१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एसइई दिने विद्यार्थीलाई गाउँपालिकाबाट खाद्यान्न सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:४o:oo

२०३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन सहयाेग

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र आएका विद्यार्थीलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाकाले बुधबार खाद्यान्न सहयोग गरेको छ ।

बिहीबारबाट सुरु भएको एसइई परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई पालिकाले अतिआवश्यक खाद्यान्न सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले दुई सय तीनजना विद्यार्थीलाई प्रतिविद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन उपलब्ध गराएका छन् ।

पालिकाको धिराङ, गर्लिङ, सिलिंगे, खैराङलगायतका विकट गाउँबाट एसइई दिन गाउँपालिका केन्द्र चैनपुर र ३ नम्बर वडास्थित सरिखेत आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ ।

‘राक्सिराङ निकै विकट गाउँपालिका हो । यहाँका धेरै परिवार दैनिक गुजाराका लागि संघर्ष गरिरहेका हुन्छन् । यस्तो अवस्थामा यहाँका अभिभावकले आफ्ना छोराछोरीलाई कोठामा राखेर, खानेकुरा जुटाएर जाँच दिन पठाउन सक्ने अवस्थामा छैन । त्यसकारण समस्यामा रहेका विद्यार्थीलाई गाउँपालिकाले खाद्यान्न सहयोग गरेकाे हो,’ उनले भने ।

खानेकुराकै समस्याका कारण विद्यार्थी एसइई परीक्षामा सहभागी नहोलान् भन्ने चिन्ताले परीक्षा अवधिभरका लागी आवश्यक खाद्यान्न जुटाइदिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।

यसअघिका वर्षहरूमा राक्सिराङ गाउँपालिकाका विद्यार्थीले मनहरी गाउँपालिकामा रहेको रोटरी मावि र महेन्द्र मावि परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएकोमा यस वर्षबाट भने राक्सिराङ– ५ स्थित प्रजा जागृति मावि र राक्सिराङ– ३ स्थित सूर्योदय मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

यस वर्ष राक्सिराङ गाउँपालिकाका पाँचवटा माविबाट दुई सय ८१ जना विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाएका छन् ।  परीक्षा केन्द्रनजिक घर भएकाबाहेकका दुई सय तीनजना विद्यार्थीलाई मात्रै खाद्यान्न सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।

ad
ad