१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० चैत १० शनिबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइईमा पाँच लाख चार हजार  ४१४ परीक्षार्थी सहभागी हुँदै

देशभरका दुई हजार ६४ केन्द्रमा परीक्षा हुने, सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा, मनाङ र मुस्ताङमा थोरै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० चैत १० शनिबार ०६:०३:००
  • ७७ हजार पाँच सय जनशक्ति परिचालन
  • ३० हजार ९५० सुरक्षाकर्मी खटिँदै
  • काठमाडौंले केन्द्रको नाम अझै सार्वजनिक गरेन

आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् ।

कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ उनले भने, ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’ एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ । 

यसपटकको परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र रहेको जिल्ला काठमाडौं हो । जहाँ एक सय २७ वटा परीक्षा केन्द्र रहनेछन् भने सबैभन्दा कम एक–एकवटा परीक्षा केन्द्र रहेको जिल्ला मनाङ र मुस्ताङ हुन् । मनाङमा ४३ र मुस्ताङमा एक सय सातजना विद्यार्थी छन् भने काठमाडौंमा ३८ हजार ८३१ विद्यार्थी छन् ।

७७ हजार पाँच सय जनशक्ति परिचालन
एसइई परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिँदै छ । यसमध्ये सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी ४० जना जनशक्ति खटिनेछन् । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुनेछ । 

३० हजार ९५० सुरक्षाकर्मी खटिँदै 
एसइई परीक्षालाई सुरक्षित र मर्यादित पार्न देशभरका परीक्षा केन्द्रहरूमा ३० हजार ९५० जना सुरक्षाकर्मी परिचालन गरिँदै छ । परीक्षाको प्रश्नपत्र केन्द्र पुर्‍याउनेदेखि उत्तरपुस्तिका परीक्षण केन्द्रसम्म पुर्‍याउने जिम्मा पनि प्रहरीलाई नै दिइएको छ । परीक्षा सकिएपछि देशभर ६० वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ भने सो परीक्षण केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने र नजिता सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै हुनेछ । परीक्षाका वेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ठूलो संख्या प्रहरी परिचालन गर्न थालिएको हो । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रअनुसार औसत १५ जना सुरक्षाकर्मी खटाइँदै छ । तर, सुरक्षा अवस्था संवेदनशील भएको केन्द्रमा योभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । 

खर्चिलो छ एसइई
एसइई परीक्षा निकै खर्चिलो छ । एउटा केन्द्रबाट परीक्षा अवधिभर प्रहरीले १८ हजारका दरले खाजाबापतको भत्ता पाउनेछ । त्यस्तै, दुई हजार ६४ जना केन्द्राध्यक्षले दैनिक आठ सय भत्ता पाउँछन् । त्यस्तै, चार हजार सहायक केद्राध्यक्षले दैनिक पाँच सय, चार हजार निरीक्षकले दैनिक ३५०, चार हजार परीक्षा सहायकले दैनिक ३५० र तीन हजार पाँच सय कार्यालय सहयोगीले दैनिक १५० का दरले भत्ता पाउँछन् । एसइई परीक्षाको लागत खर्चको व्यवस्था अहिले प्रादेशिक प्रणालीअनुसार भइरहेको बोर्डले जनाएको छ । प्रदेश सरकारले आवश्यकताअनुसार जिल्ला–जिल्लामा खर्च व्यवस्थापन गरेको छ । यसबाहेक उत्तरपुस्तिका छपाइ, ढुवानीलगायत व्यवस्थापन खर्च बोर्डले गरेको छ । जसमा एक करोडहाराहारी खर्च भएको बोर्डको दाबी छ । 

काठमाडौंले अझै सार्वजनिक गरेन केन्द्रको नाम
एसइई आउन जम्मा पाँच दिन मात्रै बाँकी भए पनि काठमाडौंका परीक्षा केन्द्र सार्वजनिक हुन सकेका छैनन् । कुन–कुन विद्यालयलाई परीक्षा केन्द्र तोक्ने भन्नेबारे भित्रभित्र विवाद तथा चलखेल हुँदा केन्द्र रहने विद्यालयको नामावली सार्वजनिक हुन नसकेको हो । तर, संख्याका हिसाबले भने केन्द्रको टुंगो लागिसकेको छ । संख्याअनुसार काठमाडौंमा १२७, ललितपुरमा ४० र भक्तपुरमा २४ वटा परीक्षा केन्द्र रहनेछन् । 

शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुर र ललितपुरले केन्द्रको नामावली सार्वजनिक गरिसकेका छन् । तर, कुन–कुन विद्यालयमा केन्द्र बनाउने भन्नेबारे काठमाडौंमा विवाद भएको छ । यसको समाधानका लागि परीक्षा बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मा दिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

‘अधिकांश जिल्लामा कुन–कुन विद्यालयलाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागेर तयारी पनि भइसकेको छ, काठमाडौंमा टुंगो लागिसकेको छ, तर सार्वजनिक मात्रै नभएको हो,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘यहाँ ढिलो सार्वजनिक भए पनि फरक पर्दैन, किनभने यहाँ तयारी गर्न सजिलो छ ।’ 

उनका अनुसार काठमाडौंले एसइईको तीन दिनअघि मात्रै केन्द्र सार्वजनिक गर्ने बताएको छ । केन्द्र रहने विद्यालय तोकिएपछि त्यहाँ शान्ति सुरक्षा कायम राख्ने, पूर्वाधार सहज पार्ने, विद्यार्थी, अभिभावक र विद्यालयलाई जानकारी दिनेलगायत कार्य गरिन्छ भने केन्द्रनजिकै रहेको प्रहरी कार्यालयमा प्रश्नपत्र पनि पठाइन्छ । बोर्डले प्रश्नपत्र सबै जिल्ला तथा प्रहरी कार्यालयमा पुर्‍याइसकेको छ । उपत्यकाबाहिर जिल्ला प्रहरी कार्यालय र उपत्यकाभित्र प्रहरी वृत्तहरूमा प्रश्नपत्र राखिएको बोर्डले जनाएको छ । उपत्यकाका तीन जिल्लामा परीक्षाको दिन मात्रै प्रश्नपत्र केन्द्रमा पठाइने छ भने अन्य जिल्लाको हकमा अघिल्लो दिन नै प्रश्नपत्र केन्द्रमा पुर्‍याइनेछ । 

एसइई परीक्षाको तयारी अन्तिम चरणमा
कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ उनले भने, ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’ एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ ।