मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका– १० पुरानो गाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार राति १ बजेको समयमा आफैँ चढेको ट्याक्टरबाट खसेका वाइबालाई ट्याक्टरको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
कैलाशको भाल्टारबाट भित्री सडकखण्ड हुँदै पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार वाइबा एक्कासि खस्दा उनलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो ।
कैलाश– ९ मा रहेको अस्थायी प्रहरी पोस्टबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता भण्डारीले बताए । यस्तै, ट्याक्टरका चालक भीमफेदी गाउँपालिका– ९ बागमाराका ३३ वर्षीय वीरमान स्याङ्तानलाई नियन्त्रणमा लिइएको र मृतक वाइबाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।