१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Wednesday, 28 August, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘दिनभर पसिना चुहाउँदा पनि श्रमको मूल्य पाएनौँ’

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo

तातोपानी नपुग्दै लार्चामा चीनले बनाइदिएको शानदार पुल छ । पुल तर्ना साथै तातोपानी भन्सारको सुक्खा बन्दरगाह आउँछ । पुलको गेटबाट भन्सार यार्डसम्म मजदुरको लाइन भेटिन्छ ।निधारबाट बगेको नुनिलो पसिना निल्दै ती मजदुर आफ्नो पालो कुरेर बसेका हुन्छन् । दिनभर भारी उचालेर आउने कमाइले जहान–छोराछोरी पाल्ने एउटा मात्र उद्देश्य छ मजदुरकाे ।

भारी उचाल्ने पालो कुरेर बसेका भोटेकोशी लेकका डुपछिरिङ तामाङले नयाँ पत्रिकासँग भने, ‘कोही भने जहाजमा सरर हाम्रो सधैँ पसिना तरर..., यही हो गणतन्त्र ।’ जनयुद्ध लडेर आएको नेतृत्व प्रधानमन्त्री र अर्थमन्त्री भएको वेला मजदुरको हितमा काम हुनुपर्ने उनले तर्क प्रस्तुत गरे । तातोपानी भन्सारमा ६ सय ४० मजदुर कार्यरत छन् । ती सबै मजदुर नेपाल भन्सार तथा विमानस्थलसम्बद्ध श्रमिक संघमा सदस्य छन् । चीनको जांम पोर्ट (खासा) बाट आयात भएका सामान लोड–अनलोड र पल्टी गर्ने काम मजदुरको हो । १०–१० जनाको समूहमा ६४ समूह छन् । दैनिक ३० ग्रुपले मात्रै काम पाउँछन् । ‘कामका लागि पालो कुर्नुपर्छ । दिन बिराएर काम हात लाग्छ,’ डुपछिरिङले भने ।

स्याउ, लसुन र ओखर पल्टी गरेको ६ हजार र रेडिमेड सामान लोड–अनलोड गरेको आठ हजार पाउँछन् । नेपाल भन्सार तथा विमानस्थलसम्बद्ध श्रमिक संघ तातोपानी भन्सार एकाइका अध्यक्ष रवीन्द्र पौडेल भन्छन्, ‘भूकम्पअघि एक गाडी लोड–अनलोड गरेको १० हजार थियो । तर, अहिले घटेर आठ हजार दिने गरिएको छ ।’ कुनै सामान लोड–अनलोड गर्न ६ देखि आठ घण्टासम्म लाग्छ  । काममा संलग्न १० जनाको समूहले आठ हजार पाउँछन् । त्यसमा पनि सय रुपैयाँ संघ र सय रुपैयाँ नाइकेलाई दिनुपर्छ । ‘कामअनुसारको ज्याला व्यवस्थापन गर्न सके मजदुरकाे रोजीरोटी सहज हुन्थ्यो,’ पौडेलले अनुरोध गर्दै भने, ‘लजिस्टिक कम्पनीहरूले श्रमको मूल्य बढाइदिनुपर्‍यो ।’

भन्सारबाट चेकजाँच, लोड–अनलोड र सिल मारेपछि एक–दुई दिनभित्र रकम दिनुपर्ने मजदुरको माग छ । कतिपय लजिस्टिक कम्पनीले लोड–अनलोड गरेको पारिश्रमिक तीन महिनामा दिने गरेकाले मजदुर मारमा परेको पौडेलले सुनाए । घरबाट आउजाउ, गाडी भाडा र खानाखाजा गर्दा रकम बचाउन कठिन पर्ने मजदुर धनेश पोखरेल बताउँछन् । यहाँ काम गर्ने मजदुर ६ सय भोटेकासी गाउँपालिकाका बासिन्दा र ४० जना बाह्रबिसे नगरपालिकाभित्रका छन् । क्यु सिस्टममा काम गर्ने मजदुरले मासिक १५ हजार कमाउँछन् । १३५औँ मजदुर दिवसको दिन मे १ मा सबै मजदुर भेला भएर श्रमको उचित मूल्य माग गर्न एकताबद्ध हुने अठोट गरेका छन् । सो दिन सबै मजदुरले एउटै थलोमा खाना खाएका थिए ।  

मजदुरको माग सम्बन्धमा लजिस्टिक कम्पनीहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए । ‘भन्सारको काम राजस्व उठाउने हो । तैपनि, हाम्रो निगरानीको क्षेत्र भएकाले मजदुरप्रति हामी पनि संवेदनशील छौँ,’ उनले भने । भूकम्पपछि नाकाले बिस्तारै गति समातेकाले सबै समस्या क्रमशः हल हुँदै जाने उनले प्रस्ट्याए । यद्यपि, लजिस्टिक कम्पनीहरूले तत्काल मजदुरको श्रम मूल्य बढाउन सकिने अवस्था नरहेको बताएका छन् ।

तातोपानी नाकामा राजस्व  क्लियरेन्सको काम भन्सार कार्यालय, गोदाम तथा भवनको सम्पूर्ण व्यवस्थापन नेपाल इन्टरमोडेल यातायात विकास समितिको ठेकेदार कम्पनी ट्रान्स सिल्क टर्मिनल्स प्रालि, हुक एन्ड ड्रप प्रणालीमार्फत सामान आयात ट्रान्सपोर्ट कम्पनी, सामानको जिम्मा लजिस्टिक कम्पनी र लोड–अनलोडमा मजदुर संलग्न छन् ।

सामान ढुवानी गर्ने कन्टेनरले खासाबाट सीधै काठमाडौं सामान लैजाँदा ६ सय मजदुरको रोजगारी खोसिने भएकाले चिनियाँ गाडीले तातोपानी भन्सारमा सामान झार्ने र चेकजाँचपछि नेपाली कन्टेनरले राजधानीसम्म सामान ढुवानी गर्ने प्रणाली कायम राख्न मजदुरले माग गरेका छन् । ट्रान्स सिल्क टर्मिनल्स प्रालिका प्रतिनिधि अनिरुद्र थापाले मजदुर संघका लागि भवन दिएको र आवश्यक सहयोग गर्दै आएको बताए ।