१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य वान हुनिनबीच बेइजिङमा भेटवार्ता
२०८० चैत १३ मंगलबार ०६:२०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बेइजिङमा परराष्ट्रमन्त्रीका ‘हाइप्रोफाइल’ वार्ता

Read Time : > 2 मिनेट
२०८० चैत १३ मंगलबार ०६:२०:००

चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ र अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता, आर्थिक विकास र समृद्धिका विषयमा केन्द्रित, बिआरआई कार्यान्वयन योजनामा चिनियाँ चासो

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ औपचारिक भ्रमणका क्रममा सोमबार बेइजिङ पुगेका छन् । बेइजिङ पुगेलगत्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायत अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । हुनिङ चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता हुन् । 

नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, दुई देशले बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर गर्नेछन्,’ हुनिङलाई उद्धृत गर्दै नेपाली अधिकारीले भने । उपप्रधानमन्त्री श्रेष्ठले पनि नेपाल सरकारले यो विषय चाँडै टुंग्याउन चाहेको जवाफ दिएका थिए । 

हुनिङले भेटवार्ताको सुरुवातमा चिनियाँ राष्ट्रपति सी जिनपिङका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपालका शीर्ष नेताहरूलाई शुभकामना सन्देश दिएका थिए । दुई नेताबीच दुई देशको सम्बन्धबाहेक चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रको सम्बन्धबारे छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । 

भेटवार्तामा हुनिङले राजनीतिक स्थिरताका लागि गरिबी निवारणमा जोड दिँदै यसका लागि चीनले नेपाललाई सहयोग गर्ने आश्वासन दिएका छन् । चिनियाँ नेता हुनिङले नेपाल चीनको छिमेकी मात्र नभएर पुरानो मित्र भएको उल्लेख गर्दै एकअर्को देशको संवेदनशीलतामा दुवैले सम्मान गर्दै आएको बताए । ‘नेपाल चीनसँगसँगै अघि बढोस् । नेपाली जनता गरिबीबाट माथि उठून् हामी सकेको सहयोग गर्छौँ,’ चिनियाँ नेताको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक अधिकारीले भने । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा चीनले सहयोग गर्ने पनि उनको भनाइ थियो । 

चिनियाँ नेता हुनिङले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो राखेका थिए । भारतपछि तिब्बती शरणार्थीहरूको दोस्रो ठूलो जनसंख्या नेपालमा रहेको उल्लेख गर्दै हुनिङले उनीहरूका गतिविधिबारे चासो राखेका थिए । यद्यपि, यसमा नेपालले चीनको संवेदनशीलतालाई सम्बोधन गर्दै आएकोमा चीन खुसी रहेको पनि उनको भनाइ थियो । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका थिए । ‘तिब्बती शरणार्थीहरूको सन्दर्भमा नेपाल थप संवेदनशील भइदियोस् भन्ने चाहना व्यक्त भएको थियो । उपप्रधानमन्त्रीले यसमा ढुक्क हुन भन्नुभएको छ,’ भेटवार्तामा सहभागी अधिकारीले नयाँ पत्रिकालाई बताए । परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटवार्ता आर्थिक विकास र समृद्धिका विषयमा केन्द्रित रहेको ट्विटरमा जानकारी दिएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले सोमबारै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग भेटवार्ता गरेका छन् । रात्रिभोजसहितको भेटवार्तामा चिनियाँ नेतृ हैयानले माओवादी केन्द्रसहित प्रमुख दलहरूसँग चीनले निरन्तर संवाद जारी राखेको बताएकी थिइन् । 

मंगलबार अपराह्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र/सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गर्दै छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुनेछन् । त्यहाँबाट नेपाली राजदूतावास पुगेर उनले लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

बुधबार उनी नेपाली राजदूतावासद्वारा आयोजित दिवाभोजमा सहभागी भएर अपराह्न छोङछिङ जाँदै छन् । साँझ छोङछिङका मेयर तथा पार्टी सेक्रेटरी युयान जियाजुनले स्वागत गर्नेछन् । उनीसँग श्रेष्ठको रात्रिभोजसहित छलफल हुनेछ । 

बिहीबार बिहान उनी चिनियाँ प्रथम प्रधानमन्त्री चाउ एन लाईको निवासको भ्रमणमा जानेछन् । शुक्रबार उनी ल्हासा जाने कार्यक्रम छ । नेपाली महावाणिज्यदूतावासको भ्रमण गर्ने र साँझ तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरी तिब्बतको ल्हासास्थित सिपिसी पार्टी सेक्रेटरी वाङ छुङछेङसँग भेटवार्ता र रात्रिभोज हुनेछ ।

शनिबारको मौसम र श्रेष्ठको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवर जाने कार्यक्रम छ । भोलिपल्ट अर्थात् आइतबार अपराह्न ल्हासाबाट उनी छेन्दु पुग्ने कार्यक्रम छ । साँझ सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिव वाङ सियाओईले श्रेष्ठलाई रात्रिभोजसहित स्वागत गर्ने कार्यक्रम छ । सोमबार बिहान उनी स्वदेश फर्किनेछन् । 

आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता 

मंगलबार अपराह्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र/सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री यीले उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गर्दै छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुनेछन् । त्यहाँबाट नेपाली राजदूतावास पुगेर उनले लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ ।