१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालविरुद्ध सिरिज खेल्न आइपुग्यो वेस्ट इन्डिज

दुई टोलीबीच १५ देखि २२ वैशाखसम्म पाँचवटा टी–२० सिरिज चल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१५:oo

वेस्ट इन्डिजको ‘ए’ टोली नेपालविरुद्ध पाँच अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्न बुधबार काठमाडौं आइपुगेको छ । रोस्टन चेजको कप्तानीमा १२ अनुभवी खेलाडीसहित आएको वेस्ट इन्डिजले सिरिजका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । नेपाल र वेस्ट इन्डिजबीच पहिलो टी–२० खेल १५ वैशाखमा हुनेछ । त्यसपछि १६ वैशाख, १९ वैशाख, २० वैशाख र २२ वैशाखमा हुनेछ । नेपालले तेस्रो टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले जिम्बावे र आयरल्यान्डको ‘ए’ टोलीविरुद्ध प्रतिस्पर्धा गरिसकेको छ । 

नेपालले गत वर्ष जिम्बावेमा भएको एकदिवसीय ग्लोबल विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल र वेस्ट इन्डिजले सिरिजलाई आइसिसी टी–२० विश्वकपको तयारीका रूपमा लिएका छन् । आगामी जुन–जुलाईमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् ।

वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले नेपाल भ्रमणले विश्वकपका लागि खेलाडी छनोट गर्न सहज हुने बताएका छन् । यसैगरी, नेपालको ‘ए’ टोलीका प्रशिक्षक कलाम अलीले अनुभवी टेस्ट राष्ट्रविरुद्ध खेल्दा खेलाडीले थप एक्सपोज प्राप्त गर्ने जनाएका छन् । ‘यस सिरिजले विश्वकपअगाडि हाम्रा खेलाडी एक्सपोज हुन पाउनेछन्,’ अलीले भने । वेस्ट इन्डिजले नेपालविरुद्ध ‘ए’ टोली पठाए पनि खेलाडीहरू निकै अनुभवी छन् । यसमा सन् २०१२ र २०१६ को टी–२० विश्वकपदेखि टेस्ट खेलेका खेलाडी छन् । नेपाली टोलीले गत शनिबार ओमानमा एसिसी प्रिमियर कप खेलेको थियो । हङकङसँग तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको थियो ।  

नेपालविरुद्ध वेस्ट इन्डिजले प्रमुख खेलाडी नै पठाएको छ । जसमा रोस्टन चेज (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेस मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स रहेका छन् ।

 क्यान व्यवस्थापनको आलोचना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजको स्वागत तथा फितलो व्यवस्थापनबारे क्यानको आलोचना भएको छ । क्यानले खेलाडीको लगेज (सामान) बोक्न पठाएको सवारीसाधनको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । लगेज ओसार्न पिकअप भ्यान विमानस्थलमा पठाएको थियो । खेलाडीहरूलाई सोल्टी होटेलमा राखिएको छ । 

सम्भावित नेपाली टोली
क्यानले वेस्ट इन्डिजविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छैन । तर, क्यानले आगामी शनिबारदेखि सुरु हुने टी–२० सिरिजका लागि ओमानमा भएको एसिसी प्रिमियर कपमा सहभागी खेलाडीलाई वेस्ट इन्डिजको ‘ए’ टोलीविरुद्ध उतार्ने सम्भावना छ । ‘ओमानमा प्रतिस्पर्धा गरेका खेलाडीले पहिलो प्राथमिकता पाउन सक्छन्,’ क्यानका एक सदस्यले भने । प्रिमियर कपमा कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशी र अविनाश बोहराले प्रतिस्पर्धा गरेका थिए । 

आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई
नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार क्षेत्रीय विजेताको सूची सार्वजनिक गर्दा नेपालले एसिया क्षेत्रअन्तर्गत डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको हो । आइसिसीले विभिन्न विधामा २१ राष्ट्रलाई अवार्ड प्रदान गरेको छ । अफ्रिकामा नामिबिया, अमेरिकामा बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एसियामा इन्डोनेसियाले यो अवार्ड हात पारेका छन् । 

आइसिसीका २१ एसोसिएट राष्ट्रले मैदानभित्र र बाहिर एक वर्षमा गरेको गतिविधिअनुसार आइसिसीले मनोनयन गरेको हो । मनोनयनमा २१ राष्ट्रलाई क्षेत्रअनुसार डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर, वुमन क्रिकेट इनिसिएटिभ अफ द इयर, डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर, क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर र उत्कृष्ट अन फिल्ड अवार्ड विधामा अवार्ड वितरण गरिएको हो । अब नेपालले ग्लोबल अवार्डका लागि सबै क्षेत्रीय विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो भेट विश्वकप छनोटमा
वेस्ट इन्डिज र नेपालले आधिकारिक रूपमा २२ जुन २०२३ मा जिम्बावेमा एकदिवसीय विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गरेका थिए । समूह ‘ए’मा वेस्ट इन्डिजले ५० ओभरमा सात विकेट गुमाएर ३३९ रन बनाएको थियो । नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रन जोडेको थियो । सो खेलमा नेपाल १०१ रनले पराजित भएको थियो ।

 नेपाल भ्रमणमा आएका खेलाडीमध्ये जोनसन चाल्र्स, रोभमान पावेल, किमो पाउल र रोस्टन चेज ग्लोबल छनोटमा समेत थिए । ग्लोबल छनोटमा चाल्र्स शून्यमा आउट भएका थिए भने पाउलले १ तथा पावेलले १४ बलमा २९ रन जोडेका थिए । नेपालविरुद्ध चेजले तीन ओभरमा ९ रन खर्चिए । पाउलले ६३ रन दिएर दुई विकेट लिए । वेस्ट इन्डिजको सिनियर टोलीविरुद्ध नेपालका आरिफ शेखले ९३ बलमा ६३ रन बनाएका थिए । गुल्सन झाले ४२ तथा करण केसीले २८ रन 
बटुलेका थिए । 

ad
ad