१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बल अगाडि बढाउँदै आरसी ३२ का खेलाडी (कालो जर्सी)
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दुई वर्षपछि ‘सी’ डिभिजन लिग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo

एन्फाले गत मंसिरमै आयोजना गर्ने तयारी गरे पनि पटक–पटक सर्दै आएको सहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षपछि सहिद स्मारक ‘सी’ डिभिजन लिग आयोजना गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेम्समा बिहीबार आरसी ३२ ले खालीबारी युवा क्लबलाई १–० ले हराएको छ । पछिल्लोपटक एन्फाले ०७९ मा सी डिभिजन गर्दा झापा एएफसी च्याम्पियन बनेको थियो । त्यस सिजनमा झापासँगै प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा भएका थिए । त्यसपछि एन्फा र सहभागी क्लबबीचको आन्तरिक विवादले बी र सी डिभिजन लिग आयोजना भएको थिएन । एन्फाले तेस्रो प्रयासमा सी डिभिजन लिग आयोजना गरेको हो । आयोजक एन्फाले गत मंसिरमै लिग आयोजना गर्ने तयारी गरेको थियो । 

तर, सहभागी क्लबहरूले एन्फाले दिनुपर्ने रकम बाँकी रहँदासम्म लिगमा सहभागी नहुने अडान राखे । दुई महिनाअघि एन्फा र क्लबबीच लिग आयोजना गर्ने सम्झौता भएको थियो । एन्फाले लिग १५ फागुनमा हेटौँडामा सुरु हुने जनाएको थियो । पुरानो रकम एक महिनाभित्र दिनुपर्ने तथा लिग काठमाडौंमै हुनुपर्ने सहमति गरिएको थियो । सहभागी क्लबले लिग काठमाडौंमै हुनुपर्ने अडान राखेका थिए । 

हेटौँडामा लिग हुँदा एन्फाले खाने–बस्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको थियो । एन्फाले क्लबहरूको माग सम्बोधन गर्न नसक्ने अवस्था भएपछि फागुनमा लिग काठमाडौंमै आयोजना गर्ने निर्णय गर्‍यो । फागुनमा लिग गर्ने भनेको समयमा दशरथ रंगशालामा नेपाल सुपर लिग चलेको थियो । सुपर लिगको समयमा लिग सञ्चालन गर्न नसकिने भएपछि एन्फाले २२ चैतमा सी डिभिजन लिग हुने मिति तोकेको थियो ।

आरसीले खालीबारीलाई हरायो 
आरसी ३२ को जितमा बबिन बोहराले खेलको २२औँ मिनेटमा निर्णायक एक मात्र गोल गरेका थिए । टिप्सन राईले गरेको क्रसमा बबिनले टोलीलाई १–० को अग्रता दिलाएका हुन् । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो । खेलको ६६औँ मिनेटमा आरसी ३२ ले थप अग्रता लिने अवसर गुमायो । खालीबारीका गोलरक्षक मनोज तामाङले विल्सन गिरीमाथि फल गरेपछि आरसी ३२ ले पेनाल्टी पाएको थियो । विवेक सन्तोषीले प्रहार गरेको पेनाल्टी गोलरक्षक गिरीले बाए । खेलको ८५औँ मिनेटमा खालीबारीले पनि पेनाल्टी पाएको थियो । सुमन मगरले मनीष गुरुङमाथि फल गरेपछि प्राप्त पेनाल्टी रोनल राईले पोस्टभन्दा बाहिर प्रहार गरे ।

विजेताले १० लाख पाउने
‘सी’ डिभिजन लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा उपत्यकाका नौ र उपत्यकाबाहिरका पाँच क्लबले भाग लिनेछन् । यो लिग तीन महिना चल्नेछ । सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने एन्फाले जनाएको छ । एन्फाले आवश्यकताअनुसार च्यासल र दशरथ रंगशालमा पनि ‘सी’ डिभिजन लिगका खेल हुने जनाएको छ । प्रतियोगिताको उपविजेताले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, ‘फेयर प्ले’ खेल्ने टोलीले ५० हजार पाउनेछ । 

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्टस्, पुल्चोक स्पोर्टस्, मनोहरा युनाइटेड युथ, गोलबजार स्पोर्टस्, झम्सीखेल युथ, स्पोर्टस् एकेडेमी साँगा, स्वयम्भू, सोसियल वेलफेर स्पोर्टस् सेन्टर, सामाजिक युथ, महावीर स्टडिज एन्ड एथलेटिक्स एसोसिएसन र बागमती युथ क्लब सहभागी छन् । प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिराहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्टस् क्लब (बाजुरा) र स्पोर्टस् एकेडेमी साँगा (काभ्रे)ले भाग लिन लागेको हो । 

लिगको बजेट साढे तीन करोड
एन्फाका अनुसार लिगको कुल बजेट तीन करोड ५५ लाख २८ हजार ३५८ रुपैयाँ रहेको छ । सर्वोकृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार प्रदान गरिनेछ । एन्फाले हरेक खेलको ‘प्लेयर अफ द म्याच’ खेलाडीलाई पाँच हजार दिनेछ । प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई दिइएको छ । 

फिफा वरीयतामा नेपाल तीन स्थान झर्‍यो
सन् २०२७ को विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा खराब प्रदर्शन गरेको नेपालको फिफा वरीयतामा तीन स्थान ओरालो लागेको छ । फिफाद्वारा बिहीबार जारी वरीयतामा नेपालले तीन स्थान गुमाएको हो । नेपाल अप्रिलको वरीयतामा १९८औँ स्थानमा छ । दुई साताअघि बहराइनमा नेपालले विश्वकप छनोट खेलेको थियो । घरेलु टोली बहराइनसँग नेपाल समग्रमा आठ गोलले पराजित भयो । पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भयो । नेपालले विश्वकप छनोटको चार खेलमा १४ गोल खाएको छ । 

नेपालले ९३७ रेटिङ अंक पाएको छ । नेपालभन्दा माथि म्यानमार रहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को वरीयतामा भारतले पनि चार स्थान गुमाएको छ । भारत १२१औँ स्थानमा छ । साफको दोस्रो स्थानको माल्दिभ्स १६१औँ स्थानमा छ । साफमा नेपाल भने तेस्रो स्थानमा छ । चौथो स्थानको बंगलादेश १८४औँ र पाँचौँ स्थानको भुटान १८५औँ स्थानमा छन् । छैटौँ स्थानको पाकिस्तान १९५औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छन् ।

एसियाली वरीयतामा जापान शीर्ष स्थानमा छ । जापान समग्रमा फिफा वरीयताको १८औँ स्थानमा छ । इरान २०औँ स्थानमा छ । फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् रह्यो । वरीयतामा इन्डोनेसियाले आठ स्थान सुधार गरेको छ । भियतनामले १० स्थान गुमाएको छ । विश्व वरीयतामा फ्रान्स दोस्रो तथा बेल्जियम तेस्रो स्थानमा छन् । 

ad
ad