१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शैक्षिक गुणस्तर वृद्धिका लागि कक्षा घटाउँदै बागलुङ नगरपालिका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o४:oo

पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । बढ्दो बसाइँसराइ र सहरी क्षेत्रको रोजाइका कारण सामुदायिक विद्यालयमा विद्यार्थीका संख्या घट्दै गएपछि जिल्लाको बागलुङ नगरपालिकाले विद्यालय स्थगन तथा विद्यालयको कक्षा घटाएको छ।

नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका निम्ति यो अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका  १४ वटा वडामा चार विद्यालयलाई स्थगन गर्नुका साथै ३१ विद्यालयको कक्षा घटाएर तह मिलान गरेको हो । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै लिड विद्यालय, आवासीयसहितको विद्यालय र बिग विद्यालयको अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको हो ।  

विद्यार्थी संख्या नभएका विद्यालयहरूमा जनशक्ति केन्द्रित हुँदा पठनपाठनमा गुणस्तरीयता कायम गर्न नसकिएको भन्दै विद्यालय स्थगन तथा तह घटाउने निर्णयमा पुगेका बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका– ९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि स्थगन गरिएको छ । त्यस्तै, लक्ष्मीनारायण संस्कृत पाठशाला बानपा– १३ र कालीगण्डकी प्रावि बानपा– १२ पनि यसअगाडि नै स्थगनमा गएको हो ।

३१ विद्यालय तह मिलान
 विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको संख्या घट्ने अवस्थामा विद्यार्थीको संख्याका आधारमा कक्षा सञचालन गर्दा गुणस्तरमा वृद्धि हुने, विद्यार्थी संख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

नगरपालिकाले दुई वर्षसम्म गरेको विद्यालयको अध्ययनअनुसार विद्यालय तह मिलान कार्यविधिअन्तर्गत तह मिलान गरिएको श्रेष्ठको भनाइ छ । ‘१३औँ नगर सभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो,’ नगरप्रमुख श्रेष्ठले भने ‘तह घटाउँदा एक घण्टा हिँड्नैपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विद्यार्थी भई घरनजिकै वैकल्पिक विद्यालय भएका विद्यालय छनाेट गरेर तह घटाइएको छ, तह घटाउँदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी संख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।’ 

तह घटाएका ठाउँमा बालविकास केन्द्र सञ्चालन
तह घटाइएपछि बालविकास केन्द्र सञ्चालन हुने विद्यालयको संख्या आठ, बालविकास केन्द्र र कक्षा एक मात्र सञ्चालन हुने विद्यालयहरू ११, कक्षा एक मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा एकदेखि तीनसम्म सञ्चालन हुने विद्यालय पाँच, कक्षा एकदेखि चारसम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म सञ्चालन हुनेछ ।

नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अंग्रेजीमा पठनपाठन गराउने गरी तह मिलान गर्न थालेको नगर उपप्रमुख राजु खड्काले बताए । खड्काका अनुसार जनसंख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयहरूमा क्रमशः घट्दो जनसंख्या, बसाइँसराइ, संस्थागत विद्यालयमा आकर्षणजस्ता कारण विद्यालयमा विद्यार्थीको संख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो ।

नगरपालिकाले टाढाका विद्यार्थीलाई आवासीयसहितको विद्यालय बनाउने र गुणस्तरीय शिक्षामा जोड दिनका लागि एकीकृत विद्यालयको अवधारणा ल्याइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए । ‘कतै शिक्षकले विद्यालय कुर्नुपर्ने त कतै विद्यार्थीले शिक्षक नपाउने अवस्था हाम्रो नगरमा आयो, एक हजार तीन सय विद्यार्थी भएको विद्यालय, जिल्लाकै नमुना विद्यालय हाम्रै नगरभित्र छन्, तर एउटा–दुईजना विद्यार्थी पढाएर शिक्षक बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ, त्यहाँका विद्यार्थीलाई आवासीयसहितको सुविधा दिन सकिन्छ,’ पोख्रेले भने, ‘तत्कालै स्थगन गरिएका र तह घटाइएका विद्यालयमा विद्यार्थी संख्या बढेमा पुनः विद्यालय सञ्चालनमा ल्याउन सकिने र तह बढाउन सकिन्छ, अहिले स्थगन गरिएका दुई विद्यालयलाई वार्षिक दुई लाख अनुदान दिइनेछ, जसबाट त्यहाँका विद्यार्थी नजिकको विद्यालयमा पठाउन सहजीकरण हुनेछ ।’

विद्यार्थीको संख्या वृद्धि भए पुनः सञ्चालनमा ल्याउने
विद्यालय स्थगन र तह मिलानपछि धेरै हुन आउने शिक्षकहरूलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम बताउँछन् । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाइबाट वञ्चित हुने बालबालिकालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाइएको गौतमले जानकारी दिए । नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर संख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । 

नगरपालिकाले यो अभियान सञ्चालन गरेसँगै वडा तहबाट विद्यालयको संख्या नघटाउन दबाब आएको छ । दबाब आए पनि नगरपालिकाले गरेको निर्णय कार्यान्वयन हुने नगरप्रमुख श्रेष्ठले बताए । स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाइ तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रूपमा प्रयोगमा ल्याइनेछ । 

दिवाखाजामा अब २० रुपैयाँ
अनुगमन समितिले तय गरेको मापदण्डबमोजिम विद्यालय स्थगन भई विद्यार्थी जाने विद्यालयका लागि बढीमा दुई लाख र तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा बढीमा २५ हजारको दरले एकपटकका लागि अनुदान दिइनेछ । यस्तै, नगरपालिकाले नेपाल सरकारले दिवाखाजाका लागि दिने १५ रुपैयाँमा नगरले पाँच रुपैयाँ थप अनुदान निकासा दिनेछ । यसो गर्दा दिवाखाजामा मात्रै नगरपालिकाको वार्षिक ५० लाख अतिरिक्त खर्च हुनेछ । 

ad
ad