विपन्न परिवारका राम र श्याम नामका दुवै दाजुभाइ नौ कक्षामा पढ्थे । उनीहरूकै कक्षामा मनोज नामका निकै सम्पन्न परिवारका एक छात्र पनि पढ्थे । एक दिन मनोजले आफ्नो जन्मदिनमा एउटा महँगो घडी लगाएर स्कुल आए । सबै छात्रछात्रा त्यो घडी देख्दा छक्क परे । सबैले त्यो घडीको प्रशंसा गरे । एक छात्रले मनोजलाई सोधे– तिमीलाई यो घडी कसले दियो ? मनोजले उत्तर दिए– मेरा दाइले मेरो जन्मदिनमा उपहार दिनुभएको हो ।
मनोजको जवाफ सुनेपछि सबैले उनका दाजुको प्रशंसा गरे । साथै, कसैले चाहिँ आफ्ना पनि यस्तै दाजु भइदिएको भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरे । श्यामले दाजु रामसित भने– हाम्रो पनि यस्तै दाजु भइदिएको भए हुन्थ्यो नि हगि दाइ ? राम मुसुक्क मुस्कुरायो मात्र, कुनै प्रतिक्रिया जनाएन । तर, उसले मनमनै भन्यो– हो, म पनि यस्तै दाजु बन्न पाएको भए कति जाति हुँदो हो ?
समय बित्दै गयो । कैयौँ वर्ष बिते । बिस्तारै श्याम आफ्ना आवश्यकताका लागि अरूहरूमाथि निर्भर हुँदै गयो किनकि उसले आफूलाई त्यही ढंगमा विकसित गरेको थियो । उता राम भने आफ्नो मिहिनेतको बलमा एक सफल व्यवसायी बन्यो । ऊ कहिल्यै अरूबाट कुनै अपेक्षा राख्दैनथ्यो । बरु अरूलाई सहयोग गर्न जहिल्यै तयार रहन्थ्यो ।
एउटै परिवारमा जन्मेर, सँगै हुर्केर र एउटै स्कुल पढेर पनि दुई दाजुभाइको अवस्थामा किन यति ठूलो अन्तर थियो त भन्ने प्रश्न यहाँनिर उठ्न सक्छ । यथार्थमा अन्तर केवल उनीहरूको दृष्टिकोणमा थियो । यथार्थमा हाम्रो सफलता या विफलता हाम्रो दृष्टिकोणमै निर्भर हुन्छ ।