
जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले चढ्न पाउने
ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न जाने जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले अब इलेक्ट्रिक गल्फ कार्ट अर्थात् (विद्युतीय अटोजस्तै सवारीसाधन) चढ्न पाउने भएका छन्। ललितपुर महानगरपालिकाले चिडियाखानालाई दुईवटा इलेक्ट्रिक गल्फ कार्ट हस्तान्तरण गरेको हो।
शुक्रबार चिडियाखानामा आयोजित कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जनले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव सरदचन्द्र अधिकारीलाई गल्फ कार्ट हस्तान्तरण गरे। मेयर महर्जनले चिडियाखाना ललितपुर महागरको सौन्दर्य रहेको र यहाँ आउने जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको सहजताका लागि गल्फ कार्ट प्रदान गरिएको बताए।
लगत्तै, उक्त गल्फ कार्टमा सवार भएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र जेष्ठ नागरिकहरूले चिडियाखानाको अवलोकन गरेका थिए। ललितपुर महानगरले चिडियाखानामा रहेको ‘महाराजा’ नामक बाघको अभिभावकत्व ग्रहणसमेत गरेको छ। बाघलाई खाना खुवाउन महानगरले बजेट उपलब्ध गराउँदै आएको छ, उक्त अभिभावकत्वलाई महानगरले निरन्तरता दिएको छ।