१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आफूमाथि विश्वासको परिणाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:o६:oo

बीसौँ शताब्दीको सुरुवाततिर अमेरिकामा एक युवकलाई व्यापारमा ठूलो घाटा लाग्यो । घर, जमिन सबै धितो राखेर ऋण लिनुपर्‍यो । उनी निकै हतास भए । सहयोग गर्ने कोही भएनन् । एक दिन उनी पार्कमा बसिरहेका थिए । त्यत्तिकैमा त्यहाँ एक वृद्ध पुगे । वृद्धले ती युवकलाई चिन्ताको कारण सोधे । युवकले सबै व्यथा सुनाए । वृद्धले आफूलाई अमेरिकाका निकै धनी मानिस जोनका रूपमा परिचय दिँदै भने— म तिमीलाई १० लाख डलर ऋण दिन्छु । आजको ठीक एक वर्षपछि म यसै ठाउँमा आउनेछु, त्यतिखेर तिमीले मेरो ऋण फिर्ता गर्नुपर्छ । यति भनेर युवकलाई १० लाख डलरको चेक दिएर वृद्ध आफ्नो बाटो लागे । 

युवकले केही भन्नुपहिल्यै ती वृद्ध त्यहाँबाट गायब भइसकेका थिए । युवक खुसी हुँदै घर फर्किए । १० लाख डलरबाट उनका समस्याको समाधान हुने थियो । तर, उनलाई अचानक लाग्यो– एउटा अपरिचित मानिसले ममाथि विश्वास गरेर यति ठूलो रकम ऋण दिइरहेको छ । म भने आफैँमाथि भरोसा गर्न नसकेर अर्काले दिएको ऋणको भर परिरहेको छु । 

यस्तो सोचेर उनी त्यो चेक नसाटी सुरक्षित राखेर रातदिन परिश्रम गर्न थाले । केही समय परिश्रम गर्दा पनि केही लागेन भने मात्र त्यो चेक साट्ने उनको विचार थियो । तर, उनको परिश्रमले उनलाई बिस्तारै सफलताको बाटो देखाउन थाल्यो र एक वर्षभित्रमा उनले सम्पूर्ण ऋण चुक्ता गरेर राम्रै बचत पनि गरे । 

एक वर्षपछि तोकिएको दिन र समयमा उनी त्यही पुरानो चेक बोकेर पार्कमा पुगे । एकैछिनमा ती वृद्ध पनि त्यहीँ आइपुगे । युवकले वृद्धलाई धन्यवाद दिँदै चेक फिर्ता गर्नै आँटेका थिए । एउटी नर्स हतारिँदै आएर ती वृद्धलाई तान्न थालिन् । उनले भनिन्– जहिल्यै पागलखानाबाट भाग्छन् र म जोन हुँ भन्दै सबैलाई चेक बाँड्दै हिँड्छन् । 

नर्सको कुरा सुनेर युवक झनै आश्चर्यमा परे । जुन चेकको बलमा परिश्रम गरेर उनले आफ्नो अवस्था सुधारेका थिए, त्यो त नक्कली पो रहेछ । आफूमाथि विश्वास गर्ने हो भने सफलता हात पार्न कठिन नहुने रहेछ भन्ने उनले बुझे ।

ad
ad