१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:४९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोबाइलमा ६०% सम्म रिचार्ज अनलाइनबाट

डिजिटल भुक्तानीको सुविधा बढ्दै गएपछि रिचार्ज पनि मोबाइलबाटै, रिचार्ज कार्डको छपाइ तथा आयात पनि घट्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:४९:oo

मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, वालेटजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट मोबाइलमा रिचार्ज (ब्यालेन्स हाल्ने) गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । अहिले ६० प्रतिशतसम्म रिचार्ज अनलाइनबाटै हुने गरेको छ । 

अधिकांश डिजिटल भुक्तानीका उपकरणबाट मोबाइलमा सीधै रिचार्ज (ब्यालेन्स टपअप) गर्न मिल्छ । सोही माध्यमबाट मोेबाइलमा रिचार्ज गर्ने प्रवृत्ति बढ्दै गएपछि प्रिन्ट रिचार्ज कार्डको प्रयोग भने घट्दै गएको छ । 

सन् २०२४ सम्म आउँदा नेपाल टेलिकमको (नमस्ते) सिमकार्डमा ६० प्रतिशतसम्म रिचार्ज अनलाइनबाटै हुने गरेको छ । एनसेलमा भने ३८ प्रतिशतसम्म रिचार्ज अनलाइनबाट हुने गरेको छ । नेपाली बजारमा अधिकांश हिस्सा ओगटेका नेपाल टेलिकम र एनसेलबाट नयाँ पत्रिकालाई प्राप्त पछिल्लो केही वर्षको तथ्यांकले यस्तो देखाएको हो । उक्त दुई तथ्यांकअनुसार ०२४ मा डिजिटल रिचार्जको हिस्सा औसत ४९ प्रतिशत देखिन्छ । रकमका आधारमा यो तथ्यांक देखिएको हो । पछिल्लो समय डिजिटल माध्यमबाट मोबाइल ब्यालेन्स टपअप गर्ने प्रवृत्ति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पनि पछिल्लो समय अनलाइन रिचार्ज गर्ने प्रवृत्ति बढ्दै गएको हुन सक्ने बताए । ‘अनलाइन र प्रिन्ट रिचार्ज कार्ड प्रयोगको प्रवृत्ति कस्तो छ भन्नेबारे हामीलाई कम्पनीबाट जानकारी आउने गरेको छैन । यो कम्पनीको आन्तरिक पक्ष भयो,’ उनले भने, ‘पछिल्लो समय डिजिटल भुक्तानीका उपकरणको प्रयोग बढ्दै गएको देखिन्छ । त्यो अवस्थामा अनलाइनबाट मोबाइलमा रिचार्ज गर्ने प्रवृत्ति पनि बढेको भने हुन सक्छ ।’

कोभिडले बढायो अनलाइन रिचार्ज
विशेष गरी कोभिड–१९ महामारीपछि डिजिटल रिचार्ज गर्ने प्रवृत्ति झन् बढ्दै गएको सरोकारवाला बताउँछन् । त्यसअघि पनि अनलाइनबाटै रिचार्ज गर्न मिल्ने सुविधा आइसकेको थियो । अनलाइनबाट मोबाइलमा रिचार्ज गर्ने ग्राहक पनि थिए । तर, त्यसवेला डिजिटल भुक्तानीका उपकरणहरू (मोबाइल बैंकिङ, वालेट)को प्रयोग व्यापक थिएन । कोभिड संक्रमणको डरले नगदमा आधारित कारोबार न्यून भयो । त्यसपछि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, वालेट कम्पनीलगायतले डिजिटल भुक्तानीको प्रवद्र्धन गरे । फलस्वरूप त्यसको प्रयोग पनि बढ्दै गयो । 

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले कोभिडपछि डिजिटल रिचार्ज गर्ने प्रवृत्ति उच्चदरमा बढेको बताए । उनले भने, ‘कोभिड–१९ पछि प्रिन्ट रिचार्ज कार्डभन्दा डिजिटल माध्यमबाट रिचार्ज हुने क्रम करिब २० प्रतिशतभन्दा बढीले बढ्यो, यो ग्राफ झनै बढ्दो छ ।’

सहरी क्षेत्र र युवा पुस्तामा बढी 
विशेष गरी सहरी क्षेत्रमा अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति बढिरहेको कम्पनीहरू बताउँछन् । काठमाडौं, पोखरा, विराटनगरलगायत सहरमा अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति बढ्दो छ । त्यसमा पनि युवा पुस्ता तथा व्यावसायिक व्यक्तिमा यसको प्रयोग बढेको छ । 

प्रौढ पुस्तामा भने अनलाइन रिचार्जको प्रयोग न्यून भएको बताइन्छ । वित्तीय तथा सूचना प्रविधिसम्बन्धी ज्ञान कमी हुँदा त्यस्ता पुस्ताले कार्डबाटै रिचार्ज गर्ने गरेको टेलिकमका प्रवक्ता ढकाल बताउँछन् । 

यद्यपि, यसबारे ठोस आँकडा नभएको उनले बताए । यसैगरी, प्रौढ उमेरका व्यक्तिमा डिजिटल भुक्तानीका उपकरणसम्बन्धी जागरण आइसकेको छैन । त्यसले गर्दा पनि त्यस्ता समूहका व्यक्तिले रिचार्ज कार्डमार्फत नै मोबाइलमा पैसा हाल्ने गरेको जानकार बताउँछन् । 

ग्रामीण क्षेत्रमा पनि बढ्दो छ अनलाइन रिचार्ज
टेलिकमका प्रवक्ता ढकालले कर्णालीजस्ता दुर्गम जिल्ला तथा ग्रामीण क्षेत्रमा पनि अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति बढेको बताए । ग्रामीण क्षेत्रमा रिचार्ज कार्ड ढुवानी गरेर पठाउँदा समय लाग्छ, त्यसले गर्दा पनि ग्रामीण क्षेत्रमा डिजिटल रिचार्ज गर्न दबाब नै भएको भनाइ छ ।  

‘वित्तीय तथा सूचना प्रविधिको ज्ञान विस्तार भइनसक्दा ग्रामीण क्षेत्रमा अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति कम नै छ,’ उनले भने, ‘तैपनि, कर्णालीजस्ता दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत पछिल्लो समय डिजिटल रिचार्ज बढ्न थालेको अनुभूति गरेका छौँ ।’

घट्यो रिचार्ज कार्डको आन्तरिक छपाइ र आयात
अनलाइनबाटै मोबाइलमा ब्यालेन्स टपअप गर्न मिल्ने भएपछि रिचार्ज कार्डको आन्तरिक छपाइ र आयात घट्न थालेको छ । कम्पनीहरूले अधिकांश रिचार्ज कार्ड नेपालमै छाप्छन् । भारतलगायत देशमा छापेर पनि आयात गर्ने गर्छन् । अनलाइन रिचार्जको प्रवृत्ति बढ्दै गएसँगै रिचार्ज कार्डको छपाइ र आयात घट्न थालेको व्यवसायी बताउँछन् । 

स्प्रिन्ट प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालिका महाप्रबन्धक शिशिर नाहटाले रिचार्ज कार्डको छपाइ घट्दै गएको बताए । एनसेलको रिचार्ज कार्ड छपाइ घटिसकेको उनको भनाइ छ । टेलिकमका प्रवक्ता ढकालले पनि रिचार्ज कार्ड छपाइ घटाउँदै लगेको बताए । पछिल्लो समय मागका आधारमा मात्रै कार्ड छाप्ने गरेको उनको भनाइ छ ।

डिजिटल रिचार्जको हिस्सा बढ्दै गएपछि विदेशमा छपाइ गरेर आयात गरिने रिचार्ज कार्ड पनि घटेको छ । चालू आवको आठ महिनामा रिचार्ज कार्डको आयात परिमाणमा ७३ र खर्च ७० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवको आठ महिनामा ९० हजार नौ सय १७ केजीबराबरको रिचार्ज कार्ड चार करोड ६६ लाख ८७ हजार खर्च गरेर आयात गरिएको थियो । चालू आवको आठ महिनामा २४ हजार पाँच सय ४३ केजी रिचार्ज कार्ड एक करोड ४१ लाख ६४ हजार खर्च गरेर ल्याइएको छ । यो रिचार्ज कार्ड छपाइ गर्दा भएको खर्च मात्रै हो । 

नमस्तेमा ६० र एनसेलमा ३८ प्रतिशत रिजार्च अनलाइनबाट
सरकारी स्वामित्वको नेपाल टेलिकमका नम्बरहरूमा ६० प्रतिशत रिजार्ज अनलाइनबाटै हुने गरेको छ । चालू वर्ष सन् २०२४ मा ६० प्रतिशत रिचार्ज अनलाइनबाट भइरहेको कम्पनीका प्रवक्ता हरि ढकालले बताए । यसअघि सन् ०२२ मा ४० प्रतिशत र सन् ०२३ मा ५० प्रतिशत रिचार्ज डिजिटल माध्यमबाट भएको उनले बताए । विदेशी लगानीमा निजी क्षेत्रबाट स्थापित टेलिकम कम्पनी ‘एनसेल’मा भने चालू वर्ष २०२४ मा ३८ प्रतिशत रिचार्ज अनलाइनबाट भइरहेको छ । कम्पनीबाट प्राप्त विवरणअनुसार सन् ०२१ मा डिजिटल रिचार्जको हिस्सा २४ प्रतिशत हाराहारीमा थियो । त्यसपछि हरेक वर्ष क्रमशः यसको हिस्सा बढ्दै गएको कम्पनीको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार सन् ०२२ मा २८ प्रतिशत, सन् ०२३ मा ३६ प्रतिशत रिचार्ज अनलाइनबाट भएको देखिएको छ ।

ad
ad