१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

प्यालेस्टाइनको समर्थनमा अमेरिकामा उठ्न थाल्यो विद्यार्थी आन्दोलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:१३:oo

इजरायलले गाजा क्षेत्रमा गरेको बमबारीको विरोधमा अमेरिकाभरिका विश्वविद्यालयमा विद्यार्थी आन्दोलनको लहर उठेको छ । हरेक दिन नयाँ विश्वविद्यालय विद्यार्थी प्रदर्शनको केन्द्र बन्न थालेका छन् । केही स्थानमा प्रदर्शनकारी विद्यार्थी र प्रहरी आमनेसामने हुँदा झडपको स्थिति सिर्जना भएको छ । धरपकडले प्रदर्शनलाई मत्थर पार्नुको साटो बढाउन प्रेरित गरेको छ । विशेषतः प्रहरी धरपकडले अन्यत्रका विद्यार्थीमाझ ऐक्यबद्धताको भावना वृद्धि हुँदा शैक्षिक सत्रको अन्त्यमा प्रदर्शन थप बढ्दै गएको छ । अहिले अमेरिकाको टेक्सासदेखि क्यालिफोर्नियासम्मका विश्वविद्यालय आन्दोलन दबाउन र विश्वविद्यालयलाई विद्यार्थीको क्याम्प बन्न नदिन सक्रिय छन् । 

अधिकांश विद्यार्थी प्रदर्शनकारीले गाजामा जारी इजरायली सैन्य अभियानलाई सघाउने उद्योग व्यवसायमा तिनका विश्वविद्यालयले गरेको लगानी कटौती गर्न (विनिवेश गर्न) माग राखेका छन् । अमेरिकी विश्वविद्यालयमा प्यालेस्टाइन समर्थनमा उठेको विद्यार्थी प्रदर्शन विदेशमा समेत फैलिसकेको छ । त्यहाँको आन्दोलनबाट प्रेरित भएर कायरो (इजिप्ट), पेरिस (फ्रान्स) र सिड्नी (अस्ट्रेलिया)का क्याम्पसमा पनि प्रदर्शन भएका छन् ।

गाजामा जारी इजरायली आक्रमणको विरोधमा उत्रिएका विद्यार्थीलाई निरुत्साहित बनाउन विश्वविद्यालय प्रशासन र प्रहरीले पक्राउ तीव्र बनाउँदा पनि आन्दोलन फैलिरहेको छ
 

 विश्वविद्यालयहरूमा विद्यार्थी प्रदर्शन फैलिन थालेपछि अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेन्टिभ’का सभामुख माइक जोन्सन चेतावनी दिन पछिल्लो विद्यार्थी आन्दोलनको उद्गमस्थल कोलम्बिया विश्वविद्यालय पुगे । (त्यहाँको विश्वविद्यालय प्रशासन पहिलेदेखि विद्यार्थी नेताहरूसँग विश्वविद्यालयको हाताभित्र खडा गरिएका शिविर हटाउन वार्तारत छन्, जहाँको केन्द्रीय क्याम्पसमा प्रदर्शनकारी विद्यार्थीले बनाएका झन्डै ८० वटा शिविर प्रहरीले समेत हटाउन सकेको छैन ।) इजरायल पक्षधर रिपब्लिकन नेता जोनसनले विश्वविद्यालयकी अध्यक्ष नेमत सफिकले तत्काल स्थिति नियन्त्रणमा लिन नसके राजीनामा दिनुपर्ने माग राखे । सफिकले विद्याविद्यालयका यहुदी विद्यार्थीको सुरक्षाको ग्यारेन्टी दिन असफल भएको उनको आरोप थियो । स्थिति साम्य हुन नसके अमेरिकी सेनाको एक शाखा ‘नेसनल गार्ड’लाई बोलाइनुपर्ने बताएका जोनसनले प्रदर्शन नियन्त्रण गर्न नसक्ने विश्वविद्यालयले पाइरहेको संघीय कोष खारेज गर्नेबारे संसद्मा बहस हुने चेतावनी दिए । 

इजरायललाई बलियो समर्थन जनाउँदै आएका रिपब्लिकन सांसदहरूले एक स्वरमा देशका विश्वविद्यालयका प्रशासकले यहुदी विद्यार्थीलाई सुरक्षा दिन पर्याप्त काम नगरेको आरोप लगाउँदै आएका छन् । यस कुरामा डेमोक्य्राट सांसद भने विभाजित छन् । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा अकस्मात आक्रमण गरेपछि सुरु भएको इजरायल–हमास युद्धमा ३४ हजारभन्दा बढी गाजावासीको ज्यान गइसकेको छ ।

गाजामा इजरायली कारबाहीको विरोधमा अमेरिकी क्याम्पसमा भएका प्रदर्शनमा यदाकदा यहुदीप्रति घृणायुक्त भाषण र हमासप्रतिको समर्थन हुने गरेको छ । यसले अमेरिकी राजनीतिक बहस सिर्जना गरेको छ । पछिल्लो समयको सबैभन्दा ठूलोमध्ये एक विरोध प्रदर्शन गत बुधबार युनिभर्सिटी अफ टेक्सास(अस्टिन) मा देखियो । त्यहाँको प्रदर्शन नियन्त्रण गर्न दर्जनौँ दंगा नियन्त्रक प्रहरी उतारिएको थियो । राज्य प्रहरीका प्रवक्ताका अनुसार प्रदर्शनकारी पछाडि हट्न तयार नभएपछि कम्तीमा ३४ जनालाई पक्राउ गरिएको थियो ।

टेक्सास राज्यका गभर्नर ग्रेग एबोटले प्रदर्शन साम्य नभएसम्म गिरफ्तारी जारी रहने बताए । ‘टेक्सासको कुनै पनि सार्वजनिक कलेज वा विश्वविद्यालयमा घृणाले प्रेरित यहुदीविरोधी प्रदर्शनमा सामेल हुने विद्यार्थीलाई निष्कासन गरिनुपर्छ,’ एबोटले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आक्रोश पोखेका थिए । एबोटको पोस्टको केही घन्टाअघि युनिभर्सिटी अफ टेक्सासको डलासस्थित क्याम्पसमा विद्यार्थी आन्दोलनकारीको एक ठूलो समूहले ‘विनिवेश’को माग गर्दै विश्वविद्यालयका अध्यक्षको कार्यालयनजिकै धर्ना दिएका थिए । विश्वविद्यालय अध्यक्ष आन्दोलनकारीसँग भेट्न राजी भएपछि विद्यार्थीले धर्ना परित्याग गरेका थिए ।

उता लस एन्जलसस्थित युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको क्याम्पसको केन्द्रमा बनाइएको झन्डै एक सय प्यालेस्टाइनी प्रदर्शनकारी अट्ने शिविर भत्काउन प्रहरी खाजा खाने समयभन्दा ठीक अगाडि त्यस क्षेत्रमा तैनाथ थिए । प्रदर्शनकारीले प्रहरी तैनाथीलाई ‘लज्जाको विषय’ भन्दै विरोधमा नारा लगाएका थिए । प्रहरीले कम्तीमा एकजना प्रदर्शनकारीलाई भ्यानमा हालेर लगेका थिए, जसलाई पछि रिहा गरिएको थियो ।

सोही विश्वविद्यालयमा सार्वजनिक नीतिकी स्नातकोत्तर विद्यार्थी २६ वर्षीया क्लाउडिया ग्यालियानीले आन्दोलनमा उत्रनुको कारण बताउँदै भनिन् ,‘प्यालेस्टाइनको पक्षमा आवाज उठाएकाले प्रहरी क्रूरता खेपिरहेका कोलम्बिया विश्वविद्यालय तथा देशभरका अन्य क्याम्पसका विद्यार्थीप्रति ऐक्यबद्धता जनाउन म पनि विरोधमा उत्रिएको हुँ ।’ प्रदर्शनकारीलाई आरोपकै लागि यहुदीविरोधी भनिएको पनि उनले बताइन् । 

उता रोड आइल्यान्ड राज्यमा रहेको ब्राउन युनिभर्सिटीमा पनि बुधबार विद्यार्थीले विरोध जनाउन क्याम्पसको मुख्य चौरमा पाल टाँगे । प्रदर्शन आयोजकले गाजाका बालबालिका तथा विद्यार्थीको समर्थन जनाउन आफूहरू विरोधमा उत्रिएको बताए । साथै तिनले शिविर खडा गर्दा विश्वविद्यालय नीति उल्लंघन हुने प्रशासनको चेतावनीको मतलब नभएको पनि बताए । उनीहरू जबर्जस्ती नहटाइएसम्म शिविर नछाड्ने बताइरहेका थिए । ‘गाजावासीले जे भोगिरहेका छन्, त्यसको तुलनामा हामीमाथिको सम्भावित जोखिम एकदमै नगण्य हो,’ विश्वविद्यालय विद्यार्थी संगठनकी नवनिर्वाचित सभापति नियन्ता नेपालले भनिन् , ‘हामीले जे गरेका छौँ, त्यो हामीजस्तो विशेषाधिकार प्राप्त युवाको तर्फबाट गर्न सक्ने न्यूनतम काम मात्र हो ।’ 

केही विश्वविद्यालयका नेतृत्वले तिनको हाताभित्र विरोध प्रदर्शन रोक्ने उद्देश्यले विरोध गर्न पाउने अधिकार नै खारेज गरेका छन् । तिनले विद्यार्थी भेला भए पक्राउ गरिने चेतावनी दिइरहेका छन् । तर, विद्यार्थीलाई चेतावनीले प्रभाव पारेजस्तो देखिँदैन । उनीहरू चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शन गरिरहेका देखिन्छन् । प्रहरी अफिसरहरू भिड–नियन्त्रण रेखा बनाउँदै त्यसवरपर लाठीसहित तैनाथ हुन थालेका छन् । यी दृश्य हेर्दा प्यालेस्टाइनको समर्थनमा अमेरिकी विश्वविद्यालयमा फैलिएका विद्यार्थी आन्दोलन थामिएलाजस्तो देखिँदैन । न्युयोर्क टाइम्सका लागि जे. डेभिड गुडम्यान, जोनाथन वोल्फ, जेना रसेल र डेभिड मोन्टगोमेरीको रिपोर्टिङ

ad
ad