१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ९ शुक्रबार ११:५८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुल्मीमा राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु : देशभरबाट सयभन्दा बढी टिम सहभागी 

Read Time : > 1 मिनेट
२०८० चैत ९ शुक्रबार ११:५८:००

गुल्मीको तम्घासमा प्रथम राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याटमिन्टन संघ गुल्मीले आयोजना गरेको प्रतियोगिताको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरे । प्रतियोगिता ९ देखि ११ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सात विधामा सञ्चालन हुँदै छ ।

सबैभन्दा बढी पुरस्कार राशि भएको खुला पुरुष डबल, ३५ प्लस भेन्ट्रान्स, ४५ प्लस भेन्ट्रान्स, ५५ प्लस सुपरभेन्ट्रान्स, खुला पुरुष एकल, खुला पुरुष ग्रेड बी र खुला महिला डबल ब्याडमिन्टन प्रतियोगिता हुने जिल्ला ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक सय बढी समूह सहभागी भएको बताए । 

खुला पुरुष डबल प्रतियोगिता प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रतिस्पर्धामा नेपालका टप २० खेलाडीहरू सहभागी हुन पाउनेछैनन् । त्यस्तै, अर्को प्रतिस्पर्धा ३५ प्लस भेन्ट्रान्सबीच हुनेछ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, ४५ प्लस भेन्ट्रान्सबीचको प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिस्पर्धामा पनि प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संघका सचिव श्रेष्ठले जानकारी दिए । ५५ प्लस सुपरभेन्ट्रान्सबीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । 

खुला पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता पनि राखिएको छ । यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जिल्ला ब्याडमिन्टन संघले जानकारी दिएको छ । साथै, खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । यो प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

संघ गुल्मीले जिल्लामै पहिलोपटक खुला महिला डबल ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरेको थियो । तर, समूह सहभागी नभएको आयोजकले जनाएको छ। गुल्मीमा पुरुषहरूमा ब्याडमिन्टन खेलको आकर्षण सहरदेखि गाउँसम्म बढिरहेको छ । 

गुल्मीको तम्घासमा ०४४ सालपछि राष्ट्रिय खेल भएका छैनन्। साढे तीन दशकपछि जिल्ला ब्याडमिन्टन संघ गुल्मीले आयोजना गरेको राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिताले तम्घास बजार खेलमय बनेको छ । विभिन्न जिल्लाबाट आएका खेलाडीहरूलाई खेलसँगै पर्यटकीय स्थलसम्म पुर्‍याएर पर्यटन प्रवर्द्धनसमेत गर्ने जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।