१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचन र राष्ट्रिय सभा उपाध्यक्ष चुनावमा पाँच दल पाँचतिर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२९:oo

बहुमतका लागि संसदीय अंकगणितको बाध्यताले एकै ठाउँ रहेका सत्तारूढ पाँच दल राष्ट्रिय सभा उपाध्यक्ष र उपनिर्वाचनमा भने तितरबितर छन् । सत्ता सहकार्यमा समझदारी देखिए पनि अन्य राजनीतिक मुद्दा र चुनावी मैदानमा भने उनीहरूबीच तालमेल देखिएको छैन । राष्ट्रिय सभा उपाध्यक्ष र इलाम २ मा भने एमाले र माओवादीको सहकार्य छ । 

शीर्ष तहमा केन्द्र र प्रदेश सरकारका विषयमा मोटामोटी समझदारीबाहेक अन्य एजेन्डामा गठबन्धनमा समझदारी छैन । सोही कारण पाँच दल आ–आफ्ना उम्मेदवारसहित प्रतिस्पर्धाको तयारीमा छन् । मंगलबार राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन मनोनयन र बुधबार चुनाव हुँदै छ । १५ वैशाखमा इलाम र बझाङ प्रदेश सभा ‘ख’मा उपनिर्वाचन हुँदै छ । पाँच दलबीच साझा सहमति नजुटेपछि राष्ट्रिय सभा र उपनिर्वाचन दुवैतिर सत्तारूढ दल प्रतिस्पर्धाकै अन्तिम तयारीमा छन् । 

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले शीर्ष तहमा भएको समझदारीअनुसार सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । तर, उपाध्यक्षमै एकीकृत समाजवादीले पहिलेको सकारात्मक कुराकानीअनुसार आफूले पाउनुपर्ने दाबी छाडेको छैन । उपाध्यक्ष बेदुराम भुसालले एमालेले पनि उम्मेदवारी दिने निर्णय गरेपछि आफ्नो पार्टीले पाउने सकारात्मक कुराकानी अहिले अन्योलमा परेको बताए । ‘राष्ट्रिय सभाको उपाध्यक्ष पहिले हामीले नै पाउने गरी कुराकानी भएको हो । तर, पछि एमालेले उम्मेदवारी दिने नै कुरा आयो । कुरा चल्दै छ, मंगलबारसम्म के हुन्छ, अहिल्यै भन्न सकिँदैन,’ उनले भने । 

उपचुनावमा अलग–अलग प्रतिस्पर्धा गर्ने स्थिति आएकाले सत्तासमीकरण र सहकार्य भए पनि अहिलेको परिस्थितिलाई सबैले आ–आफ्नै ढंगले बुझ्ने र विश्लेषण गरिरहेको उनले बताए । ‘केन्द्रीय र केही प्रदेश सरकारमा बाहेक अरू केही पनि सहमति भएको छैन । निर्वाचनको प्रतिस्पर्धाको स्थितिले सबैलाई आ–आफ्ना ढंगले विश्लेषण गर्ने छुट छ,’ भुसालले भने ।

राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने शीर्ष सहमतिअनुसार नै आफ्नो पार्टीले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । ‘हामीले शीर्ष सहमतिअनुसार नै उम्मेदवारी दिन लागेका हौँ,’ दाहालले भने, ‘त्यसअनुसार हामी उपाध्यक्षमा उम्मेदवार मनोनयन गराउँछौँ ।’ 

अध्यक्षमा मतदान गरेर सहयोग गरेका कारण राष्ट्रिय सभा उपाध्यक्षमा एमालेलाई माओवादीले सहयोग गर्ने तयारी गरेको छ । सत्तारुढ तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । अर्को दल जसपाले कुनै निर्णय गरिसकेको छैन । 

एकीकृत समाजवादीले अन्तिमसम्म सहमतिकै लागि कोसिस गर्ने र नभए उम्मेदवारीबारे अन्तिममा एउटा निर्णयमा पुग्ने नीति लिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष भुसालले पार्टीले मंगलबार नै त्यसबारे निर्णय लिने बताए । 

उता, इलाम– २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सत्तारुढ पाँच दलभित्र एमाले र माओवादीबीच मात्रै कुराकानी मिलेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादीले सहयोग गर्ने निर्णय लिए पनि उसले बझाङ ‘ख’को प्रदेश सभा सदस्यमा भने आफ्नै उम्मेदवार उठाएको छ । 

बझाङ ‘ख’मा एमालेबाट दमनबहादुर भण्डारी र माओवादीबाट जनक बुढाले उम्मेदवारी दर्ता गराइसकेका छन् । माओवादीले बझाङमा सहयोग गर्न आग्रह गरे पनि आफ्नो स्थिति मजबुद रहेकाले जितको सम्भावना भएको भन्दै इलाममा सहयोग गरेबापत उम्मेदवारी फिर्ता नलिने बताउँदै आएको छ । 

उता, इलाम र बझाङ दुवैतिर नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएको छ । इलाममा जितबहादुर राईलाई उम्मेदवार बनाएको उसले बझाङमा दिलबहादुर सिंहलाई उठाएको छ । इलाममै अर्को सत्तारुढ तेस्रो ठूलो दल रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्रदेश सभामा भने दल दर्ता नभएकाले उसले उम्मेदवारी दिएको छैन । 

महामन्त्री मुकुल ढकालले सरकार र निर्वाचन फरक मोर्चा हो भन्ने पार्टीको बुझाइ र सरकारमा रहेका दलहरूसँग कुराकानी गरेरै आफ्नो पार्टी प्रतिस्पर्धामा उत्रिएको बताए ।  ‘सरकार र निर्वाचन फरक मोर्चा हो, हामीले सहकार्य गर्ने वेला नै यो कुरा स्पष्ट पारेका थियौँ,’ ढकालले भने, ‘त्यसैले हामी इलामको चुनावमा मित्रवत् ढंगले प्रतिस्पर्धा गर्नेछौँ ।’

अर्को सत्तारुढ दल जसपाले पनि बझाङमा रामबहादुर जाग्रीलाई उम्मेदवार उठाएर अलग प्रतिस्पर्धा गर्ने भएको छ । जसपाले भने इलाममा पहिचानवादी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताएको छ । 

समाजवादी मोर्चामा सामेल नहुने एमाले नीति 
एमालेले समाजवादी ध्रुवीकरणको उद्देश्यसहित माओवादी, नेकपा एस, जसपा र नेकपासमेत सामेल समाजवादी मोर्चामा तत्काल सामेल नहुने, तर आपसी संवाद र अन्तक्र्रियामा बस्ने नीति लिएको छ । नयाँ समीकरण फेरिएलगत्तै मोर्चामा आबद्ध नेताहरूले एमालेलाई समेत सामेल गरेर मोर्चा विस्तारको प्रयास गरेपछि उसले यस्तो नीति अख्तियार गर्ने जानकारी दिएको हो । एमाले अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवादपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्दले एमाले तत्काल मोर्चामा सामेल नहुने बताउँदै आएका छन् । 
 

ad
ad