१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ६ आइतबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राथमिकतामै परेन ‘नेप्से ३०’ सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:३८:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर कारोबारको नयाँ सूचकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने प्रक्रिया प्राथमिकतामा पर्न छाडेको छ । गत भदौमा नेप्सेले कार्यविधिसहित सञ्चालक समितिमा पेस गरे पनि ‘नेप्से ३०’ प्राथमिकतामा नै नपरेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

उनले भने, ‘पछिल्लो दुई महिनादेखि सञ्चालक समितिको बैठक बसेको छैन, त्यसभन्दा अघि बसेको भए पनि प्राथमिकतामा राखिएको छैन ।’ नेप्सेले भदौमै नयाँ सूचकांक ‘नेप्से ३०’को आन्तरिक परीक्षण गरिसकेको छ । त्यसका लागि आवश्यक प्राविधिक तथा नीतिगत तयारी पूरा भइसके पनि सञ्चालक समितिले कार्यविधि पारित गर्न बाँकी रहेको उनको भनाइ छ । 

के हो ‘नेप्से ३०’ सूचकांक ?
‘नेप्से ३०’ फ्री फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने एक सूचक हो । सबै सूचीकृत कम्पनीमध्येबाट तोकिएका मापदण्ड पूरा गरेका उत्कृष्ट ३० कम्पनीलाई यसमा समावेश गरिन्छ । यद्यपि, यस इन्डेक्सको छुट्टै सेयर कारोबार भने नहुने प्रस्ताव गरिएको छ । मुख्य इन्डेक्समा हुने कारोबारकै आधारमा यसको गणना गरिनेछ । सर्वसाधारणले ‘नेप्से ३०’ राम्रोसँग बुझेपछि मात्र यसको छुट्टै कारोबार गर्ने नेप्सेको योजना छ । 

बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत्, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रका कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट अनिवार्य रूपमा न्यूनतम एक र अधिकतम आठवटा कम्पनी समावेश गरिनेछ । नेप्सेले तोकेको मापदण्डबाट यसका लागि उत्कृष्ट ३० कम्पनी छनोट गरिनेछ । यसका लागि कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।

साथै, पछिल्लो पाँच आवमध्ये तीन आवमा कम्पनी खुद नाफामा गएको हुनुपर्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । साथै, प्रतिसेयर आम्दानी सोही वर्षको मुद्रास्फीति दरभन्दा बढी हुनुपर्ने सर्त पनि छ । कम्पनीहरूले कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको वा फ्री फ्लोट पुँजीकरण १ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने बताइएको छ । साथै, कम्पनीको सेयरधनी संख्या कम्तीमा २० हजार भएको हुनुपर्ने मापदण्ड छ ।

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत न्यूनतम २५ लाख रुपैयाँको कारोबार भएको हुनपर्नेछ । ६ महिनामा दैनिक औसत न्यूनतम पाँच हजार कित्ताको सेयर कारोबार हुनुपर्नेछ । यसैगरी, पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम ४० पटक कारोबार भएको हुनुपर्नेछ । ६ महिनाको अवधिमा भएका कारोबार दिनहरूमध्ये ७५ प्रतिशतभन्दा बढी दिनहरूमा कारोबार भएको हुनुपर्ने उल्लेख गरिएको छ । 

ad
ad