‘गरिखान देऊ’ भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीका होटेल व्यवसायीहरू लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन् । लुम्बिनीपरिसरभित्र खुलेका गुम्बा तथा बिहारहरूले अनधिकृत रूपमा होटेल व्यवसाय नै सञ्चालन गरेपछि त्यसको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन् ।
लुम्बिनीको बिहार क्षेत्रमा गुम्बा, बिहार, ध्यानकेन्द्र सञ्चालन गर्नुपर्नेमा विभिन्न देशले गुम्बाको नाममा होटेलकै संरचना बनाएर व्यवसाय गर्न थालेपछि बाध्य भएर धर्ना बस्नुपरेको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनी विकास गुरुयोजनाअनुसार विभिन्न देश तथा संस्थालाई गुम्बा बनाउन एक–एकवटा प्लट दिने गरी ४२ वटा प्लट लुम्बिनी विकास कोषले बिहार निर्देशिका बनाएर बाँडेको थियो । तर, चीन, थाइल्यान्ड, कम्बोडिया, कोरियालगायत देशले बनाएका गुम्बाहरूले होटेल सञ्चालन गरिरहेको अध्यक्ष ज्ञवालीले बताए । गुम्बा र बिहारले पर्यटक राख्न थालेपछि बाहिरका होटेल संकटमा परेको व्यवसायीहरूको गुनासो छ ।
‘निर्माण भइसकेका गुम्बाले वर्षौँदेखि होटेल सञ्चालन गरिरहेका छन्,’ संघका महासचिव पुरुषोत्तम अर्यालले भने, ‘अहिले मलेसियाले बनाइरहेको गुम्बामा पाँचतारे होटेलमा भन्दा बढी कोठाहरू रहेका छन्, यसरी गुम्बाको नाममा होटेलै सञ्चालन गर्नु त भएन नि ।’ व्यवसायीका अनुसार लुम्बिनीका गुम्बा र बिहारले सुविधा हेरी न्यूनतम पाँच सयदेखि दुई हजार रुपैयाँसम्म पर्यटक राख्ने गरेका छन् । लुम्बिनीभित्र एट्याच बाथरुम र एसीसहितका लक्जरी संरचना छन् ।