोलन यी दुई भूमिकाबीच तनावको एक अर्को वृद्धि हो । आन्दोलनले उच्च शिक्षाको प्रणालीमा आमूल परिवर्तन त नल्याउला, तर यसले निश्चित रूपमा सही मार्गदर्शन गरिरहेको छ ।
(मेजियास स्टेट युनिभर्सिटी अफ न्युयोर्क, ओस्वेगोका सञ्चार अध्ययनका प्राध्यापक हुन्) अल जजिराबाट

ad
ad