१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o७:oo

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष सेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । 

कतारका राजा मिर सेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष सेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ । 

तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु भएको महासंघले जनाएको छ । नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ ।

खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तुलगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरी, पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ । 

परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् । ‘यस सम्झौताले आगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष सेख खलिफा विन जसिम अल थानीले भने । 

यसैगरी महासंघ अध्यक्ष ढकालले परिषद्ममार्फत थप सहकार्यका लागि काम गरिने बताए । ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ,’ उनले भने, ‘परिषद्को स्थापना पछि नेपालको जल विद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ ।’ 

यसैगरी, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष सेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे । उक्त सम्झौता पनि कतारका अमिर सेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन् २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् । 

ad
ad