१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १४ बुधबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसले मृत्युअघि आफ्नो कात्रो आफैँ किनिन्

Read Time : < 1 मिनेट
२०८० चैत १४ बुधबार १३:२३:००

दाङ शान्तिनगर गाउँपालिका– २ अमुवानिवासी रेवता वलीलाई कलेजो र फोक्सोको क्यान्सर थियो। उनी लामो समय उपचारमै थिइन्। उपचारकै क्रममा लाखौँ खर्च भयो, तर उपचार सम्भव भएन। उनी फलोअपको क्रममा फागुनको अन्तिमतिर अन्तिमपटक नेपालगन्ज गइन्। 

त्यतिवेला नै आफू धेरै नबाँच्ने भन्दै आफैँले कात्रो, काजकिरियाका लागि लत्ताकपडा किनेर ल्याइन्।  रोजगारको सिलसिलामा भारत गएका छोरा प्रकाशलाई पनि घर बोलाइन्।

रेवताले गाउँका सबैलाई घरमा बोलाएर आफू केही दिनमा मर्ने भन्दै आफ्नो श्रद्धाञ्जली सभा गरिदिन आग्रह गरिन्। त्यो सुन्दा स्थानीय छक्क परे।

‘मृत्यु हुनु तीन दिनअघि आफैँले कात्रो, लत्ताकपडा ल्याएकी थिइन्,’ उनका आफन्त ठाकुरप्रसाद वलीले भने, ‘त्यो सुन्दा हामी आफैँ दुःखी पनि भयौँ। छक्क पनि पर्‍यौँ।’

त्यसकाे तीन दिनपछि १ चैतमा वलीको मृत्यु भयो। लामो समय क्यान्सरबाट थलिएकी उनको ४८ वर्षको उमेरमा मृत्यु भयो। त्यो घटनाले सबैलाई सतब्ध बनाएको स्थानीय सरस्वती न्यौपानेले बताइन्।

वलीले भनेअनुसार नै काजकिरिया भयो। श्रद्धाञ्जली सभा गरिदिन गरेको आग्रहअनुसार १३औँ दिनमा हिजो (मंगलबार) श्रद्धाञ्जली सभा पनि भयो। श्रद्धाञ्जली सभामा सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले सम्बोधन गरे। वलीका दुई छोरी र एक छोरा छन्।