मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Wednesday, 19 February, 2025
२o८o चैत ३० शुक्रबार १३:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १३:१९:oo

शारीरिक रूपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन। उनी इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र घर फर्कने गर्छन्। धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपर्थ्याे। 

युवा इन्जिनियर सुनील परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो। परियारको अनुसन्धान समूहले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हाे। शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए। उनले भने, ‘नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ।’

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला (ल्याब) सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेकाे छ। नौ वर्षदेखि ह्विलचियर निर्माण र मर्मतको काम गरेका सुनील परियार नेपालको वातावरणमैत्री ह्विलचियर निर्माण अभियानमा छन्। विद्यार्थीलाई पनि ह्विलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उनले बताए।

‘विभिन्न डिजाइनका ह्विलचियरबारे अध्ययन गरेर अपांगता भएका व्यक्ति, अस्पताल र संघसंस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ,’ उनले भने, ‘ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्विलचियर उत्पादन गर्छ।’ सबै अपांगता भएका नागरिकलाई सरकारले निःशुल्क ह्विलचियर  उपलब्ध गराउनुपर्ने उनको जोड छ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताए। केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्विलचियर निर्माण गरिरहेको बताए। दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इन्जुरीका बिरामीलाई ह्विलचियरको आवश्यकता पर्ने केसीको भनाइ छ। 

उनले भने, ‘ह्विलचियर नपाएमा स्पाइनलकर्ड इन्जुरीको बिरामी शय्यामा नै हुन्छ। शरीरमा रक्त प्रवाह राम्रो हुँदैन।’ उनले अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्विलचियर उत्पादनको काममा लागेको बताए। 

इन्जिनियर सुनीलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्विलचियर उत्पादन सुरु गरे। उनले ह्विलचियरबारे जनचेतनामा कमी र ह्विलचियरमैत्री वातावरण नरहेकोे बताए। 

‘ह्विलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ,’ उनले भने, ‘अपांगता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्विलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ।’

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताए। उनले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताए। रासस