रुसी राज्य प्रमुखका रूपमा असफलताका लागि उनी अन्तिम जिम्मेवार व्यक्ति हुन्
प्रत्येकपटक भ्लादिमिर पुटिनले गडबड गर्दा एउटै प्रश्न सोधिन्छ– के यसले कुनै फरक पार्छ ? गत हप्ता मस्कोनजिकैको क्रोकस सिटी कन्सर्ट हलमा १३७ जनाको मृत्यु हुने गरी भएको हमला पुटिनले आफ्नो २५ वर्षको शासनकालमा सामना गर्नुपरेको ठूलो संकटमध्ये एक हो । यसमा कुनै शंका छैन कि रुसी राज्यप्रमुख र यसको सुरक्षा बलका समग्र प्रमुखको रूपमा उनी असफलताका लागि अन्तिम जिम्मेवार व्यक्ति हुन् । कुनै पनि सामान्य राजनीतिक प्रणालीमा उनको राजीनामाको अपेक्षा गरिन्छ । तर, उनले दिँदैनन् । राजीनामा अकल्पनीय छ भन्ने तथ्य पुटिनको शक्तिको संकेत होइन । स्वतन्त्र छानबिनको माध्यमलाई अन्त्य गर्दै उनको अधिनायकवादले रुसी समाजभित्र ‘चेक एन्ड ब्यालेन्स’लाई अन्त्य गरेको छ । उनलाई एक्लै कार्य गर्न दिनुहोस् ।
यद्यपि, लामो समयदेखि भ्रमित र क्रमिक रूपमा गलत जानकारी दिइए पनि रुसी जनता भने मुर्ख छैनन् । सडकमा रगत र शोकमा रहेको राष्ट्रको साथ पुटिनको असामान्य शक्तिरूपी मिथक हालै गम्भीर बनेको कुरा छिपेको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको हालैको राष्ट्रपति चुनावमा उनको ‘विजय’ सुनिश्चित गर्न ‘सूचना व्यवस्थापन’ (झुट कथन र प्रचार) मा एक अर्ब युरोभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ । त्यसअतिरिक्त इन्टरनेट र राज्यको मिडिया खर्चमा २० गुणा वृद्धि भएको रिपोर्ट गरिएको थियो । यी सबैको एउटै उद्देश्य थियो– पुटिनलाई एक अजेय, अपरिहार्य आधुनिक समयका जारको रूपमा चित्रण गर्नु थियो, जसले बहादुरीका साथ मातृभूमि रुसलाई आफ्ना शत्रुबाट जोगाउँछ । यद्यपि गत शुक्रबार चार बन्दुकधारीले निर्दयी हिंसाको अराजक उन्मादमा त्यो मिथकलाई व्यापक रूपमा ध्वस्त पारे । आक्रमणकारी अवरोधरहित थिए, पीडितलाई कुनै चेतावनी दिइएको थिएन र पुटिनका सबै विशाल सुरक्षा संयन्त्र नागरिकको हत्या रोक्न असमर्थ थिए । रुसजस्तै अधिनायकवादी समाजमा पनि यो घातक लापरबाहीलाई माफी हुँदैन वा बिर्सिइँदैन ।
तर, त्यो छुट पुटिनमा छ । यसले उनको व्यक्तिगत र राजनीतिक स्थितिमा अर्को आधारभूत कमजोरीलाई औँल्याउँछ– उनी सम्पर्कबाट टाढा छन्, दिनहुँको रुसी वास्तविकताबाट यति अलग छन् कि उनी आफ्नै दुष्ट कथामा विश्वास गर्छन् । इस्लामिक स्टेट (जसले आक्रमण गरेको स्वीकार गरेको छ)ले अनलाइनमा प्रकाशित गरेको स्पष्ट भिडियोका बाबजुद पुटिन युक्रेनी ‘नाजी’लाई निरन्तर दोष लगाउँछन् । यो निन्दाभन्दा परको कुरा हो । यो सीमारेखा मनोरोग हो । यस विकृत गल्तीलाई समर्थन गर्ने प्रमाणको सानो अंश पनि छैन र यसलाई किभमा डरलाग्दो ढंगले अस्वीकार गरिएको छ ।
अप्रमाणित षड्यन्त्र सिद्धान्त पुटिनको विशेषता नै हो । अपेक्षा यो छ कि प्रमुख आलोचक एलेक्सी नाभाल्नीको हालैको हत्याबाट असन्तुष्ट क्रेमलिन घरेलु असन्तुष्टिलाई थप दबाउन, राजनीतिक नियन्त्रण विस्तार गर्न, युक्रेन युद्ध बढाउन र यहाँसम्म कि जनपरिचालनको आदेश दिन आक्रमणलाई साहसिक रूपमा लिनेछ ।
पुटिन वास्तविकता र बहानाबीचको भिन्नता बताउन वा कम्तीमा स्वीकार गर्न अक्षम छन्, किनभने उनी आफैँ झुटको भवनमा बसेका छन् । उनको शक्ति र उनको राष्ट्रपति प्रणालीगत झुटमा आधारित छ, जहाँ बन्दी राष्ट्रलाई दैनिक ठूलो परिमाणमा झुट विवरण उपलब्ध गराइन्छ । कहिलेकाहीँ सम्पन्न हुने आधारभूत सम्झौता पुटिन र जनताबीच समझधारी हो, जहाँ उनले सुरक्षा प्रदान गर्दछन् र उनीहरूले समर्थन गर्छन् । यद्यपि यो सबैभन्दा ठूलो झुट हो ।
पुटिन सामान्य रुसीमाथि भएको आक्रमणको तिरस्कार गर्दैनन् । क्रोकस सहरमा ठूलो झुट क्रूर रूपमा पर्दाफास भयो । निर्दोष मानिसको मृत्युमा देश पीडामा डुबेका वेला पुटिन चुपचाप लुके र कसरी दोषारोपण गर्नेबारे १९ घन्टासम्म षड्यन्त्रमूलक योजना गरे । उनको स्वार्थी, बेवास्तापूर्ण असहजता बारम्बार साक्षी छ । सन् २००० मा कुर्सक पनडुब्बी विपत्लाई बेवास्ता गर्ने उनको कठोर प्रयास र ग्रोज्नीको दोस्रो घेराबन्दीको समयमा उनले मास्टरमाइन्ड गरेको नरसंहारलाई सम्झनुहोस् । हालसालै रुसले आधुनिक समयको सबैभन्दा मूर्ख भू–रणनीतिक गल्तीको नेतृत्व गरेको छ (युक्रेनमा अयोग्य आक्रमण) । परिणामस्वरूप रुसमा ठूलो हताहती भयो ।
पुटिनको सन्दर्भमा उनी सधैँ आफ्ना बारे मात्र सोच्छन् । आफ्नै असुरक्षाका बारेमा निरपेक्ष शक्तिको आवश्यकता र पुनर्जीवित रुसी साम्राज्य महिमाको भ्रममा रुमल्लिन्छन् । अन्य मानिसबारे उनी कहिल्यै सोच्दैनन् । पुटिनको युद्ध र पश्चिमसँगको गतिरोधले रुसलाई जीवन, सम्पत्ति र प्रतिष्ठाका हिसाबले गरेको क्षति अतुलनीय छ । यद्यपि यो उनको स्थायी उन्माद हो । उसले सोच्ने र गर्ने सबै कुरा उन्मादसँग सम्बन्धित देखिन्छ । यो महिनाको निर्वाचनपछि बोल्दै उनले फेरि पनि आफ्नो उन्मादलाई मुख्य केन्द्र बनाउने वाचा गरे । किन ? किनभने उनको सुकेको, सुस्त हृदयको गहिराइमा उनलाई थाहा छ कि यो एक भयानक गल्ती थियो । धेरैजसो रुसीले प्रस्ट रूपमा पुटिनको उन्माद सेयर गर्दैनन् । बरु उनीहरूले पुटिनको युद्धले उनीहरूको परिवार, जीवनस्तर, संकुचित स्वतन्त्रता र व्यक्तिगत सुरक्षालाई हानि पुर्याएको स्पष्टताका साथ देख्छन् । शासन व्यवस्थाले गरेको निर्वाचन भ्रामक छ । धेरै रुसी यसलाई अन्त्य गर्न चाहन्छन् । तिनीहरूको मौनता सहमति होइन, न त यसले अनुमोदनलाई संकेत गर्छ । यो विषय त्रासमा जरा गाडिएको छ ।
पुटिन असुरक्षित छन् । उनले अतिवादीको आक्रमण आउँदै गरेको देखेको हुनुपर्छ । तर, अहंकार र आत्मसन्तुष्टिले उनलाई अन्धो बनायो । जब संयुक्त राज्य अमेरिकाले उदारताका साथ एक आसन्न षड्यन्त्रबारे स्पष्ट सूचनाको खुलासा गर्यो, पुटिनले यसलाई गलत सूचनाको चालका रूपमा अस्वीकार गरे । जब सुरक्षा सेवाले इस्लामवादी लडाकुलाई ट्रयाक गर्न सुझाव दिए, तिनीहरूले उनको आदेशमा विपक्षीहरू, पत्रकारहरू र समलिंगी मानिसलाई उत्पीडन गरिरहेका थिए । पुटिनले रुसी राज्यलाई आफ्नै छविमा पुनर्निर्माण गरेका छन्, क्रूर, अयोग्य, अज्ञानी, अविश्वासी, भ्रमपूर्ण र पृथक् । यो पुटिनजस्तै मौलिक रूपमा कमजोर छ । बढ्दो रूपमा एउटा विपत्तिले अर्को विपत्तिलाई पछ्याउँछ, उनको पकड चिप्लिन्छ, शक्ति कमजोर हुँदै जानेछ र डर हराउनेछ । क्रोकस सिटी अत्याचारले यो प्रक्रियालाई गति दिनेछ । यसले फरक पार्छ ।
–द गार्जियनबाट