मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ९ शुक्रबार o७:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

करारका कर्मचारीसँग सवा तीन करोड अवैध सम्पत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार o७:५५:oo

काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका एक कर्मचारीले सवा तीन करोडको गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको छ । प्राधिकरणमा कार्यरत अधिकृतसरहका कर्मचारी यामकुमार कार्कीले पदको दुरुपयोग गरी तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिका नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीविरुद्ध छानबिन गरी मुद्दा दर्ता गरेको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत रहेका उनी अतिरिक्त जिम्मेवारीका रूपमा कागेश्वरी– मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना माकलबारीमा समेत खटिएर काम गर्दै आएका थिए । अख्तियारले उनको सार्वजनिक सेवामा प्रवेश गरेको १६ साउन ०५८ देखि ३० चैत ०७९ सम्मको अवधिमा आय–व्ययको विश्लेषण गरेको थियो । उक्त अवधिमा आयतर्फ ऋणसमेत तीन करोड ७७ लाख १३ हजार ६ सय ४६ रुपैयाँ देखिएको छ । यस्तै, उनको कुल खर्च तथा लगानी ६ करोड ९८ लाख ४६ हजार ६ सय तीन रुपैयाँ देखिएको छ । 

‘खर्च तथा लगानीमा आयआर्जन घटाउँदा हुन आउने तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँबराबरको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेको,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको आरोप अख्तियारको छ । गैरकानुनी रूपमा आर्जित उक्त रकमलाई नै बिगो कायम गरी अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।