१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका सल्लेरी (सोलुखुम्बु)
२o८१ बैशाख १९ बुधबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सल्लेरी (सोलुखुम्बु)
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५o:oo

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान– २०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो ।

१२ जना नेपाली सेना र एकजना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुईजना भने आपतकालीन जनशक्तिका लागि नाम्चेमै रहने रणसुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्डविक्रम भारतीले जानकारी दिए ।

‘दुईजना आपतकालीन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमबीच बिदाइ गर्‍यौँ, यो टोली सगरमाथा आधार शिविरतर्फ अघि बढेको हो,’ उनले भने । यही वैशाख २ गते सेनाको हेलिकोप्टरमार्फत स्याङ्बोचे ओर्लिएको उक्त टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो ।

सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तरसंवाद गर्दै करिब सात दिनको पदयात्रापश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताए । पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचारप्रसारका लागि पदमार्गको सरसफाइसमेत गरिनेछ ।

एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल विषयका साथ सञ्चालन हुन गइरहेको यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर संकलनको लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ । यसअघि गत बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको थालनी गरेको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघलगायतका संघसंस्थाको प्राविधिक सहयोग रहेको छ ।

संकलित फोहाेरमध्ये सड्ने फोहाेर स्थानीय निकायहरूलाई र नसड्ने फोहाेर रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनका लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाकोे विश्वास छ ।     
  
 

ad
ad