१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पिटर टेस्च
२०८० चैत ११ आइतबार १०:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमले रुस र पुटिनलाई बेवास्ता गर्न सक्दैन

Read Time : > 2 मिनेट
पिटर टेस्च
२०८० चैत ११ आइतबार १०:४४:००

रुस अझै विश्वको महत्वपूर्ण खेलाडी रहिरहने हुनाले पनि उसलाई बेवास्ता गर्नु हुँदैन

आमअनुमानअनुरूप नै भ्लादिमिर पुटिन पुनः रुसका राष्ट्रपति बनेका छन् । राष्ट्रपतिका रूपमा यो उनको पाँचौँ कार्यकाल हो । गत साताको निर्वाचनको जितसँगै उनी थप ६ वर्षका लागि रुसको सर्वोच्च पदमा विराजमान रहनेछन् । सन् २०२० मा रुसको संविधान पुटिनअनुकूल पुनः लेखन गराएपछि रुसमा राष्ट्रपतिको कार्यकाल बढाएर ६ वर्ष बनाइएको छ । उमेरका हिसाबले सन् २०३० मा पुटिन ७७ वर्षका हुनेछन् । पुटिनले रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा २४ वर्ष शासन गरिसकेका छन् । रुसी चुनाव पश्चिमको जस्तो छैन । पश्चिममा हुने चुनावका परिणाम मतदाताका हातमा हुन्छन् र स्वतन्त्र निर्वाचन आयोगले सञ्चालन गर्छन् । रुसी चुनावबारे लेख्दै मस्कोका लागि पूर्वबेलायती राजदूत लौरी ब्रिस्टो भन्छन्– रुसमा चुनावको उद्देश्य जनताको इच्छा पत्ता लगाउनु होइन, बरु शासकको निर्णयलाई प्रमाणित गर्नु हो ।

पुटिनको दिक्कलाग्दो पश्चिमा दृष्टिकोण : पुटिनले अब नयाँ सरकार नियुक्त गर्नेछन् । भावी उत्तराधिकारी र भावी नीतिका लागि उनको यस छनोटलाई मिहिन रूपमा निगरानी गरिनेछ । पुटिनले हठात् निर्णय लिने भए पनि उनले चाँडै सत्ता छोड्नेमा विश्वास गर्नु हुँदैन । किनभने आधुनिक रुस र सोभियत संघका चार नेताले मात्र जीवित रहँदै देशको सर्वोच्च पद छाडेका छन् । बाँकीको मृत्यु प्राकृतिक वा अन्य कारण पदमा रहँदै भएको छ । यसबाहेक विगत दुई वर्षमा पुटिनका कार्य रुसलाई अधिनायकवादबाट अर्ध–अधिनायकवादमा लैजाने दिशामा निर्देशित छन् । 

पुटिनले युक्रेनमा सुरु गरेको युद्धलाई पश्चिमसँगको व्यापक, दीर्घकालीन संघर्षका रूपमा प्रस्तुत गरेका छन् । उनी पश्चिमा देश (जो उनका अनुसार रुसविरोधी छन्) अनिर्णीत, पतनको मार्गमा रहेको ठान्छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको साझेदार मुलुकप्रतिको ‘आक्रामक’ मनोवृत्ति र युक्रेनलाई थप सैन्य सहायताबारे पश्चिमाको उदासीनताले पुटिनलाई थप हौसला प्रदान गर्नेछ । 

फलस्वरूप पुटिन र ‘पुटिनवाद’को विचारधाराले पश्चिमा सरकार र नीति–निर्मातालाई (जो आफ्ना मतदाता, पार्टी, संसदीय प्रतिपक्ष, मुखर र जिज्ञासु मिडिया र स्वतन्त्र न्यायपालिकाप्रति जवाफदेही हुनुपर्छ) गम्भीर चुनौती खडा गरेको छ । निर्वासित रुसी पत्रकार मिखाइल जिगरले तर्क गरेझैँ पुटिनको कूटनीतिको अंश अत्यधिक रुढिवादी पश्चिमी राजनीतिक तत्वहरूसँग विश्वव्यापी ‘जागरण’को सामना गर्न, युक्रेनको समर्थनलाई निष्क्रिय पार्न र यसको छिमेकमा रुसी क्षेत्रीय महत्वाकांक्षाको सुस्त प्रतिरोधका लागि निर्देशित छ ।

लोकतान्त्रिक सरकारले दिनुपर्ने जवाफ : पुटिनलाई राम्ररी थाहा छ कि लोकतन्त्रको अन्तर्निहित मतभिन्नता र मतदातालाई आकर्षित गर्नुपर्ने आवश्यकताले लोकतान्त्रिक सरकारहरू दीर्घकालीन योजना कार्यान्वयन गर्न असहज महसुस गर्छन् । यसबाहेक, पश्चिमी राजनीतिक संस्कृति समस्या ‘समाधान’ गर्न अपर्याप्त देखिन्छ । फेरि कहिलेकाहीँ रुस वा मध्यपूर्वले उब्जाएको समस्या केवल व्यवस्थित गर्न सकिन्छ, तर समाधान हुँदैन । ती समस्या समान विचारधाराका सहयोगी र साझेदारको संयुक्त प्रयासबाट व्यवस्थित गर्न सकिन्छ । त्यसका लागि छोटो अवधिको राजनीति र हाम्रो ‘तत्काल प्रतिक्रिया दिनुपर्ने’ सामाजिक मिडिया संस्कृतिको झट्कासाथ माथि उठ्न दृढता र लचिलोपन आवश्यक पर्छ ।

यसले दोस्रो विश्वयुद्धपछि युरोपबाहिर देखिएको खतराबारे सार्वजनिक बुझाइ बनाउन र त्यसलाई दिगो बनाउन निरन्तर लगानीको माग गर्छ । यो पश्चिममा मात्र होइन, जहाँसुकै पनि गाह्रो हुन्छ । भलै पश्चिमले दोस्रो विश्वयुद्धपछिका अधिकांश समय तुलनात्मक रूपमा सहज पायो । विगत ५० वर्षको कुनै पनि बिन्दुमा भन्दा अहिले हामीलाई दक्ष र सिद्धान्तपूर्ण नेतृत्व चाहिएको छ । विशेषगरी लोकतान्त्रिक समाजमा हामीले के मूल्य र चाहना राख्छौँ र त्यो प्राप्ति र संरक्षणका लागि हामी कस्तो मूल्य चुकाउन इच्छुक छौँ भन्नेबारे निरन्तर गम्भीर र अत्याधुनिक सार्वजनिक वार्तालाप आवश्यक छ । हामीले पश्चिममा रहेका रुसी विशेषज्ञताको समूहलाई घटाउँदै झन्डै विलुप्त हुने स्थिति सिर्जना गर्‍यौँ ।

हाम्रा विश्वविद्यालयमा रुसी भाषा र सम्बन्धित अध्ययनमा उद्देश्यपूर्ण रूपमा पुनः लगानी गर्न धेरै ढिलो भइसक्यो । हामीले ‘रुसी साक्षरता’ र उक्त देशसम्बन्धी ज्ञानलाई बढावा दिन आवश्यक छ । किनकि रुस अझै विश्वको महत्वपूर्ण खेलाडी रहिरहनेछ । यो हाम्रा लागि अर्थ राख्ने देशका रूपमा महत्वपूर्ण छ । हामीले इमानदारीपूर्वक र आलोचनात्मक रूपमा गलत धारणा र उदासीनताको मूल्यांकन गर्नुपर्छ, जसले कहिलेकाहीँ सोभियत रुसपछि प्रभावकारी पश्चिमी नीतिलाई कमजोर पारेको छ । यद्यपि, हामीले पुटिन र उनका समर्थकले रुसी राज्यलाई ध्वस्त पार्ने उद्देश्यले मस्कोलाई पश्चिमाले निसाना बनाएको भन्ने प्रचारमा झुक्नु हुँदैन ।

बरु, अस्ट्रेलियाका प्राध्यापक मार्क एडेलले आफ्नो हालैको पुस्तक ‘रसियाज वार एगेन्स्ट युक्रेन’मा यसरी लेखेका छन्– ‘क्रेमलिनले रुसलाई नवऔपनिवेशिकवादको प्रतिरोध गर्ने र ‘बहुध्रुवीयता’लाई रक्षा गर्न ‘ग्लोबल साउथ’को सहयोगीका रूपमा प्रचार गरिरहेको छ ।’ पुटिनले युक्रेनलाई लन्डन र वासिंनको दासका रूपमा चिनाइरहेका छन् र यसमा उनी सफल पनि भइरहेका छन् । किनकि यो तर्कले केही समर्थन फेला पारिरहेको छ । यसैले गर्दा विकासोन्मुख देशमा रुसमाथिको पश्चिमी प्रतिबन्धप्रति आक्रोश देखिन्छ । 

पश्चिमसँगको वास्तविक अस्तित्ववादी युद्धमा इतिहास, नैतिकता र देवत्व पनि आफ्नो पक्षमा छ भन्नेमा विश्वस्त भएको उदास र आक्रोशित रुससँग हामीले सामना गर्नुपरेको छ । र, रुसबारे पश्चिमी ज्ञान कमजोर छ । यसबाहेक मेरा मस्कोस्थित पूर्वसहकर्मी बिस्टो लेख्छन्– रुसीहरूको उदाउँदो पुस्ताले अझ प्रजातान्त्रिक र पश्चिमा समर्थक दृष्टिकोणलाई अँगाल्नेछ भन्ने अनुमान गर्नु मूर्खतापूर्ण हुनेछ । यद्यपि, हामीले त्यस्ता दृष्टिकोण राख्ने रुसीहरूबाट टाढा हुनु हुँदैन । 

(टेस्च अस्ट्रेलियन नेसनल युनिभर्सिटीको एएनयू सेन्टर फर युरोपियन स्टडिजका भिजिटिङ फेलो हुन् ।)
कन्भर्सेसनबाट