१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : राजदूत चेन सङको एक्स हेन्डल
२०८० चैत १५ बिहीबार ०६:०३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक महिनामै खनियो १५०३.३ मिटर सुरुङ, डेढ महिनाभित्र ‘ब्रेक थ्रु’को तयारी

Read Time : > 4 मिनेट
२०८० चैत १५ बिहीबार ०६:०३:००

सुनकोशी–मरिन डाइभर्सनको सुरुङ निर्माणमा ‘विश्वरेकर्ड’

- सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता । काम सुरु गरेको दुई वर्षमा सुरुङ तयार हुने भनिए पनि त्योभन्दा छिट्टै सुरुङ तयार हुने दाबी ।

- यो बहुउद्देश्यीय आयोजनाबाट तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्य छ । 

चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्वरेकर्ड राखेको दाबी गरेको छ । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत एक महिनामा  १५०३.३ मिटर सिँचाइ सुरुङ खनेर विश्वरेकर्ड राखेको कम्पनीको दाबी छ ।  

कम्पनीले असोज ०७९ देखि १३.३ किलोमिटर लम्बाइ भएको उक्त सिँचाइ सुरुङको निर्माण गर्दै आएको छ । सुरुङको आन्तरिक ब्यास ५.५ मिटर र बाहिरी ब्यास ६.१० मिटर रहेको छ । त्यसमा २६ फेब्रुअरीदेखि २५ मार्च (१४  फागुनदेखि १२ चैत) सम्ममा १५०३.३ मिटर खण्ड निर्माण गरिएको छ, जुन विश्वमा नयाँ रेकर्ड रहेको दाबी कम्पनीले गरेको छ ।

कम्पनीले मंगलबार नै टिबिएममार्फत सुरुङ निर्माणमा नयाँ रेकर्ड राखेको भन्दै सेलिब्रेसन पनि गरेको छ । यसअघि पनि कम्पनीले सोही आयोजनामा २०२३ मार्चमा १२२४.१३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । अहिले त्यो रेकर्ड तोडिएको हो । 

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बराल भन्छन्–
कम्पनीले टिबिएममार्फत सुरुङ निर्माणमा विश्वरेकर्ड राखेको दाबी गरेको छ । हामीले यसलाई प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाएका छौँ । त्यसपछि यो टुंगोमा पुग्नेछ । सुरुङ निर्माण फरक–फरक प्रकृतिको हुन्छ । भौगोलिक अवस्था, व्यासलगायतले सुरुङ निर्माण प्रभावित गर्छ । यसकै आधारमा यसको प्रमाणीकरण गर्छौँ ।

यसैबीच, नेपालका लागि चिनियाँ राजदूत चेन सङले नयाँ विश्व रेकर्ड राखेको भन्दै निर्माण कम्पनीलाई बधाई दिएका छन् । ‘नेपालमा दुई नयाँ विश्व रेकर्ड बनाएकोमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडलाई बधाई छ । टिबिएम मेसिनबाट सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ एक महिनामा १५०३.३ मिटर निर्माण गरिएको छ, योसँगै कम्पनीले २०२३ मा मासिक १२२४.१४ मिटर सुरुङ निर्माण गरेर कायम गरेको विश्व रेकर्ड पनि तोडेको छ,’ बुधबार उनले सामाजिक सञ्चालमार्फत लेखेका छन्, ‘कम्पनीले यसअघि पनि समान प्रकृतिको टिबिएम मेसिनबाट दैनिक ७२.६८ मिटर सुरुङ खनेर  विश्व रेकर्ड राखेको थियो ।’

यता आयोजना निर्देशक मित्र बरालले कम्पनीको दाबीलाई प्रमाणीकरण गरिने बताए । ‘कम्पनीले टिबिएममार्फत सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको छ । हामीले यसलाई प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाएका छौँ । त्यसपछि यो टुंगोमा पुग्नेछ,’ उनले भने, ‘सुरुङ निर्माण फरक–फरक प्रकृतिको हुन्छ । भौगोलिक अवस्था, ब्यासलगायतले सुरुङ निर्माण प्रभावित गर्छ । यसकै आधारमा यसको प्रमाणीकरण गर्छौँ ।’

अब १ किमि सुरुङ मात्रै खन्न बाँकी, डेढ महिनाभित्र ‘ब्रेक थ्रु’
परियोजनाको अब एक किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । कम्पनीले २८ असोज ०७९ देखि १३.३ किलोमिटर लामो उक्त सिँचाइ सुरुङको निर्माण सुरु गरेको थियो । त्यसमा बुधबारसम्म १२.३२ किमि अर्थात् ९२.७ प्रतिशत सुरुङ खनिएको छ । बाँकी सुरुङ ढिलोमा पनि डेढ महिनामा निर्माण हुनेछ । अब भौगोलिक तथा प्राविधिक समस्या नआए डेढ महिनामा टनेलको ब्रेक थ्रु गर्न सकिने आयोजनाका निर्देशक बरालले जानकारी दिए । 

यसअघि टिबिएम मेसिन बिग्रिँदा झन्डै दुई महिनासम्म सुरुङ निर्माण रोकिएको थियो । बीचमा भौगोलिक जटिलताका कारण पनि परियोजना निर्माण कार्य प्रभावित भएको थियो । अब यस्तो समस्या नआएमा छिट्टै ब्रेक थ्रु हुने आयोजना कार्यालयको दाबी छ । 

तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित सरकारले यो आयोजना अघि बढाएको थियो । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास पनि गरेका थिए । 

सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । काम सुरु गरेको दुई वर्षमा सुरुङ तयार हुने भनिएको थियो । तर, त्योभन्दा छिट्टै सुरुङ तयार हुने दाबी गरिएको छ । यसअघि उक्त कम्पनीले पनि भेरी–बबई सिँचाइ आयोजनाको सुरुङ निर्माण गरिसकेको छ ।

आयोजनाको अन्य संरचनाको निर्माण पनि अघि बढिसकेको छ । आयोजनामा बन्ने जलविद्युत्को हेडवक्र्स, पावर हाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणका लागि गत आवमै पटेल इन्डिया र नेपालको रमन कन्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी) सँग १२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । ०८५ भित्र आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ । 

विशेष गरी सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीको पानीलाई सुरुङमार्फत सिन्धुली जिल्लाको मरिन नदीमा खसालिनेछ । साथैै, त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको गरी करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइनेछ । 

यसबाहेक पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनामा भित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ । यसका लागि सिन्धुलीको खुर्काेट बजारदेखि करिब २ किलोमिटर माथितिर र सुनकोशी र तामाकोशीको दोभानदेखि करिब १ सय ५० मिटर तलतिर सुनकोशी नदीमा ब्यारेज निर्माण गरिनेछ । 

तामाकोशी र सुनकोशीको दोभान बेनीभन्दा केही तल सुनकोशी नदीमा एक सय ५८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर पनि बनाइनेछ । उत्पादन भएको विद्युत् ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

सरकारले आफ्नै लगानीमा यो आयोजना बनाउँदै छ । पहिला यसमा ४६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको थियो, त्यसमा ११ अर्ब कम अर्थात् ३५ अर्बमा यो आयोजना बन्दै छ । आयोजना सञ्चालनमा आएपछि सुनकोशी र तामाकोशी किनारमा बसोबास गर्ने समुदायका निम्ति आय–आर्जनको प्रचुर सम्भावना रहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । 

बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुनेछ । साथै, मनोरञ्जन तथा ताल–जलाशयमा पर्यटन व्यवसायसमेत फस्टाउने अपेक्षा छ ।  

देशको तराई क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित छन् । महाभारत र चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीहरूबाट विकास भएका अधिकांश सिँचाइ प्रणालीमार्फत वर्षायाममा सबै संरचना विकास भएको जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको छ । 

तर, स्रोतमा पानी उपलब्ध नहुँदा हिउँद र वसन्तमा थोरै जमिनमा मात्र सिँचाइ सुविधा पुग्छ । त्यसैले, वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउन पानी बढी भएको हिमाली नदीबाट पानी नपुग भएको क्षेत्रमा डाइभर्सन गरेर पानी लैजाने गरी यो आयोजना बनाउन लागिएको हो । 

राजदूतले दिए बधाई

नेपालका लागि चिनियाँ राजदूत चेन सङले निर्माण कम्पनीलाई बधाई दिएका छन् । ‘नेपालमा दुई नयाँ विश्वरेकर्ड बनाएकोमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडलाई बधाई छ । टिबिएम मेसिनबाट सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ एक महिनामा १५०३.३ मिटर निर्माण गरिएको छ, योसँगै कम्पनीले २०२३ मा मासिक १२२४.१४ मिटर सुरुङ निर्माण गरेर कायम गरेको विश्वरेकर्ड पनि तोडेको छ,’ बुधबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कम्पनीले यसअघि पनि समान प्रकृतिको टिबिएम मेसिनबाट दैनिक ७२.६८ मिटर सुरुङ खनेर विश्वरेकर्ड राखेको थियो ।’