१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वायु प्रदूषणको रेडजोनमा काठमाडौं 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२३:oo

तुवाँलोमा आगलागी र डढेलोको धुवाँ मिसिँदा नेपालमा वायु प्रदूषण उच्च भएको छ । अझ काठमाडौं उपत्यकाको हावा झन् खराब स्थितिमा पुगेको छ । वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले दक्षिण एसिया नै डढेलोको चपेटामा रहेका वेला नेपाल पनि अछुतो रहन नसकेको बताए । ‘काठमाडौंमा वायु प्रदूषण उच्च छँदै छ । त्यसमा डढेलोको हावा पनि मिसिएको हो,’ उनले भने, ‘तराईमा पनि तुवाँलो छ । प्रदूषण ह्वातै बढेको डढेलोले हो ।’

वायुको गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’का काठमाडौंको आकाशमा वायुमा पार्टिकुलेट म्याटर (पिएम) २.५ भनिने आँखाले देख्न नसकिने र रौँभन्दा पनि साना धुलोको कण प्रतिघनमिटर २०० देखि ३०० सम्म पुग्ने गरेको छ । 

५० देखि १०० सम्मको स्थितिलाई सामान्य मानिन्छ । १०० देखि १५० सम्म भएमा बालबालिका, रोगीलगायत समूहका लागि अस्वस्थकर मानिन्छ । हावामा पिएम २.५ को मात्रा १५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर र २०० भन्दा बढी भएमा जनस्वास्थ्य संकटकालको अवस्था मानिन्छ ।

यद्यपि, आइतबारभन्दा सोमबार भने केही सुधार भएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुका कारण थोरै हावा चलेका कारण सोमबार काठमाडौंको वायु गुणस्तरमा केही सुधार आएको हो । उनले भने, ‘तैपनि प्रदूषणको मात्रा हानिकारक नै छ, आकाश छ्यांग हुन ठूलो हावा चल्नुपर्छ वा पानी पर्नुपर्ने हुन्छ । अहिले तुवाँलोमा डढेलोका कण पनि मिसिएका छन् । त्यसबाहेक काठमाडौंमा ढल र फुटपाथमा टायल बिछ्याउन धेरै ठाउँमा खनिएकाले पनि धुलो बढेको छ ।’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदूषण कम हुन समय लाग्ने देखिन्छ । तत्काल ठूलो वर्षा नहुने र तातोहावा चल्ने जोखिम रहेको उनले बताए ।

ad
ad