१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

२९१ ठाउँमा डढेलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३o:oo

वर्षा नहुँदा वनजंगलमा डढेलो बढेको छ । पूर्वी क्षेत्रभन्दा मध्य र तराई, पहाडमा डढेलो बढेको हो । नासाले भूउपग्रहबाट लिएको तस्बिरलाई आधार मानेर विश्लेषण गरेको तथ्यांकअनुसार नेपालमा २४ घण्टामा दुई सय ९१ ठाउँमा डढेलो लागेको छ । यो तथ्यांक कम्तीमा एक किलोमिटरमा फैलिएको डढेलोको हो ।

सबैभन्दा बढी सुर्खेतमा ३१ ठाउँमा डढेलो लागेको छ । त्यस्तै, सल्यानमा २८, दाङमा २४, बाँकेमा २१, डडेल्धुरामा १९ र बर्दियामा १७ ठाउँमा डढेलो लागेको छ । गुल्मी र पाल्पामा १६–१६, कपिलवस्तुमा १० तथा डोटी र कैलालीमा नौ–नौ ठाउँमा डढेलो लागेको छ । आइतबार कैलालीको चिसापानी क्षेत्रको वनमा ठूलो डढेलो सल्किएको थियो, त्यहाँको चुरे क्षेत्रमा केही दिनदेखि डढेलो लागेको छ । 

डढेलो बस्तीमा पस्दा वृद्धाको मृत्यु, नौ घर जले
रुकुम पश्चिम र रामेछापमा वन डढेलो बस्तीमा पसेको छ । नौ घर जलेका छन् । रुकुम पश्चिम बाँफीकोट गाउँपालिका– ३ स्थित ढारपाखा सामुदायिक वनको डढेलो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । घरमा आगो सल्किएपछि सरसामान निकाल्ने क्रममा जलेर कामीको मृत्यु भएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिए ।

आगलागीबाट बुदीसहित युवराज विक र अनन्ते सार्कीको घर जलेका छन् । त्यस्तै, रामेछाप नगरपालिका– ३ साँघुुटारस्थित ठाडाखोलानजिकै जंगलको डढेलोे बस्तीमा पस्दा ६ घर जलेका छन् । स्थानीय दीर्घमान श्रेष्ठको तीन, खड्गबहादुर कुमालको दुईवटा घर र एउटा वस्तुु बाँध्ने मतान गरी ६ वटा घर जलेर नष्ट भएको रामेछाप नगरपालिका– ३ का वडाध्यक्ष दलबहादुर प्रधानले जानकारी दिए । बस्तीनजिकै रहेको जंगलमा लागेको आगो हावाको वेगसँगै बस्तीमा पस्दा घर जल्न पुुगेको हो । आगो निभाउने क्रममा दीर्घमान श्रेष्ठ घाइते भएका छन् । आगलागीमा परी खड्गबहादुरले पालेका ६० वटा बोइलर कुुखुरा पनि जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएको सबै लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, नगद सबै जलेर नष्ट भएको छ ।

 आगलागीले एकै गाउँका २४ घर जले
सप्तरीको कञ्चनरूप नगरपालिका– ५ पडेमारामा आइतबार दिउँसो आगलागी हुँदा १२ परिवारका २४ घर जलेका छन् । आइतबार अपराह्न लालमोहन सरदारको गोठमा रहेको चुलोमा बालेको आगोबाट सल्किएको आगोले टोलभरका घर जलाएको हो । हावा चलेपछि आगो सल्किएको हो ।

आगलागीबाट लालमोहनको टिनको छाना भएको चारवटा घर, बिजुली सरदारको तीनवटा, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, वीरबहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार र बुटु सरदारका दुई–दुईवटा तथा त्रिभुवन सरदार, करण चौधरी र समुद्री सरदारका एक–एकवटा गरी २४ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । कञ्चनरूप, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीका गरी चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दिउँसो करिब साढे ४ बजे आगलागी नियन्त्रणमा आएको थियो ।

ad
ad