१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २७ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २७ मंगलबार o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुक्खासँगै बढ्यो आगलागी र डढेलो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २७ मंगलबार o६:१५:oo

डोल्पामा डढेलो निभाउन गएका सैनिकको मृत्यु, बारीमा लगाएको आगोमा परी धनकुटामा बालकको मृत्यु

मुलुक आगलागी र डढेलोको चपेटामा परेको छ । बदली र वर्षाका कारण झन्डै डेढ साता कम भएको डढेलो फेरि बढेको छ । पछिल्लो २४ घण्टामा मात्र ४३ ठाउँमा आगलागी भएको छ । वनजंगलका सयौँ ठाउँमा डढेलो सल्किएको छ ।

प्रहरीका अनुसार २४ घण्टामा आगलागी र डढेलोमा परी दुईजनाको ज्यान गएको छ । डोल्पामा डढेलो निभाउन गएका एक सैनिकले ज्यान गुमाएका छन् भने धनकुटामा बारीमा लगाइएको आगोमा परी एक बालकको मृत्यु भएको छ । 

डोल्पास्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका देवीदत्त गुल्म ‘क’ मा कार्यरत सिपाही हेमन्त रावलको मृत्यु भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । डढेलोमा परी गम्भीर घाइते जमदार केशव जागामगरको दुनैस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रजिअ दाहालले जानकारी दिए । उपचार गर्न सेनाका चिकित्सक डोल्पा पुगेका छन् ।

डढेलोमा परी घाइते प्युठ विजय कोइराला र आशिक बुढालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । सुरुमा नेपालगन्ज लगिए पनि उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको हो । डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन नसकेको प्रजिअ दाहालको भनाइ छ । 

त्यसैगरी, बारीमा झ्यास जम्मा पारी लगाइएको आगोमा परी धनकुटा नगरपालिका–३ कागतेका विनोद श्रेष्ठका तीन वर्षीय छोरा विवेक श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास जम्मा पारेर आगो लगाई खेत जोत्न लागेको अवस्थामा नजिकै खेलिरहेका विवेक र राजु श्रेष्ठका छोरा १० वर्षीय रोशन श्रेष्ठ आगोले जलेर घाइते भएका थिए । न्युरो अस्पताल विराटनगर हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै विवेकको मृत्यु भएको हो । घाइते रोशनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

यसैगरी, सल्यानको कपुरकोट गाउँपालिका– १ स्थित स्यालेडेरा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका १५ जना घाइते भएका छन् । डढेलो निभाउने क्रममा हावाहुरी चलेपछि आगो शरीरमा सल्किएको कपुरकोट रेन्जपोस्ट प्रमुख अन्जना शर्माले बताइन् । आगो निभाउने क्रममा हातखुट्टाका केही भागमा आगोले पोले पनि अवस्था चिन्ताजनक नरहेको उनले बताइन् । धनकुटा–१० मा सल्लेरी सिरानका रत्न मगरको बारीमा गोलभेँडाको झ्यास जलाउन बालेको आगो घरगोठमा सल्किएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सामान जलेर करिब ६ लाखबराबरको क्षति भएको छ । 

प्रहरीका अनुसार बाराको पचरौता नगरपालिका– १ पिपरपातीस्थित कबाडमा आगलागी हुँदा फुसको घर, कबाडको सामान फुटाउने तथा गलाउने मेसिन एक थान र प्लास्टिकको सामान जलेर करिब २० लाखबराबरको क्षति भएको छ । अर्घाखाँची, भूमिकास्थान नगरपालिका– ७ बाजुकास्थित बाजुका सामुदायिक वनमा फैलिएको डढेलो बस्तीमा पसेको छ । मानकुमारी भण्डारीलगायत ६ जनाको घर र गोठ जलेर करिब ५३ लाखको क्षति भएको छ । 

सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङ बस्ने निर्मलकुमार दर्लामीको घर र गोठमा आगलागी हुँदा करिब ५ लाख १५ हजारबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–२ स्थित चिउरीपानी सामुदायिक वनमा लागेको आगो फैलिएर हस्तबहादुर भण्डारीको बाख्राको खोरमा आगलागी भएको छ ।

रुकुम पश्चिम, आठबिसकोट नगरपालिका– २ स्यालामा धनबहादुर बोहराको घरमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट खाद्यान्न तथा किराना पसल, नास्ता पसल, काठ, भाडावर्तन, लत्ताकपडा र नगद तीन लाख ३० हजारको क्षति भएको छ । पाल्पा, पूर्वखोला गाउँपालिका– २ साठीकोल बस्ने टेकबहादुर ठाडाको घरमा सोमबार बिहान आगलागी भएको छ । घर पूर्ण रूपमा जलेर करिब सात लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । 

ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ९ मिश्र भञ्ज्याङस्थित देवीथान सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो विद्यालयमा फैलिएको छ । आगो फैलिएर सोही ठाउँस्थित जीवनज्योति माध्यमिक विद्यालयको स्टोर कोठामा समेत आगलागी हुँदा कम्प्युटर, डेस्कटप, स्कुल ड्रेस, किताबलगायत विद्यालयका अन्य शैक्षिक सामग्री जलेर करिब १० लाखको धनमाल नष्ट भएको छ । 

पोखरा महानगरपालिकाको अस्थायी ल्यान्डफिल साइटमा सोमबार आगलागी हुँदा नजिकैका बस्ती जोखिममा परेका छन् । पोखरा–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटमा सोमबार साँझ ५ बजेदेखि फैलिएको आगो नियन्त्रणबाहिर गएको हो । पोखरा–३२ मा अस्थायी ल्यान्डफिल साइटमा सोमबार आगलागी भएको छ । आगलागीबाट ल्यान्डफिल साइटसँगै जोडिएको च्याउ फार्ममा समेत क्षति पुगेको छ ।

सर्लाहीको बसबरियामा ११ घर जले
बसबरिया गाउँपालिकास्थित भवानीपुरको दलित बस्तीमा भीषण आगलागी भएको छ । बसबरिया गाउँपालिका– ३, भवानीपुर गाउँमा सोमबार दिउँसो एक्कासि आगलागी भएको हो । आगलागीबाट स्थानीयका ११ वटा फुसको छाना भएका घर जलेर नष्ट भएका छन् । पाँचवटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार स्थानीय रामविश्वास रामको घरबाट सुरु भएको आगलागीबाट छिमेकी दिनेश माझी, जोखु मुखिया, भुर्री देवी, राजनारायण माझी र विन्देश्वर माझीको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीमा परेर राजनारायण माझी, किशोर मुखिया, हर्ष मुखिया, मिश्री माझी र नरेश रायको घरमा आंशिक क्षति पुगेको छ ।

मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । ग्यास सिलिन्डर विस्फोटबाट आगलागी भएको प्रहरीको आशंका छ । आगो समयमै नियन्त्रणमा आएकाले ठूलो क्षति हुनबाट जोगिएको वडाध्यक्ष नन्दलाल महतोले बताए । आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ । आगलागीपीडितलाई तत्कालका लागि राहतस्वरूप खाद्यान्न सहयोग गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए ।